सधैं पहिरोकै पीर

चार वर्षअघि ५९ जनाले ज्यान गुमाएको मिक्वाखोलाका कुनै वडा त्यस्ता छैनन् जहाँ परिहो नगएको होस्
आनन्द गौतम

ताप्लेजुङ — भदौ बित्न लाग्दा मिक्वाखोला २ खोक्लिङका पदम थापाको मन प्रफुल्लित बन्दै थियो । बर्खायाम सकिन लागेकाले विगतका वर्ष जस्तो पहिरोको जोखिम मोल्नु नपर्ला भन्ने उनले सोचेका थिए ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिंखिम थिवामा गएको पहिरो र जोखिममा परेका घर ।तस्बिर : आनन्द/कान्तिपुर

तर, असोज लाग्नै लाग्दा शुक्रबार यहाँका चार परिवार पहिरोको जोखिममा परेका छन् । अब पनि ठूलो पानी आए आफू, नरबहादुर, बलबहादुर र थप एकघर थापाको परिवारको बसाइ नै नहुने पदमले बताए ।

चार वर्षअघि ५९ जनाले ज्यान गुमाएको यो क्षेत्रमा प्रत्येक वर्ष बाढी र पहिरोले दुःख दिने गरेको छ । चिराचिरा परेको जमिन पुरिइनसक्तै नयाँ पहिरो चल्ने गरेको छ । ‘विगतको त्रासदी यो वर्ष पनि दोहोरियो,’ पदमले टेलिफोनमा भने, ‘चाडबाड आयो, राम्ररी मान्न पाइन्छ भन्नेचाहिँ कहिल्यै भएन, सधैं त्रासमा बिताउनु पर्ने ।’ फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको थिवामा पनि समस्या यस्तै छ ।

थिवा पुछारका चिरेन्द्र र डम्बर लावुङको घर बगाइसकेको छभने नौ परिवार उच्च जोखिममा छन् । ३६ घरपरिवार रहेको यहाँका कुनै पनि घर सुरक्षित भने छैनन् । सिमसिम पानी परे तलबाट तान्छ कि माथिबाट सोहोर्छ भनेर त्रसित भएर बस्नुपर्ने गुनासो स्थानीयको छ ।

सदरमुकाम फुङलिङ–ओलाङचुङगोला हुँदै तिब्बत जोड्ने उत्तरदक्षिण लोकमार्ग बस्तीको बिचमा घुम्तीनै घुम्ती बनाएर गएको छ । पहिला पनि पहिरोको जोखिममै रहेको गाउँको बीचबाट सडक लैजानु स्थानीयको रहर र दबाब दुवै थियो । अहिले त्यही सडकले तल र माथि दुवैतिरबाट थप जोखिम बढाएको छ ।

मिक्वाखोलाको खोक्लिङ र फक्ताङलुङको थिवा मात्रै नभएर जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम छ । सदरमुकाम फुङलिङ प्रवेश गर्ने मार्गभरि पहिरो छ । मेची राजमार्गको सेसम्बुदेखि सदरमुकामको तोक्मेडाँडासम्मै पहिरोको प्रभाव छ । खोक्लिङ र लिवाङको पहिरो सदरमुकामबाटै देखिन्छ । एसियाकै ठूलो भनेर प्रचार गरिएको हाङदेवा पहिरो पनि रोकिएको छैन ।

पहिरोले घेरिएको जिल्लाका बासिन्दा जब बर्खायाम सुरु हुन्छ आत्तिन थाल्छन् । तर, यो वर्ष भने असोज लाग्नै आँट्दासम्म पनि पहिरोको त्रासबाट नागरिक मुक्त हुनसकेका छैनन् । सामान्यतया जेठबाट सुरु हुने बाढी पहिरोको त्रास आधा भदौमा सकिन्थ्यो । यो वर्ष अहिले पनि राति पानी परिरहेकाले पहिरोको त्रास कायमै छ ।

विक्रम संवत १९८२ सालदेखि सुरु भएको पहिरोले जिल्लालाई बर्सेनि पिरोल्छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार यस्तो वर्ष छैन, जिल्लामा पहिरो नगएको होस् । ठूला र दीर्घकालीन असर पार्ने हाङदेवाको हिरेवा, चिनेवा, कटहरे, लिवाङ, खोक्लिङ, नाङखोल्याङ, लिंखिम, फुरुम्वु, सिनाम, आङखोप, फूलबारी, निगुरादिन, तापेथोक, याम्फुदिन, थुम्बेदिन गाविसका पहिरो बर्सेनि बग्ने गरेका छन् ।

फुङलिङ नगरपालिकाभित्र रहेको हाङदेवाको पहिरोको आसपासमा ४० भन्दा बढी परिवार रहेको जिल्ला रेडक्रस शाखाको तथ्यांकमा उल्लेख छ । पहिरोका कारण बर्सेनि बसाइँ सर्ने क्रम बड्दो छ । विसं २०००, ०१५, ०१८, ०२०, ०२५, ०३४, ०३७, ०४५, ०५०, ०५९, ०६०, ०६१, ०७२ र ०७३ सालका पहिरोलाई सबैभन्दा ठूलो मानिएको छ ।

दुइवर्ष अघि नगरपालिका भित्रका विभिन्न स्थानमा गएको पहिरोले तीनजनाको ज्यान लिएको थियो । भौतिक पूर्वाधारमा भने ठूलो क्षति पुर्‍याएको थियो । तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले प्रशासन कार्यालयमा बुझाएको तथ्यांकअनुसार स्थानीय तहका सबैजसो वडामा सानाठूला पहिरो छन् । भू–संरक्षण अधिकृत हरिबहादुर कुँवरद्वारा तयार पारिएको प्रतिवेदनमा भिरालो जमिन, कमलो माटो र पछिल्लो समय भूकम्पले चर्काएकाले पनि धेरै पहिरोको जोखिम रहेको उल्लेख गरेका छन् ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले पहिरोको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन टोलि नै खटाएका थिए । ५९ जनाको ज्यान गएपछि प्रजिअले टोली बनाएर गाउँ–गाउँ खटाएका थिए । ‘यहाँको माटो पातलो छ, त्यसमा धेरै वर्षा भएपछि थेग्नै सक्दैन र पहिरो बनेर झर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एकै पटक ठूलो वर्षा भए यहाँचाहिँ सुरक्षित छ भन्ने अवस्था छैन ।’ तथापि यो प्रविधि सहितको विस्तृत अध्ययनचाहिँ नभएको कुँबरले उल्लेख गरेका छन् ।

पूर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार लिवाङ, खोक्लिङ, थिङलावु, लिङतेप, सान्थाक्रा लगायतका गाविसमा पहिरो जाँदा १ सय ४२ मिलिमिटर वर्षा भएको थियो । यी क्षेत्रका ७२ घर पूरै पहिरोले बगाएका थिए । त्यत्तिनै संख्यामा विस्थापित भएका थिए । अधिकांश अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् ।

१ सय ३७ मिलिमिटर वर्षाले फुङलिङ नगरपालिकाको दोखु क्षेत्र चिराचिरा हुने गरी पहिरो जाँदा १ सय ३७ मिलिमिटर वर्षा भएको थियो । तर, मानवीय क्षति भने भएन । सदरमुकाम क्षेत्रमा ढलनिकासको व्यवस्था नहुँदा सदरमुकामको तल्लो क्षेत्र सबैभन्दा बढी जोखिममा छ । सुकेटार विमानस्थलदेखिको पानी बिटुलिएर आउने र जोखिम बढाउने फुङलिङ नगरपालिका ७ का वडाध्यक्ष राजन गुरुङ बताउँछन् ।

उत्पादन बढाउने उद्देश्यले पर्ति जमिन खेतीयोग्य बनाइनु, कमेरे माटोको भू–बनोट हुनु जस्ता कारण पहिरो नरोकिएको रेडक्रसका पूर्व अध्यक्ष तथा मैवाखोला गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश अधिकारी बताउँछन् । खोरिया प्रथा कायम रहनु र पछिल्ला वर्षमा आफू खुसी बिना अध्ययन सडक निर्माण गरिनुले पनि पहिरो बढाइरहेको छ ।

सडक डिभिजन कार्यालय संखुवासभाका इन्जिनियर कुवेर नेपाली कस्तो ठाउँमा सडक बनाउने भन्दा पनि आफ्नो अनुकुलता अनुसार कसरी बिस्तार गर्न सकिन्छ भनेर समुदाय लाग्ने भएकाले जोखिम बढिरहेको बताउँछन् । त्यसलाई कर्मचारिले मात्रै रोक्न नसक्ने र स्थानीयमा चेतना हुनुपर्ने उनको तर्क छ । भूक्षय नियन्त्रणमा बजेट नछुट्याउने र बजेटको प्राथमिकतामा नपर्ने भएकाले पहिरो नियन्त्रणमा प्रगति भएको छैन ।

प्रकाशित : भाद्र २९, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

मेयर–अधिकृत विवाद चर्कियो

कान्तिपुर संवाददाता

विराटनगर — नगर प्रमुख र उपप्रमुखबीच विवादका कारण २९ दिनदेखि सेवा ठप्प रहेको पूर्वी मोरङको उर्लाबारी नगरपालिकाको विवाद थप चर्किएको छ ।


नगरप्रमुख खड्ग फागो र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको विवाद उत्कर्षमा पुगेको छ । नगरप्रमुख खड्ग फागोले रेग्मीको निवासमा ताला लगाइदिएपछि विवादले नयाँ रूप लिएको हो ।

उर्लाबारी नगरपालिकाको नगरसभाको तयारी गर्ने क्रममा असार २८ गते बसेको कार्यपालिकाको बैठकले एकतर्फी निर्णय गरेको भन्दै बहुमत सदस्यहरूले बहिष्कार गरेर हिँडेपछि विवाद सुरु भएको थियो । मेयर फागोले ५ जना वडा अध्यक्षको सहमतिमा एकलौटी निर्णय गरेको उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरको दाबी छ ।

मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित कार्यपालिका सदस्य उच्च अदालतसम्म पुगेका छन् ।

बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था भए पनि मेयर फागोले एकलौटी निर्णय गरेको र आफूहरूलाई कानुनी बाटो रोज्न भन्दै चुनौती दिएकाले साउन २० गते अदालत पुगेको उपमेयर भण्डारीले बताइन् ।‘एकलौटी ढंगबाट गरिएका निर्णय सच्याउन हामीले पटक–पटक अनुरोध गर्‍यौं,’ उनले भनिन्, ‘तर मेयरसावले अदालत जानुस् भन्दै चुनौती दिनुभयो । त्यसैले हामी अदालत जान बाध्य भएका हौं ।’

उर्लाबारी नगरपालिकाको नगरसभामा पेस भएको निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन भनेर उच्च अदालत विराटनगरले नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । जसका कारण २९ दिनदेखि नगरपालिकाको काम ठप्प छ ।
मेयर खड्ग फागोले भने मुद्दा फिर्ता लिन आग्रह गर्दै सहमतिको प्रयास गरिरहेको बताए । ‘२९ दिन भयो काम ठप्प भएको,’ मेयर फागोले भने, ‘गतिरोध अन्त्यका लागि आन्तरिक छलफल गरिरहेका छौं । मुद्दा फिर्ता गराउन प्रयास गर्दै छौं ।’

लामो समयदेखि नगरपालिकाको काम ठप्प भएपछि मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव ०७५/७६ को निर्णय अनुसार काम सुचारु गर्न पत्र पठाएको छ । नगरपालिकामा उक्त पत्र बिहीबार प्राप्त भएको मेयर फागोले जानकारी दिए ।

उक्त पत्र कार्यान्वयन नगराउन मेयर फगोले धम्की दिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरेका छन् । ‘मैले प्रशासनसँग सुरक्षाको माग गरेको छु, अहिले म बोल्ने अवस्थामा छैन्,’ रेग्मीले भने, ‘यस विषयमा म पत्रकार सम्मेलन नै आयोजना गर्छु ।’

आफू असुरक्षित छु भन्दै रेग्मी सुरक्षा माग गरेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । आवश्यक परेको खण्डमा आफूहरूले सुरक्षा उपलब्ध गराउने उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्