कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मेयर–अधिकृत विवाद चर्कियो

विराटनगर — नगर प्रमुख र उपप्रमुखबीच विवादका कारण २९ दिनदेखि सेवा ठप्प रहेको पूर्वी मोरङको उर्लाबारी नगरपालिकाको विवाद थप चर्किएको छ ।

मेयर–अधिकृत विवाद चर्कियो

नगरप्रमुख खड्ग फागो र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको विवाद उत्कर्षमा पुगेको छ । नगरप्रमुख खड्ग फागोले रेग्मीको निवासमा ताला लगाइदिएपछि विवादले नयाँ रूप लिएको हो ।

उर्लाबारी नगरपालिकाको नगरसभाको तयारी गर्ने क्रममा असार २८ गते बसेको कार्यपालिकाको बैठकले एकतर्फी निर्णय गरेको भन्दै बहुमत सदस्यहरूले बहिष्कार गरेर हिँडेपछि विवाद सुरु भएको थियो । मेयर फागोले ५ जना वडा अध्यक्षको सहमतिमा एकलौटी निर्णय गरेको उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरको दाबी छ ।

मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित कार्यपालिका सदस्य उच्च अदालतसम्म पुगेका छन् ।

बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था भए पनि मेयर फागोले एकलौटी निर्णय गरेको र आफूहरूलाई कानुनी बाटो रोज्न भन्दै चुनौती दिएकाले साउन २० गते अदालत पुगेको उपमेयर भण्डारीले बताइन् । ‘एकलौटी ढंगबाट गरिएका निर्णय सच्याउन हामीले पटक–पटक अनुरोध गर्‍यौं,’ उनले भनिन्, ‘तर मेयरसावले अदालत जानुस् भन्दै चुनौती दिनुभयो । त्यसैले हामी अदालत जान बाध्य भएका हौं ।’

उर्लाबारी नगरपालिकाको नगरसभामा पेस भएको निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन भनेर उच्च अदालत विराटनगरले नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । जसका कारण २९ दिनदेखि नगरपालिकाको काम ठप्प छ ।

मेयर खड्ग फागोले भने मुद्दा फिर्ता लिन आग्रह गर्दै सहमतिको प्रयास गरिरहेको बताए । ‘२९ दिन भयो काम ठप्प भएको,’ मेयर फागोले भने, ‘गतिरोध अन्त्यका लागि आन्तरिक छलफल गरिरहेका छौं । मुद्दा फिर्ता गराउन प्रयास गर्दै छौं ।’

लामो समयदेखि नगरपालिकाको काम ठप्प भएपछि मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव ०७५/७६ को निर्णय अनुसार काम सुचारु गर्न पत्र पठाएको छ । नगरपालिकामा उक्त पत्र बिहीबार प्राप्त भएको मेयर फागोले जानकारी दिए ।

उक्त पत्र कार्यान्वयन नगराउन मेयर फगोले धम्की दिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरेका छन् । ‘मैले प्रशासनसँग सुरक्षाको माग गरेको छु, अहिले म बोल्ने अवस्थामा छैन्,’ रेग्मीले भने, ‘यस विषयमा म पत्रकार सम्मेलन नै आयोजना गर्छु ।’

आफू असुरक्षित छु भन्दै रेग्मी सुरक्षा माग गरेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । आवश्यक परेको खण्डमा आफूहरूले सुरक्षा उपलब्ध गराउने उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?