प्रदेश १ मा लगानी भित्र्याउन सहयोगको प्रतिबद्धता

विराटनगर — उपयुक्त वातावरण भए प्रदेश १ मा लगानी भित्र्याउन आफूहरुले सहयोग गर्ने स्विस दूतावासका अधिकारीले जनाएका छन् । कृषि क्षेत्रमा लगानीको सम्भाव्यताबारे पूर्वका उद्योगी–व्यवसायी, कृषि सम्बद्ध प्रतिनिधि तथा नेपाल कृषि बजार विकास कार्यक्रमका प्रतिनिधिबीचको अन्तर्क्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

प्रदेश १ मा लगानी भित्र्याउन सहयोगको प्रतिबद्धता

कार्यक्रमका सहभागीले प्रदेश १ कृषिमा प्रचुर सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानीको सम्भावनाबारे छलफल गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आयोजना गरेको छलफलमा स्विस दूतावासकी प्रथम सचिव कोली ब्लुनियरले नेपालमा लगानीका धेरै अवसर भएको उल्लेख गरिन् । उनले लगानी भित्र्याउनका लागि प्रदेशमा लगानी सम्मेलन आयोजना गर्नुपर्ने सुझाव दिइन् ।


यसका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने भन्दै उनले यस क्षेत्रमा लगानी गर्न आफूहरुले पनि पहल गर्ने बताइन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले कृषि व्यवसायको उत्थानका लागि अक्सन हाउस, वेयर हाउस, एक्सपोर्ट हाउस जस्ता पूर्वाधार व्यवस्था गर्नुपर्ने औंल्याए । कृषिको दीर्घकालीन योजना तर्जुमा गरी सरकारले त्यसैअनुसारका नीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।


महासंघ प्रदेश समिति कोषाध्यक्ष रमेश राठीले नेपाल कृषि बजार विकास कार्यक्रमसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारीका लागि निरन्तर संवाद र अन्तर्क्रिया गर्ने बताए ।


महासंघ प्रदेश समितिले कृषि क्षेत्रको प्रवर्द्धन र सार्वजनिक निजी साझेदारीमा लगानी गर्ने सम्बन्धी प्रदेशका विभिन्न जिल्लामा छलफल आयोजना गरेको कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । झापा, इलाम, उदयपुरलगायत जिल्लामा यस्तो कार्यक्रम भइसकेको र थप केही जिल्लामा गर्न लागिएको उनले जनाए ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?