१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृषि र पशु कार्यालय सारिएको विरोधमा किसानको आन्दोलन

चन्द्र कार्की

तेह्रथुम — जिल्लामै कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्रको कार्यालय हुनुपर्ने भन्दै तेह्रथुमका किसानले आन्दोलन सुरु गरेका छन् । 

म्याङलुङमा रहेका कृषि र पशु कार्यालय धनकुटा सारिएको विरोधमा किसानले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । उनीहरुले शुक्रबार म्याङ्लुङ बजारमा लागेको साप्ताहिक हाटमा कृषि उत्पादन बिक्री वितरण गरेनन् ।

जिल्लाभरका किसान भेला भएर म्याङलुङ बजारको टुँडिखेलमा लागेको साप्ताहिक हाटमा पूर्वी तराईबाट व्यापारीले ल्याएका तरकारी तथा अन्य कृषि उपजसमेत बिक्री गर्न नदिएको स्थानीयले बताए ।


आफूहरुको माग सुनुवाई नभएसम्म बजार क्षेत्रमा किसानका कुनै पनि उत्पादन बिक्रीका लागि नल्याउने र बाहिरी जिल्लाबाट समेत कृषिजन्य उत्पादन बिक्रीका लागि ल्याउन नदिने जिल्ला किसान सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले बताए । जिल्लास्तरमा पाउँदै आएको कृषिसम्बन्धी सरकारी सेवा कटौती भएर धनकुटा पुगेपछि बाध्य भएर आन्दोलन थालिएको राष्ट्रिय कृषि समूह महासंघ अध्यक्ष अविन्द्र श्रेष्ठले बताए । शुक्रबारको कोणसभालाई सम्बोधन गर्दै सञ्जालका अध्यक्ष गड्तौलाले तत्कालै आफूहरुका माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए।


म्याङलुङ बजारमा म्याङलुङ र लालीगुराँस नगरपालिका, पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिका र पूर्वी तराईसम्मका किसान र व्यापारीले तरकारी र अन्य कृषि उपज बिक्रीका लागि ल्याउने गर्छन् । किसानको अवरोधले शुक्रबार म्याङलुङ बजारमा तरकारी, दूध, दलहन, तेलहन, मसलाबाली, खसीबोका, कुखुरा, बंगुर लगायत कुनै पनि बस्तु बिक्री वितरण भएन । बजार क्षेत्रमा तरकारी र मासुजन्य बस्तुको अभाव हुन थालेको म्याङलुङ बजारमा रहेको होटल सञ्चालक तेजु खड्काले बताए ।


तरकारी अभावमा पकाएर खुवाउन समस्या भएको होटल व्यवसायीको भनाइ छ ।


प्रकाशित : भाद्र २७, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?