विराटनगर विमानस्थल 'क्षेत्रीय अन्तर्राष्ट्रिय’ बन्ने

भारत, बंगलादेश, चीन, भुटान, पाकिस्तान, श्रीलङका, थाइल्यान्ड र मलेसिया उडान थालिने 
विनोद भण्डारी

विराटनगर — संघीय र प्रदेश सरकारले विराटनगर विमान स्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल बनाउन १ सय ५० हेक्टर जमिन अधिग्रहण गर्ने तयारी गरेको छ । यसका लागि सरकारले विमान स्थलदेखि पश्चिम केसलिया खोला सम्मको जमिन अधिग्रहण गर्ने तयारी गरेको हो । यसअघि गतवर्ष पूर्वतर्फको ४ बिघा ८ कठ्ठा जमिन अधिग्रहण गरिसकेको छ ।

संघीय र प्रदेश सरकारले असोज दोस्रो सातासम्ममा गुरु योजनालाई स्वीकृत गरेर पहिलो चरणमा आवश्यक जमिन अधिग्रहणको प्रक्रिया सुरु गर्ने तयारी गरेको विमान स्थल प्रमुख टेकनाथ सिटौलाले बनाए । केही समय पहिला यो योजना अवरुद्ध भएको थियो । सिटौलाले भने अहिले योजनाले मूर्तरूप पाएपछि प्रक्रिया अगाडि बढेको हो ।

यहाँबाट भारत, बंगलादेश, चीन, भुटान, पाकिस्तान, श्रीलङका, थाइल्यान्ड र मलेसिया उडान गर्ने सरकारको योजना छ । यसबाहेक आन्तरिक तर्फ काठमाडौंसहित प्रदेशका विभिन्न १३ स्थान र पोखराका लागि उडान गर्ने लक्ष्य छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको कार्यकालमा निर्माण भएको गुरु योजनालाई अहिलेका पर्यटन मन्त्री योगेश भट्टराईले केही संशोधन गरेर यो विमान स्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने प्रक्रिया सुरु संघर्ष समितिका संयोजक पुण्य भट्टराईले बताए । सरकारले अघिल्लो गुरु योजना अस्वीकृत गरेपछि भट्टराईको संयोजकत्वमा संघर्ष समिति गठन भएको थियो ।

संघर्ष समितिका पदाधिकारीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले असोज १५ भित्रमा गुरु योजनालाई अन्तिम रूप दिएर चालु वर्ष भित्रमै काम सुरु गर्ने आश्वासन दिएको संयोजक भट्टराईले बताए । उनका अनुसार गुरु योजनाको अन्तिम टुङगो लागेपछि संघीय र प्रदेश सरकारले आवश्यक रकम विनियोजन गर्ने तयारी गरेका छन् ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल बनाउन थप करिब हजार मिटर रनवे निर्माण गरिनु पर्ने र त्यसका लागि करिव डेढ सय हेक्टर जमिन अधिग्रहण गर्ने तयारी सरकारले गरेको भट्टराईले बताए । अहिले यो विमान स्थलको धावन मार्गको लम्बाई १ हजार ५ सय मिटर छ । भट्टराईले भने क्षेत्रीय अन्तर्राष्ट्रिय भएपछि धावन मार्गको लम्बाई २ हजार ४ सय मिटर हुनेछ । यो विमान स्थललाई सरकारले २०७१ सालदेखि क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने बताउँदै आए पनि त्यस बीचमा ९ जना पर्यटन मन्त्री फेरिँदा मात्र मूर्त रुप पाउन लागेको हो ।

विमान स्थलले गतवर्ष पूर्वतर्फको ४ बिघा ८ कठ्ठा जमिन अधिग्रहणपछि यो विमान स्थलको क्षेत्रफलको कुल लम्बाई २ हजार १ सय मिटर पुगेको छ । १ सय २० बिघा जमिन स्वामित्वमा रहेको विमान स्थलको दक्षीण र उत्तरको तारजाली बीचको दूरी
२ सय १२ मिटर छ ।

विमान स्थलको पश्चिममा मात्र एप्रोज लाईट हुँदा रात्रिकालीन जहाज अवतरण पश्चिमबाट मात्र हुँदै आएको छ । पूर्वतर्फ एप्रोज लाइट स्थापनाका लागि गतवर्ष ४ बिघा ८ कठ्ठा जमिन अधिग्रहण गरिएको हो । पश्चिमतर्फ मात्र एप्रोज लाइट हुँदा पश्चिम तर्फबाट हावा चल्दा रात्रिकालीन अवतरण गर्न समस्या हुन्छ ।

दुवैतर्फवाट रात्रिकालीन अवतरण गर्न पूर्वतर्फ एप्रोज लाइटको व्यवस्था गर्नैका लागि विमान स्थलले आठ वर्ष पहिला पूर्वपट्टिको अहिले अधिग्रहण गरिएको जमिन रोक्का गरेको थियो । विमान स्थलमा जहाजको उचाई र दुरी देखाउने भिओआर–डिएमई
पश्चिम तर्फ मात्र छ ।

प्रकाशित : भाद्र २७, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

लगानीका क्षेत्र पहिल्याउन जोड

कान्तिपुर संवाददाता

उदयपुर — कृषि क्षेत्रको प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रम गरी बजारीकरणमा सघाउनुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् ।

उदयपुरको गाईघाटमा बिहीबार आयोजित कृषि क्षेत्र प्रवर्द्धनसम्बन्धी अन्तर्क्रियाका सहभागी । तस्बिर : कान्तिपुर

कृषि क्षेत्रको प्रवर्द्धन र सम्भावित लगानीका क्षेत्र पहिल्याउने उद्देश्यले सदरमुकाम गाईघाटमा आयोजित अन्तर्क्रियाका सहभागीलेयस्तो बताएका हुन् ।

वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित र प्रोत्साहन गर्न सुलभ र सहज रूपमा कृषि ऋणको उपलब्धता हुनुपर्ने माग पनि सरोकारवालाले राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवं सार्क चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिका सदस्य अविनाश बोहराले धरातलीय तथा हावापानीको विविधताका आधारमा सम्भावना खोजी गरी कृषिलाई प्रतिस्पर्धी क्षेत्रका रूपमा विकास गरिनुपर्ने औंल्याए ।

कृषि क्षेत्रको व्यावसायीकरण र औद्योगिकरण गरी गरिबी न्यूनीकरण र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको बताउँंदै बोहराले यसबाट खाद्य तथा अन्य कृषि वस्तुको आयात प्रतिस्थापन गर्न सकिने बताए ।

उच्च मूल्यका कृषि उपजको निर्यातमार्फत व्यपार घाटा न्यून गर्न सकिनेमा सहभागीले जोड दिएका थिए । कृषि क्षेत्रको रूपान्तरण एवम् बजार विकासका लागि मन्डी (अक्सन हाउस), वेयर हाउस, शीतभण्डार एवम् निर्यात गृहको स्थापना गरिनुपर्नेमा जोड दिइएको थियो । अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेश १ मा कृषि क्षेत्रको प्रवर्द्धन र लगानीका अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रदेशका सबैजसो जिल्ला कृषि उत्पादनमा अग्रणी रहेको उल्लेख गर्दै यस क्षेत्रबाट अधिकतम लाभ लिन
किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सहभागी उद्यमी, व्यवसायी तथा कृषकहरूले गाईघाट, कटारी र बेलका नगरपालिका बजार क्षेत्रमा आलु, ताजा तरकारी र फलफूल लक्षित शीत भण्डारण गृहहरू निर्माण तथा सार्वजनिक निजी सहकारी सहकार्यमा सञ्चालन गर्नुपर्ने बताए ।

यसैगरी बेसार, तेजपात/सिन्कौली, खसीबाख्रा, ताजा तरकारी, फूलखेती, जुसका लागि उखु, तथा कृषि पर्यटनको व्यावसायिक उत्पादन तथा निर्यात प्रवर्द्धनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको, व्यावसायिक खरायो पालनका लागि नीतिगत रूपमा सम्बोधन गरिनुपर्ने सहभागीले औंल्याएका थिए ।

वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित तथा प्रोत्साहन गर्न सुलभ र सहज रूपमा कृषि ऋणको उपलब्धता हुनुपर्ने माग समेत सरोकारवालाले राखेका थिए ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्