३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गुरुकुलमा अंग्रेजी पढाइ

पर्वत पोर्तेल

शिवसताक्षी, झापा — झापा, शिवसताक्षी नगरपालिका १०, माइधारको अनन्त आदर्श विद्यापीठमा गत वैशाख अघिसम्म जम्माजम्मी १० विद्यार्थी मात्रै पढ्थे । सुरुमा अंग्रेजी विषय पढाइ हुँदैनथ्यो । 

गुरुकुलमा अंग्रेजी पढाइ

विद्यापीठले यसै शैक्षिक सत्रदेखि अंग्रेजी विषय थप गरी अध्यापन सुरु गरेपछि विद्यार्थीको संख्या बढेर २५ पुगेको छ । ‘पहिला संस्कृत विषयको मात्रै पठनपाठन हुँदा, विद्यार्थी पाउनै मुस्किल थियो,’ विद्यापीठका प्राचार्य बालकृष्ण शर्माले भने, ‘वैशाखपछि अंग्रेजी विषय पढाउन सुरु गरेपछि विद्यार्थीको संख्या वृद्धि भएको छ ।’


यो विद्यापीठ २०२८ सालमा स्थापना भएको हो । २०५५ देखि कक्षा ८ कक्षासम्म अध्यापन अनुमति पाएको थियो । विगतमा गुरुकुलीय पद्धतीबाट सञ्चालित यस विद्यालयमा संस्कृतका ४ विषय वेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड मात्रै पढाइ हुन्थ्यो । ‘त्यो बेला गुरुकुलमा अंग्रेजी पढाउनु हुन्न भन्ने धारणा थियो,’ विद्यापीठका पूर्व विद्यार्थीसमेत रहेका अध्यापक दामोदर गौतमले भने, ‘अंग्रेजी भाषाको महत्त्वलाई बुझेर अहिले समावेश गरिएको हो ।’


सरकारले तोकेको पाठ्यक्रम अनुसार संस्कृतका ४ सहित अंग्रेजी, गणित, सामाजिक र नेपाली विषय गरी ८ वटा विषयमा पठनपाठन हुन थालेको छ । गुरुकुलमा संस्कृतसहित अंग्रेजी र अन्य विषयको समेत पठन पाठनपछि अभिभावकसमेत नानीहरूलाई पढाउन गुरुकुल शिक्षाप्रति आकर्षित भएका छन् ।


विर्तामोड, चारपानेकी दुर्गादेवी ढकालले स्थानीय विद्यालयमा कक्षामा ९ मा पढ्दै गरेको छोरा अभिशेकलाई हालसालै गुरुकुलमा भर्ना गरेकी छन् । दुर्गादेवीले सुनाइन्, ‘पहिला संस्कृत विषय मात्रै हुँदा पढाउन मन लागेन तर अंग्रेजी विषयमा समेत पढाइ हुन थालेपछि छोरालाई यता भर्ना गरिदिएँ ।’


डिग्री पास गरेका भारत असमका रघुपति सुवेदी कक्षा ८ मा बसेर पढिरहेका छन् । प्राचार्य शर्माका अनुसार डिग्री, स्नातक, १२ पास गरेका विद्यार्थी अहिले गुरुकुलमा धमाधम भर्ना भइरहेका छन् । ‘अभिभावकको चाहना गुरुकुलमा अंग्रेजी पढाइ होस् भन्ने थियो,’ शर्माले भने, ‘अंग्रेजी सुरु भएपछि पढ्ने बढेका हुन् ।’ झापामा करिब २७ गुरुकुल छन् । गुरुकुलले विद्यार्थीलाई आवाससहितको खानाको समेत प्रबन्ध गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?