फेसबुकले जुराइदियो लगनगाँठो

रमेशचन्द्र अधिकारी

धनकुटा — फेसबुकमा जोडिएको मित्रताबाट झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्न फिलिपिन्सबाट एउटी युवती नेपाल आएकी छन्  । तीन वर्षअघि फेसबुकको माध्यमले भावनात्मक सम्बन्ध गाँसिएका प्रेमीको खोजी गर्दै धनकुटा पुगेकी ३२ वर्षीया रोजमेरी तुम्याम्पोले अन्ततः प्रेमी फेला पारेरै छाडिन्  ।

चौबीसे गाउँपालिका ७ मौनाबुधुकका २५ वर्षीय प्रकाश लिम्बू र तुम्याम्पोले सोमबार जिल्ला अदालत धनकुटामा विवाह (कोर्ट म्यारिज) गरेका छन् । तीन वर्षअघि म्यासेन्जरमा सामान्य साथीका रूपमा हुने गफगाफले दुवै एकअर्कामा नजिकिएपछि विवाहको अवस्थामा पुगेको लिम्बूले बताए । ‘भौगोलिक रूपमा हामी टाढा छौं भन्ने नै लाग्दैनथ्यो’, लिम्बूले भने, ‘उनले मलाई खोज्दै आएपछि विवाह गर्ने निष्कर्षमा पुगियो ।’


यसअघि नेपालीमूलका अमेरिकी र नेपाली नागरिकबीच जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो तर फिलिपिनी नागरिकसँग पहिलो पटक यस्तो विवाह भएको कानुन व्यवसायी कृष्ण डाँगीले बताए । दुवैले कोर्ट म्यारिज गर्ने भनेपछि आवश्यक कागजपत्र पूरा गरी सोमबार अदालतले विवाहको प्रमाणपत्र दिएको उनले जनाए । दिदी तथा दाजुका साथ पुगेका लिम्बूलाई परिवारजनले समेत स्वीकृति दिएपछि विवाह गरेको बताए । भाषा, संस्कृति नमिले पनि विवाहपछि क्रमशः सहज हुँदै जाने रोजमेरीले बताइन् । उनीहरू दुवै अंग्रेजी भाषामा कुराकानी गर्छन् तर परिवारका अन्य सदस्यले बोलेको कुरा लिम्बूले अर्थ लगाएर जानकारी गराएको जनाए । फिलिपिन्सदेखि काठमाडौं आइपुग्दा आफ्नो प्रेमीलाई भेट्न पाइने भन्दै औधि खुसी भएको रोजमेरीले बताइन् ।


नेपाल आउने पूर्वजानकारी गराएपछि वर्षौंदेखिको प्रेमले सार्थकता पाएको उनको भनाइ छ । बिस्तारै नेपाली भाषा सिक्दै गरेको उनी बताउँछिन् । ‘मेरो देश र परिवार छाडेर यति टाढा प्रकाशकै लागि आएको छु,’ उनले भनिन्, ‘कोर्ट म्यारिज गर्न पाउँदा जीवनको सबैभन्दा ठूलो उपलब्धि ठानेको छु ।’पति लिम्बूले आफूभन्दा अग्रज तथा ज्येष्ठ व्यक्तिलाई नमस्कार गर्न सिकाएका छन् । हिंड्दा बाटोमा भेट्ने सबै ज्येष्ठ नागरिकलाई शिर निहुराएर नमस्कार गर्ने गरेको भन्दै लिम्बूले उनको स्वभाव देखेर खुसी लागेको बताए । पतिसँगै रहेर नोकरी गर्ने उनले चाहना व्यक्त गरिन् । कोर्ट म्यारिजपछि साथमा रहेकी उनकी दिदी मनीकुमारीले विदेशी बुहारी भित्र्याउन पाउँदा खुसी लागेको बताइन् । उक्त जोडीलाई अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले विवाहको प्रमाणपत्र दिएका थिए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

४२ वर्ष मुद्दा लडेपछि बल्ल धनीपुर्जा

२०३४ सालमा सुरु भएको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । एकै जग्गामा ५ जनाले पटकपटक मुद्दा चलाएका थिए भने ७ वटा फैसला भएको छ ।
आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ४ की ९३ वर्षीया धनकुमारी भट्टराईले ४२ वर्षपछि न्याय पाएको अनुभव गरिन्  । सदरमुकाम फुङलिङको प्रवेशद्वारका रूपमा रहेको तोक्मेडाँडा क्षेत्रको ६ रोपनी १४ आना जग्गाको धनीपुर्जा उनले हालै मात्र पाइन्  ।

कित्ता नम्बर ६३ देखि ७७ सम्म १५ वटा कित्ता रहेको जग्गाको धनीपुर्जा जिल्ला मालपोत कार्यालयले प्रदान गरेको हो । २०३४ सालमा सुरु भएको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । एकै जग्गामा ५ जनाले पटकपटक मुद्दा चलाएका थिए भने ७ वटा फैसला भएको छ ।


पहिलो पटक सर्नबहादुर मादेनले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालतमा रिट निवेदन दिएका थिए । तत्कालीन कानुनमन्त्री विष्णु मादेनका पितासमेत रहेका सर्नबहादुरले धनकुमारीका श्रीमान् दामोदर भट्टराईलाई मुद्दा लगाएका हुन् ।


२०३८ जेठ १४ गते जिल्ला अदालतले मुद्दाको पहिलो फैसला गरेको थियो । फैसला दामोदरको पक्षमा भएपछि सर्नबहादुरले तत्कालीन मेची अञ्चल अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनले समेत २०३९ माघ ९ गते जिल्ला अदालतको फैसला सदर गरेपछि पहिलो चरणको मुद्दा सकिएको थियो । त्यही जग्गामा २०४३ सालमा खड्गबहादुर र ४४ सालमा मानबहादुर एङदेनले फेरि मुद्दा दर्ता गरे । उनीहरूले फैसला बदर, जालसाजी, लुटपाट, जग्गा किचलोलगायत मुद्दा लगाएका थिए । जिल्ला अदालतले २०४८ चैत १८ मा दामोदरको पक्षमा गरेको फैसला पुनरावेदन अदालत इलाम लगियो ।


पुनरावेदनले २०५९ मंसिर २० मा जिल्ला अदालतको फैसला सदर गरेपछि दोहोर्‍याइ पाऊँ भनी सर्वोच्च अदालतमा निवेदन पर्‍यो । सर्वोच्चले २०६१ असार १३ को निवेदनमा २०६२ माघ २५ गतेको आदेश गर्दै मुद्दा किनारा लगाइदियो । तर हर्कबहादुर एङदेनले फेरि जिल्ला अदालतबाट मुद्दाको सुरुवात गरे । त्यही जग्गा उनले आफ्नो भएको भन्दै ६२ चैत २३ गते अदालतमा वादी दिए । २०७० वैशाख ८ मा यो मुद्दाको पनि जिल्लाबाट किनारा लागेको धनकुमारीका छोरा अनन्त भट्टराईले बताए ।

सबै मुद्दा आफूहरूले नै जितेको उनको भनाइ छ । तर वादीले पुनरावेदन गरे । इलामले यसै वर्षको अन्तिम चैत ११ गते जिल्लाको फैसलालाई नै सदर गर्‍यो । तैपनि जग्गा आफ्नो भएन । २०७१ मंसिर ८ गते बुद्धिमान एङदेनले फेरि वादी दिए । जिल्ला अदालतले २०७५ पुस १२ गते धनकुमारीकै पक्षमा फैसला गर्‍यो । वृद्ध आमाका तर्फबाट मुद्दा खेपिरहेका अनन्तले धनीपुर्जाका लागि मालपोत कार्यालयमा पहिल्यै निवेदन दिए पनि आनाकानी गरिरहेको थियो । अदालतले चलानीसमेत दिएपछि मालपोत बाध्य भएको हो । भगीमान मादेन कार्यालय प्रमुख हुँदा धनकुमारीले धनीपुर्जा पाएकी हुन् । हाल विराटनगरमा रहेकी धनकुमारीले लामो समयपछि न्यायको अनुभूति भएको बताइन् । वादी पक्षले भने पछिल्लो फैसलाविरुद्ध पुनरावेदन गरेको बताएका छन् ।


यो जग्गाको केही भागमा अहिले बस र ट्याक्सी पार्क गरिँदै आएको छ । यातायात व्यवस्थापनका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी डमरुबल्लभ निरौलाको सक्रियतामा फुङलिङ नगरपालिकाले बसपार्कको व्यवस्थापन गरेको हो । बस र ट्याक्सी भने यसअघिदेखि नै यहाँ राखिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७६ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्