१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

४२ वर्ष मुद्दा लडेपछि बल्ल धनीपुर्जा

२०३४ सालमा सुरु भएको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । एकै जग्गामा ५ जनाले पटकपटक मुद्दा चलाएका थिए भने ७ वटा फैसला भएको छ ।
आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ४ की ९३ वर्षीया धनकुमारी भट्टराईले ४२ वर्षपछि न्याय पाएको अनुभव गरिन्  । सदरमुकाम फुङलिङको प्रवेशद्वारका रूपमा रहेको तोक्मेडाँडा क्षेत्रको ६ रोपनी १४ आना जग्गाको धनीपुर्जा उनले हालै मात्र पाइन्  ।

कित्ता नम्बर ६३ देखि ७७ सम्म १५ वटा कित्ता रहेको जग्गाको धनीपुर्जा जिल्ला मालपोत कार्यालयले प्रदान गरेको हो । २०३४ सालमा सुरु भएको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । एकै जग्गामा ५ जनाले पटकपटक मुद्दा चलाएका थिए भने ७ वटा फैसला भएको छ ।


पहिलो पटक सर्नबहादुर मादेनले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालतमा रिट निवेदन दिएका थिए । तत्कालीन कानुनमन्त्री विष्णु मादेनका पितासमेत रहेका सर्नबहादुरले धनकुमारीका श्रीमान् दामोदर भट्टराईलाई मुद्दा लगाएका हुन् ।


२०३८ जेठ १४ गते जिल्ला अदालतले मुद्दाको पहिलो फैसला गरेको थियो । फैसला दामोदरको पक्षमा भएपछि सर्नबहादुरले तत्कालीन मेची अञ्चल अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनले समेत २०३९ माघ ९ गते जिल्ला अदालतको फैसला सदर गरेपछि पहिलो चरणको मुद्दा सकिएको थियो । त्यही जग्गामा २०४३ सालमा खड्गबहादुर र ४४ सालमा मानबहादुर एङदेनले फेरि मुद्दा दर्ता गरे । उनीहरूले फैसला बदर, जालसाजी, लुटपाट, जग्गा किचलोलगायत मुद्दा लगाएका थिए । जिल्ला अदालतले २०४८ चैत १८ मा दामोदरको पक्षमा गरेको फैसला पुनरावेदन अदालत इलाम लगियो ।


पुनरावेदनले २०५९ मंसिर २० मा जिल्ला अदालतको फैसला सदर गरेपछि दोहोर्‍याइ पाऊँ भनी सर्वोच्च अदालतमा निवेदन पर्‍यो । सर्वोच्चले २०६१ असार १३ को निवेदनमा २०६२ माघ २५ गतेको आदेश गर्दै मुद्दा किनारा लगाइदियो । तर हर्कबहादुर एङदेनले फेरि जिल्ला अदालतबाट मुद्दाको सुरुवात गरे । त्यही जग्गा उनले आफ्नो भएको भन्दै ६२ चैत २३ गते अदालतमा वादी दिए । २०७० वैशाख ८ मा यो मुद्दाको पनि जिल्लाबाट किनारा लागेको धनकुमारीका छोरा अनन्त भट्टराईले बताए ।

सबै मुद्दा आफूहरूले नै जितेको उनको भनाइ छ । तर वादीले पुनरावेदन गरे । इलामले यसै वर्षको अन्तिम चैत ११ गते जिल्लाको फैसलालाई नै सदर गर्‍यो । तैपनि जग्गा आफ्नो भएन । २०७१ मंसिर ८ गते बुद्धिमान एङदेनले फेरि वादी दिए । जिल्ला अदालतले २०७५ पुस १२ गते धनकुमारीकै पक्षमा फैसला गर्‍यो । वृद्ध आमाका तर्फबाट मुद्दा खेपिरहेका अनन्तले धनीपुर्जाका लागि मालपोत कार्यालयमा पहिल्यै निवेदन दिए पनि आनाकानी गरिरहेको थियो । अदालतले चलानीसमेत दिएपछि मालपोत बाध्य भएको हो । भगीमान मादेन कार्यालय प्रमुख हुँदा धनकुमारीले धनीपुर्जा पाएकी हुन् । हाल विराटनगरमा रहेकी धनकुमारीले लामो समयपछि न्यायको अनुभूति भएको बताइन् । वादी पक्षले भने पछिल्लो फैसलाविरुद्ध पुनरावेदन गरेको बताएका छन् ।


यो जग्गाको केही भागमा अहिले बस र ट्याक्सी पार्क गरिँदै आएको छ । यातायात व्यवस्थापनका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी डमरुबल्लभ निरौलाको सक्रियतामा फुङलिङ नगरपालिकाले बसपार्कको व्यवस्थापन गरेको हो । बस र ट्याक्सी भने यसअघिदेखि नै यहाँ राखिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?