१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पदाधिकारीकै मिलेमतोमा काटिँदै रूख

पर्वत पोर्तेल

(काँकडभिट्टा) — मेचीनगरको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीसहित समितिका २२ पदाधिकारी गत वर्ष असार २४ मा पक्राउ परे । सामुदायिक वनसँगै रहेको लोकनाथ दाहालको निजी आवादी रूख काटेको उनीहरूमाथि आरोप थियो ।

समितिले निर्णय गरेरै १५ थान टुना अर्थात् ८८.९२ क्युफिट काठ काटिएको थियो ।


त्यही वर्षको मंसिर १३ मा अदालतले आरोपी २२ जनालाई नै जनही एक/एक हजार धरौटी मागेर छाडेको थियो । गत साउन ४ मा झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वन समितिका अध्यक्ष प्रदीप धिमालसहित २१ जना पक्राउ परे ।


अवैधानिक ढंगबाट सखुवा जातको रूख कटान गरेको भन्ने सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । अध्यक्ष धिमाललाई त २१ दिनसम्म वनले हिरासतमै राखेर अनुसन्धान गरेको थियो ।


‘बिना इजाजत काठ, लकडी हटाएको’ शीर्षकमा उनीहरूलाई वनले आदालतमा मुद्दा दायर गरेको थियो । डिभिजन वन कार्यालयका प्रमुख डीएफओ विष्णु घिमिरेका अनुसार अनुमतिभन्दा २६ थान बढी सखुवा जातका गोलिया काटेको पुष्टि भएको थियो । गोलिया चिरान गर्दा ३ सय ७८ क्युबिक काठ निस्किन्छ । वन पदाधिकारीले ‘रूख लडेको’ भनी निर्णय नै गरी रूख काटेको अनुसन्धानवाट पुष्टि भएको पाइएको घिमिरेले बताए ।


‘वनलाई जानकारीबेगरै रूख काटेर बिक्री गर्ने काठमा मिसाइएको भेटियो,’ उनले भने, ‘त्यही भएर उनीहरू कारबाहीका भागीदार भए ।’ खासमा लडेका, पुराना रूख काट्न वन कार्यालयको इजाजत लिनुपर्ने कानुनी प्रावधान छ । वनले असार, साउन, भदौ र असोज चार महिना कुनै पनि रूख काट्ने अनुमति दिदैन । त्यही समयमा उनीहरूले रूख काटेको देखिन्छ ।


डिभिजन वन कार्यालय झापाले तोकेको संख्याभन्दा बढी टाँचाविहीन रूखका गोलिया शुक्रबार फेला परेपछि वन कार्यालयले काठ कब्जामा लिएर अनुसन्धान थालेको छ । कार्यसमितिको मिलेमतोमै अनुमतिभन्दा बढी रूख कटान गरिएको हुन सक्ने आशंका वन कार्यालयको छ ।

सहायक वन अधिकृत नथुनीप्रसाद यादवको संयोजकत्वको समितिले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धान प्रतिवेदनका आधारमा वन समितिकै मिलेमतोमा काठ काटिएको पाइएको हो । वनको दोस्रो घाटगद्दीमा टाँचा नलगाई राखिएको अवस्थाका गोलिया भेटिनु नै शंकास्पद रहेको अनुसन्धान अधिकृत यादवले जनाए । गत भदौ १० मा अदालतले सबै आरोपीलाई ८ लाख ४० हजार धरौटी मागेर छाडेको छ । अदालतले बरामद काठ लिलामी गर्नसमेत आदेश गरेको छ । उनीहरू छुटेकी दिन वन कार्यालयमा एउटा गोप्य सूचना आयो ।


सुराकीले दक्षिण झापाको जलथलस्थित मायालु सामुदायिक वन क्षेत्रमा ट्याक्टरमा गोलिया लोड भइरहेको जानकारी गराएपछि वनको टोली तत्काल त्यहाँ पुग्यो । नभन्दै सखुवाको गोलिया धमाधम लोड भइरहेको थियो । वन टोलीले काठ तस्करीमा संलग्न ८ जनालाई पक्राउ गर्यो । १५ थान गोलिया र ट्याक्टर बरामद गरेर ल्यायो ।


डीएफओ घिमिरेले भने, ‘अनुमतिबेगर रूख काटेर काठ तस्करी भइरहेको पाएकाले संलग्न सबैलाई ल्याइयो ।’ ८ जना आरोपीलाई वनले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । वन कार्यालयका अनुसार सामुदायिक वनका पदाधिकारीको मिलेमतोबेगर काठ तस्करीको साहस कसैले गर्न सक्दैन । डीएफओ घिमिरे भन्छन्, ‘यो घटनामा पनि पदाधिकारीको मिलेमतोको गन्ध हामीले पाएका छौं ।’


झापाका सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा काठ तस्करी हुने गरेका उदाहरण हुन् यी । विभिन्न बहानामा रूख काट्ने र बेच्ने काममा उनीहरूको संलग्नता देखिएको हो । झापामा ५४ सामुदायिक वनहरू छन् । अधिकांशमा पदाधिकारीकै मिलेमतोमा तस्करी हुँदै आएको छ । तर, कतिपय घटनाबाहिर आएका छैनन् ।


कार्यालयका अनुसार यो वर्ष मात्रै १३ वटा मुद्दा अदालतमा दायर भएका छन् । जसमा २८ जनालाई मुद्दा चलाइएको छ । ४ सय ७.९७ क्युफिट काठ बरामद गरिएको थियो । झापामा वन क्षेत्र बर्सेनि घट्दो छ । हाल १८ हजार ६५ हेक्टरमा मात्रै वन छ ।


अवैधानिक रूपमा रूख कटान गरिएको प्रमाणित भए वन ऐन २०४९, नियमावली २०५१ बमोजिम कारबाही हुनेछ । आरोपीलाई बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता हुनेछ । संलग्नहरू दोषी ठहरिए बिगोभन्दा दोब्बर जरिवाना र थुनासमेत हुन सक्ने कानुनी प्रावधान छ ।


प्रकाशित : भाद्र २५, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?