१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बनिनसक्दै भत्कियो मध्यपहाडी सडक

पटक–पटक गुणस्तरमा ध्यानदिन आग्रह गर्दा पनि अटेर गरेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइने
डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेको छ । पिचको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेको हो ।

बनिनसक्दै भत्कियो मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डको (८८ किमि) मध्ये दारुलाडाँडा–दिक्तेलसम्मको नौ किमि मात्र सडक सकिएको छ । च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चारवटा प्याकेजमा निर्माण भइरहेको हो । यसमध्ये एक नम्बर च्यानडाँडा–पेलुङसम्मको (१० किमि) ५५ प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किमि) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किमि) ९० प्रतिशत मात्र काम भएको छ ।


चार नम्बर प्याकेज अन्तर्गत कालिखोला–दिक्तेल (९ किमि) सडक मात्र सकिएको हो । सकिएको सडक पनि भत्किन थालेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल र त्यसको आसपासको सडक छेउसमेत भत्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा टेवापर्खाल भत्किएको छ ।


यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको छ । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउँमा फिलिङमाटोमाथि नै पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिच लगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै यसप्रति ध्यान दिनु पर्ने स्थानीयको भनाइ छ ।


गुणस्तरहीन काम भएकाले सडक नसकिँदै भत्किएको जनप्रतिनिधिहरूले समेत गुनासो गरेका छन् । ‘सडक नसकिँदै भत्किन थालेको छ,’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का वडाअध्यक्ष माधव राईले भने, ‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्छ ।’


सडकको गुणस्तरबारे पटक–पटक ध्यानाकर्षण गराइए पनि अटेर गरेको दिक्तेल नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । ‘निर्माणमा सम्बद्ध निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर पटक–पटक गुणस्तरलाई ध्यान दिन अनुरोध गरिएको छ ।’ नगरप्रमुख रिजालले भने, ‘त्यति गर्दा पनि अटेर गरेकाले सम्बन्धित निकायमा लेखेर पठाउँछौं ।’


गौरबका आयोजना अन्तर्गतको सडक नसकिँदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘गौरबको आयोजना भएकाले यसको गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन ।’ भट्टराईले भने, ‘गुणस्तरहीन सडक बनेकाले भत्किन थालेको र यसबारे सरकारको ध्यानाकर्षण गराउँछु ।’


यो सडकको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । उक्त कम्पनीसँग सम्झौता गर्दा उल्लेख गरिएको समय सीमा नाघिसकेको छ । सबै प्याकेजको निर्माण अवधि सकिए पनि आगामी असारसम्ममा सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे शेर्पाले बताए ।


उनका अनुसार हरेक प्याकेजको काम दुई वर्षमा सक्ने गरी सम्झौता भएको थियो । यसअन्तर्गत एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने सम्झौता गरिएको थियो । भूकम्प, सामग्री अभाव लगायतका कारणले ढिलाइ भएको शेर्पाको दाबी छ ।


गुणस्तरहीन कामले सडक भत्किएको भन्ने गुनासोको सन्दर्भमा फिलिङमाटो, भूकम्प र वर्षाद्का कारण सडकको छेउ र पर्खाल भत्किएको हुन सक्ने शेर्पाको तर्क छ । ‘फिलिङमाटो, भूकम्प, वर्षाद् लगायतका कारण भत्किएको हुनसक्छ ।’ शेर्पाले भने, ‘फिनिसिङ नभएकाले सडक बुझाउँदासम्म गुणस्तरीय हुन्छ ।’ स्थानीयले भने जनप्रतिनिधिहरूको बेवास्ता, अनुगमन अभाव लगायतका कारण सडक गुणस्तरहीन बनेको बताएका छन् ।


त्यसो त करिब १ अर्ब ९ करोड १९ लाख रुपैयाँको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाइ भएको शेर्पाले बताए ।


यो सडक खण्डमा आठवटा पुलमध्ये चारवटा मात्र सकिएका छन् । आठमध्ये चावटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अत्तोपत्तो नभएको शेर्पाले सुनाए । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको शेर्पाको भनाइ छ ।


सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोला लगायतको पुल नबन्दा उक्त ठाउँमा सडक अपूरै छ । उक्त भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको टेन्डर प्रक्रिया नै नबढेकाले समस्या भएको छ । यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल पनि अलपत्र छ ।


यहाँ रहेको धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल सार्नु पर्ने हुँदा निर्माणमा ढिलाइ भएको निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?