कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीपी प्रतिष्ठानमा उपकुलपति नियुक्ति : अदालतको राय मागिने

सुनसरी — उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा कानुनी जटिलता रहेकाले अदालतसँग राय माग्ने तयारी भइरहेको बताएका छन् । 

बीपी प्रतिष्ठानमा उपकुलपति नियुक्ति : अदालतको राय मागिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीपछि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार निलम्बनमा परेका छन् । बीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा बीपी प्रतिष्ठानको २६ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गरेपछि मन्त्री यादवले भने, ‘आर्थिक अनियमितताको कारण एउटा उपकुलपति निलम्बनमा छन् । तर, बर्खास्त नभएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति गर्न मिल्छ कि मिल्दैन भनेर अदालतसँग राय माग्ने छौं । रौनियारको मुद्दाको फैसला हुन अदालतमा पाँच सात वर्षसम्म लागे के गर्ने ? प्रतिष्ठान सञ्चालन गर्न उपकुलपति त चाहियो ।’


उनले हाल प्रतिष्ठानमा बिग्रेका महंगा मेडिकल उपकरण मर्मत सम्भार तत्काल बनाउने बताए । ती उपकरणहरू बन्न नसके नयाँ खरिद गरिने पनि बताए । प्रतिष्ठानमा मुटु रोगको उपचार गर्ने ८ करोड रुपैयाँको कार्डियाक क्याथल्याव, ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट, डेन्टलको सेफालो ग्राम एक्सरे बिग्रेका छन् । त्यस्तै ८५ प्रतिशत डेन्टल चियर, सिटी स्क्यान पनि बिग्रेर कामै नलाग्ने भएका छन् । प्रतिष्ठानमा जडान गरिएको जिरो पोइन्ट ३५ टेस्लाको एमआरआईले मेरुदन्डको एमआरआई गर्न सक्दैन ।


सरकारले स्वास्थ्य बिमामा लागू गरेपछि जटिल रोग भएका पूर्वी जिल्लाका अधिकांश बिरामीहरू प्रतिष्ठानमा उपचारका लागि आउने गरेका छन् । तर प्रतिष्ठानको आफ्नै फार्मेसीमा औषधि नभएकाले बिरामीले पैसा तिरेर बाहिरको मेडिकल हलबाट औषधि किन्न बाध्य भएका छन् । यसबारेमा उनले प्रतिष्ठानलाई फार्मेसी पूर्णरूपमा सञ्चालनमा ल्याउन निर्देशन दिए ।


अन्य जिल्ला अस्पतालहरूमा प्रसूति हुन आउने गर्भवतीहरूको निःशुल्क सुत्केरी गराउने र हजार रुपैयाँसम्म उपलब्ध गराउनुका साथै कुरुवालाई समेत सरकारले आर्थिक सहयोग गर्दै आएको भए पनि प्रतिष्ठानमा भने प्राकृतिक रूपमा बच्चा जन्माए कम्तीमा १२ हजार र शल्यक्रिया गर्नु परे २० हजार रुपैयाँसम्म उल्टै तिर्नुपर्छ । उक्त विषयमा उनले स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानबीच केमा समन्वय नमिलेको हो निमित्त उपकुलपतिसँग छलफल गरेर समस्या समाधान गर्ने बताए ।


यसअघि प्रतिष्ठानको २६ औं वार्षिकोत्सवमा प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले चाँडो समाधान गर्न चाहेको बताएका थिए । उनले प्रतिष्ठान सञ्चालनमा जटिल समस्या देखा परेकाले सबै मिलेर समाधान गर्नुको विकल्प नभएको बताए । उनले प्रतिष्ठानलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउने तयारी भइरहेको पनि बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?