सरिफाले बढ्यो आम्दानी

धनकुटा — सरिफा फल बेचेर धनकुटा नगरपालिका ८ तेत्रेदाङका कृषकले आम्दानी बढाएका छन् । जंगलमा पाइने सरिफाको माग उल्लेख्य भएपछि स्थानीय कृषकले बारीमा बिरुवा रोपेर व्यावसायिक उत्पादन गरिरहेका छन् । सरिफा अर्गानिक फल भएकाले माग बढी हुने गरेको स्थानीयको दाबी छ ।

जंगलबाट बिरुवा ल्याएर ६ रोपनी क्षेत्रफलमा व्यावसायिक उत्पादन थालेका स्थानीय जिद्धबहादुर आठपहरियाले सरिफा बेचेरै एक महिनामा ३० हजार रुपैयाँ कमाई गरेको बताए ।


‘विगत वर्षमा भन्दा भाउ पाएकाले आम्दानी बढेको छ,’ उनले भने, ‘अझै पनि बोटमा टिप्न प्रशस्तै बाँकी रहेकाले आम्दानी बढ्न सक्ने आशा छ ।’ जिद्धबहादुर जस्तै आफ्नै बारीमा उम्रिएको सरिफा बेचेर पनि स्थानीयले मनग्य कमाइ गरेका छन् ।


खासगरी बेंसी क्षेत्रका जंगलमा भदौदेखि दुई महिनाको अवधिमा सरिफा फल्ने गर्छ । जंगलमा फलेका सरिफा टिपेर बजारमा बिक्री गर्नेको तँछाडमछाड चल्ने गर्छ । तर, पछिल्लो समय कतिपय कृषकले बारीमा रोपेरै पनि व्यावसायिक रूप दिन थालेको स्थानीय देवकुमारी आठपहरियाले बताइन् ।


उनले ५० बोट सरिफाबाट ५० हजारभन्दा बढी आम्दानी गरेको जानकारी दिइन् । केही वर्षदेखि सरिफाको माग अत्यधिक बढेको उनको भनाइ छ । मल, विषादि प्रयोग गर्नु नपर्ने सरिफाको बजारमा माग बढेपछि स्थानीयबासी हौसिएका छन् । ‘बारीमा आफैं उम्रिने सरिफाबाटै अहिले त कमाई पो हुन थालेको छ,’ उनले भनिन्, ‘वर्षौंसम्म खास मिहिनेत नगरी नै फल्ने भएकाले सजिलै हुने गरेको छ ।’


जंगल आसपासको बस्ती भएकाले याक्ते, सान्ताङ, तेत्रेदाङ लगायतका स्थानीयबासीको बारीमा पनि सरिफा उम्रने गर्छ । केहीले भने जंगलबाट बिरुवा ल्याएर बारीमा रोप्न थालेका छन् ।


बजारमा सरिफाको मूल्य ६० देखि ८० रुपैयाँसम्म पर्छ । तर कृषकले बारीबाट केजीको ४० रुपैयाँमा बिक्री गर्दै आएको बताए । यति बेला धनकुटा बजारका फुटपाथमा सरिफाको बिक्री उल्लेख्य हुने गरेको छ । स्थानीय बजारमात्र नभएर धरान, इटहरी, विराटनगरलगायत स्थानमा पनि सरिफा पुग्ने गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?