कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुनसान बन्यो व्यापारिक केन्द्र

डिल्लीराम खतिवडा

घुर्मी, उदयपुर — सशस्त्र द्वन्द्वका समयमा सुनसान बनेको उदयपुर, सिन्धुली र ओखलढुंगाको सिमानामा पर्ने उदयपुरको घुर्मी बजार अझै व्यापारिक केन्द्रको रुपमा तंग्रिन सकेको छैन ।

सुनसान बन्यो व्यापारिक केन्द्र

द्वन्द्वका समयमा आफुलाई असुरक्षित महसुस गर्दै हिँडेका व्यापारी नफर्किएपछि घुर्मी व्यपारी केन्द्रको रुपमा विकास हुन नसकेको हो । मध्य पहाडी राजर्माग सचालनसगै घुर्मी बजार माथिल्लो सगरमाथा क्षेत्रको मुख्य व्यापारिक केन्द्रको रुपमा विकास हुनुपर्ने हो ।


तर द्वन्द्वपछि आशिक व्यापारीमात्रै पुन घुर्मी फर्किएका छन् । व्यवस्थित रुपमा बजार विकास गर्नका लागि समस्या हुँदा पनि द्वन्द्वका समयमा पलायन भएका व्यापारी फकिएनन् । त्यसैगरी हाल बजार बसेको स्थान एउटै व्यक्तिको भएको र उसले बिक्रि नगर्दा अहिले पनि घुर्मी प्लास्टिकको झुप्रोमै सीमित हुन पुगेको छ ।


जग्गा मालिक जग्गा बिक्री नगर्ने र भाडा मात्रै लगाएर कमाउने गरेका छन् । त्यसैले व्यापारीले आफ्नो भौतिक सरचना बनाउन नपाउँदा व्यवसायमा लगानीसमेत बढाएका छैनन् । घुर्मी व्यापारिक केन्द्रको रुपमा विकास भएमा उदयपुरका एकदर्जन गाउँका साथै ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाका सर्वसाधारणको जीवनयापनमा सहजता ल्याउने थियो । घुर्मीबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाका व्यावसायी र सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको खरिद बिक्री गर्न सजिलो हुनेछ ।


‘द्वन्द्वका समयमा सुनसान बनेको घुर्मी बजार मुलुकमा द्वन्द्व व्यवस्थापनसंगै केहि तंग्रिन थालेको थियो,’ उदयपुर उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका व्यवसायी महेन्द्रलाल दासले भने, ‘द्वन्द्वका समयमा यहाँका अधिकांश व्यापारी पलायन भएर कटारी, मिर्चैया, लहान तर्फ गए ।’


मुलुकमा द्वन्द्व व्यवस्थापनसँगै शान्ति स्थापना भएपछि पुन केही व्यापारी फर्किए, तर बजार व्यवास्थित हुन नसक्दा केही ओखलढुंगाको हर्कपुर हुँदै माथील्लो सगरमाथा र केही पुनः तराई तिर गएको उनले वताए । घुर्मीमा स्थानीय कृषकले उत्पादन गरेको आलु, दाल, भट्मास, घिउ, काँक्रा, कागती, सुन्तला, कोदो, मकैलगायतका सामग्री खरिद गर्न तराईबाटै व्यापारी जाने गरेका छन् ।


तर, सगरमाथा अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो सिद्धिचरण राजमार्ग साँघुरो र जीर्ण बन्दै गएका कारण पछिल्ल्लो समय घुर्मीको व्यापार फस्टाउन नसकेको स्थानीयको गुनासो छ । ‘खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका बासिन्दाले प्रयोग गर्ने र घुर्मी बजार भएर जाने सिद्धिचरण राजमार्गमा सवारी चाप दिन प्रतिदिन बढिरहेको छ,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘तर, राजमार्गको अवस्था अत्यन्तै नाजुक भएकाले आउजाउमा समस्या छ ।’ सिद्धिचरण राजर्मागलाई व्यवस्थित गर्ने हो भने पनि यस क्षेत्रका सर्वसाधारण आर्थिक रुपमा सक्षम र सबल बन्दै जाने उनले बताए ।


स्थानीय स्तरबाट सम्भवन नभएको र संघीय सरकारले वास्ता नगर्दा राजर्माग जीर्ण हुँदै गएको छ । त्यसैले गर्दा घुर्मीमात्रै होइन भविष्यमा कटारी बजारसमेत प्रभावित हुन सक्ने प्रमुख श्रेष्ठले बताए । ‘सिद्धिचरणको पुन निर्माण र विकल्पका लागि पटक–पटक संघीय सरकारसँग माग गरिएको छ,’ प्रमुख श्रेष्ठले भने, ‘तर अहिलेसम्म खासै केही हुन सकेको छैन ।’ त्यसैले गर्दा पनि घुर्मी बजार व्यावस्थित गर्न नसकिएको उनले वताए ।


लामो समयदेखि सिद्धिचरण राजमार्गको कटारीदेखि घुर्मीबजार सम्मको करिव ४६ किलोमिटर सडक मर्मत हुन सकेको छैन । सडकको मर्मत सम्भार नहुदा मानिस विरामी हुदा र सडक दुर्घटना हुदा हेलिकोप्टर झिकाएर उपचारमा लैजानुपर्ने बाध्यता रहेको व्यापारी बताउँछन् । ‘घुर्मी राम्रो सम्भावना भएको बजार हो’ स्थानीय बिष्णु भट्टराईले भने,‘तर, यहाको बजारलाई व्यवस्थित गर्नका लागि कसैले चासो दिएका छैनन् ।’


द्वन्द्वका समयमा असुरक्षाका कारण घुर्मी छाडेर हिडेका व्यापारी फर्केपनि खानेपानी, सडक, संचारजस्ता बजारका लागि चाहिने पूर्वाधारको व्यवस्था अझै हुन नसक्दा घुर्मी ओझेलमा परेको उनले वताए । २०५६ को अन्तिम समयदेखि घुर्मी बजार सूरु भएको हो ।


सिद्धिचरण राजर्मागको कटारी घुर्मी खण्ड खुलेसंगै सूरु घुर्मी उदयपुर, खोटाङ्ग, ओखलढुंगा र सोलुखुम्बुका लाखौं सर्वसाधारणले आवतजावत गर्ने सुनकोसी किनाराको एउटा प्रमुख को नाका हो । लाखौं सर्वसाधारणले आवागमन गर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने बजारसगैको सिद्धिचरण राजमार्गको स्तरोन्नति गर्ने हो भने यो बजार अझ बिस्तार हुँदै जाने व्यापारी बताउछन् ।


घुर्मीबाट उदयपुरका साथै सोलुखुम्बु, खोटांग, ओखलढुंगा र सिन्धुली जिल्लाका दर्जनौं गाउँमा निर्माण तथा अन्य दैनिक उपभोग्य सामग्री ढुवानी हुने गर्छ । द्वन्द्वको समयमा सुनसान बनेको यो बजार त्यसपछि अहिलेसम्म पुरानै अबस्थामा फर्किन सकेको छैन ।


माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुलाई जोडने अन्य सडक खुलेपछि ओझेलमा परेको सिद्धिचरण राजर्मागसंगै घुर्मी बजारपनि ओझेलमा परेको छ । सडकका साथै अन्य पूर्वाधारको निर्माणमा कसैको ध्यान पुग्न नसक्दाँ अहिले पनि घुर्मी तंग्रिन सकिरहेको छैन ।

प्रकाशित : भाद्र २३, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?