१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बीपी प्रतिष्ठानका महँगा उपकरण बिग्रेका बिग्य्रै

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका महँगा उपकरणहरू बिग्रेका छन् । बिरामीको विभिन्न अवस्था जाँच गर्ने उपकरण बिग्रेपछि अन्यत्र महँगोमा परीक्षण गराउनुपर्ने बाध्यता छ ।

बीपी प्रतिष्ठानका महँगा उपकरण बिग्रेका बिग्य्रै



कार्डियाक क्याथल्याब, अक्सिजन प्लान्ट, सिटिस्क्यान, एमआरआई, इन्डोस्कोपी, डेन्टलको सेफालोग्राम एक्सरे एकसाथ बिग्रेपछि समस्या भएको हो । चिकित्सकले तिनै आधुनिक प्रविधिको सहयोगमा बिरामीको उपचार सेवा गर्दै आएका थिए । कतिपय उपकरण बिग्रेको महिनौ बितेको छ । केही सायतायता काम नगालग्ने भएका छन् ।


भदौ १० गते क्याथलाब बिग्रेको प्रतिष्ठानले जनाएको छ । मुटु तथा नसा रोगीहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले तीन वर्षअघि जडान गरेको अत्याधुनिक सुविधाय्क्तु बहुउपयोगी कार्डियाक क्याथल्याब बिग्रेपछि मुटु र नसा रोगीको उपचार प्रभावित भएको छ ।


सरकारले उपलब्ध गराएको ८ करोड रुपैयाँमा क्याथल्याब जडान गरिएको थियो । बिग्रेपछि सायतायता क्याथल्याबमार्फत उपचार गर्नुपर्ने मुटुरोगीलाई भर्ना लिन बन्द गरेको एक चिकित्सकले बताए । ‘कार्डियाक क्याथल्याब नै बिग्रेकाले कुनै पनि मुटुरोगसँग सम्बन्धित बिरामी भर्ना बन्द गरिएको छ’ उनले भने, ‘उपकरण बिग्रनुअघि भर्ना भएकाहरूलाई अन्यत्र रिफर गरिएको छ ।’


प्रतिष्ठानमा क्याथल्याब गर्नुपर्ने बिरामीहरू मासिक ६० भन्दा बढी आउने गरेका थिए । क्याथल्याब सञ्चालनमा आएपछि मुटु रोगसम्बन्धी सेवाहरू एन्जियोग्राफी, एन्जियोप्लास्टी, मुटुका साँघुरिएका भल्भहरू बिनाअपरेसन खोल्ने प्रक्रिया मैट्रल, एरोटिक, पल्मोनरी भल्भोटोमी सेवा तथा जन्मजात मुटुभित्र हुने विभिन्न प्रकारका प्वालहरू बिनाअपरेसन ढकन लगाई प्वाल टाल्ने सेवा तथा असामान्य किसिमका नसाहरूको समेत उपचार भइरहेको थियो ।


क्याथल्याब मर्मत सम्भार गर्नका लागि सोमबारमात्र प्राविधिक आएर हेरिरहेका छन् । कहिलेसम्म बन्ने हो त्यसको टुंगो नलागेको प्रतिष्ठानले जनाएको छ । कतिपय उपकरणका वारेन्टी पिरियड सकिएकाले मर्मत सम्भार खर्च र बिग्रेको पार्ट प्रतिष्ठान आफैंले किन्नुपर्ने भएको छ । तर प्रतिष्ठानमा हाल निमित्त उपकुलपति प्राडा गुरु खनालसँग आर्थिक अधिकार नरहेकाले ती बिग्रेका उपकरण बेलैमा बन्नेमा शंका रहेको प्रतिष्ठान श्रोतले बतायो ।


प्रतिष्ठानमा पूर्वका सबै अस्पताललाई आपूर्ति गर्न सक्ने १६ सय लिटर प्रतिमिनेट उत्पादन गर्ने अक्सिजन प्लान्ट बिग्रेको करिब दुई महिना भयो । उक्त अक्सिजन प्लान्ट जडान गरेको आठ महिना नपुग्दै बिग्रेपछि अक्सिजन उत्पादन गर्न सकेको छैन ।


३ करोड २४ लाख रुपैयाँ लगानी गरेर जडान गरेको प्लान्ट बिग्रेर अक्सिजन उत्पादन हुन नसकेपछि सुनसरीको खनारस्थित दुर्गा अक्सिजन प्लान्टबाट दैनिक ६० हजार रुपैयाँदेखि ८० हजार रुपैयाबराबरको सिलिन्डरमा आपूर्ति गरिरहेको छ । अर्काको प्लान्टबाट अक्सिजन किन्नु प्रतिष्ठानको लागि अतिरिक्त भार हो ।


उपकुलपति खनालले दुई सातामा र अक्सिजन प्लान्ट आपूर्तिकर्ता कम्पनी डाइग्नोकेनका सञ्चालक विज्ञान अर्यालले एकसातामा मर्मत गरेर प्लान्ट सञ्चालनमा ल्याउने दाबी तीन साताअघि गरेका थिए । अर्याल हाल प्रतिष्ठानमै छन् तर प्लान्ट बन्ने टुंगो लागेको छैन ।


प्रतिष्ठानको इमर्जेन्सी र सेन्ट्रलमा जडान भएका दुइटा सिटिस्क्यानमध्ये इमर्जेन्सी कक्ष सिटिस्क्यान बिग्रेको एक वर्ष नै बितिसकेको छ । इमर्जेन्सीको १६ स्लाइसको सिटिस्क्यान बिग्रँदा सेन्टरमा रहेको २ स्लाइसको सिटिस्क्यानले काम चलाउनुपरेको प्रतिष्ठान श्रोतले जनाएको छ ।


इमर्जेन्सी कक्षको सिटिस्क्यान बिग्रेपछि प्रतिष्ठानले नैकापको मेदी सोल्युसनसँग पब्लिक प्राइभेट पार्टनरसिपमा नयाँ सिटिस्क्यान जडान गर्ने तयारी गरेको प्रतिष्ठान श्रोतले जनाएको छ । यसअघि २ स्लाइसको सिटिस्क्यानले पनि राम्रो काम नगर्ने र इमर्जेन्सीको सिटिस्क्यान पनि बिग्रिरहने भएकाले कतिपय बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।


प्रतिष्ठानमा रहेको जिरोपोइन्ट ३५ टेस्लाको एमआरआईको एउटा भाग बिग्रँदा टाउको र घुँडाको एमआरआई भए पनि मेरुदण्डको एमआरआई हुँदैन । मेरुदण्डको एमआरआई गर्नुपर्ने बिरामीलाई अन्यत्र पठाउन गरेको प्रतिष्ठान श्रोतले जनाएको छ । उता प्रतिष्ठानहाता भित्रै रहेको सेफालोग्राम एक्सरे मेसिन बिग्रेको दुई वर्ष बितिसकेको छ ।


समग्र दाँतको एक्सरे गर्ने उक्त उपकरण बिग्रे पनि मर्मत गर्ने वा नयाँ किन्ने विषयमा हालसम्म कुनै निर्णय हुन सकेको छैन । दन्तचिकित्सक तथा प्रतिष्ठानको जुनियर वेल्फेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले सेफालोग्राम एक्सरे गर्नुपर्ने दाँतका समस्या भएकालाई अन्यत्र रिफर गर्न बाध्य भएको बताए । उनले भने, ‘सेफालोग्राम एक्सरे गर्नु पर्ने दाँतका समस्या भएका धेरै आउँछन् तर यहाँ भएको उपकरण बिग्रेको छ । यहाँ नभएपछि अन्यत्र रिफर गर्नुपरेको छ ।’


प्रतिष्ठानमा बिरामी उपचारका लागि जडान गरिएका महँगा उपकरण बिग्रँदा बेलैमा मर्मत सम्भार वा नयाँ खरिद गर्न नसक्दा प्रतिष्ठानलाई नै दैनिक घाटा हुँदै आएको छ । हाल प्रतिष्ठानमा अधिकारविहीन उपकुलपति मात्र छन् । उपकरण बिग्रेमा वा नयाँ किन्नका लागि अस्पताल निर्देशकलाई आर्थिक अधिकार दिइएको छैन ।


रजिस्ट्रार, डेपुटी रजिस्ट्रार अख्तियारको नगरानीमा छन् । चिकित्सकहरूले अधिकारसम्पन्न उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न सके मात्र प्रतिष्ठानले नयाँ जीवन पाउने बताएका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?