भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने

रासस

झापा — झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नति गर्न सुरु भएपछि शुक्रबारदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।


प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयँमा ठेक्कामा लिएको उनको भनाइ छ ।


आगामी १५ दिनसम्म तोकिएको समयमा विमानस्थल बन्द हुनेछ । धावनमार्गको मर्मत कार्य सुरु भएसँगै एयरलाइन्स कम्पनीले नियमित उडानको समय तालिका परिवर्तन गरिसकेका प्रमुख चुँडालले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?