२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

टानको चुनावमा रस्साकस्सी

कुम्भराज राई

ओखलढुंगा — संघीय सरकारले घोषणा गरेको पर्यटन वर्षको मुखैमा ट्रेकिङ गाइडहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४१ औं अधिवेशन शुक्रबार हुँदैछ । पर्यटन वर्षका लागि महत्त्वपूर्ण भूमिका रहने संस्थाका रूपमा यसलाई हेरिएको छ । 

नेतृत्वका लागि प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी र प्रगतिशील समूहबाट अञ्जन थापाको नेतृत्वमा उम्मेद्वार घोषणा गरिएका छन् । यी दुवै समूहले परिचयात्मक कार्यक्रम भन्दै राजधानीका पाँचतारे होटलमा डिनर सहितको भड्किलो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।


‘संस्थाको महत्त्व पर्यटन वर्षका लागि निकै ठूलो छ । दुःखको कुरा संस्थालाई पदाधिकारीहरूले राजनीति गर्ने थलो मात्र बनाउने गरेका छन् ।’ पुराना एक ट्रेकिङ गाइड पेम्बा शेर्पाले भने, ‘चुनाव अघि लोकप्रिय नारा बनाउने र पदमा पुगेपछि कमाउने धन्दामा मात्र लाग्ने प्रवृत्तिले टानको साख गिर्दो छ ।’


नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका दुवै समूहले विभिन्न बुँदामा आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । ‘गाइडबिना पर्यटकलाई ट्रेकिङको अनुमति नदिने, पदयात्रा अनुमति पत्र जारी गर्नुपर्ने,’ जस्ता मुद्दा अघि सारेका छन् । भरियाको उद्दार, सूचना व्यवस्थापन प्रणाली व्यवस्थित गर्ने, राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रभित्र तिर्नुपर्ने दुई प्रकारका शुल्क हटाई एक प्रकारको मात्र शुल्क तिर्नुपर्ने जस्ता मुद्दा प्रमुख बनाएका छन् ।


कतिपय ट्रेकिङ गाइडहरूले दुई वर्षको कार्यकाल छोटो भएको बताएका छन् । दुईवर्षमा पदाधिकारीले धेरै काम गर्नै नभ्याउने भएकाले हालसम्म उपलब्धिमूलक काम देखाउन नसकेको उनीहरूको भनाइ छ । ‘कम्तीमा तीनदेखि बढीमा पाँच वर्ष सम्मको कार्यकाल थपिनुपर्छ ।’ ट्रेकिङ व्यवसायी बाबु शेर्पाले भने, ‘नत्र दुई वर्षको कार्यकाल त संस्थाको काम सिक्दा सिक्दै परिचयात्मक काममै सकिन्छ ।’


टानका उम्मेद्वारहरूले विभिन्न जोखिमयुक्त हाइपासहरू जस्तै तासी लाप्चा, आम्फु लाप्चा, शेर्पानिकोल, ग्यान्जेला जस्ता उच्च जोखिमका ठाउँहरूलाई सुरक्षित बनाउन सरकार र सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसै गरी साहसिक पदयात्राको गन्तव्य बनाउन सकिने कंचनजंघा, टिपताला, नाङपाला, लामाबगर, मनास्लु, माथिल्लो मुस्ताङ, डोल्पा, हुम्ला लगायतका क्षेत्रमा सरकारलाई पर्यटकीय पदमार्ग घोषणा गराई पूर्वाधार निर्माणसहित नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने बुँदा उल्लेख छन् ।


ट्रेकिङ गाइडहरूको भूमिका पर्यटन वर्षका लागि अत्यन्तै महत्त्वपूर्ण हुने पुराना पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पाको भनाइ छ । ‘विदेशबाट आएका पर्यटकलाई कसरी देशको सकारात्मक सन्देश दिने र स्वागत सत्कार गराएर फेरि आउने बनाउने भन्ने भूमिका गाइडमै हुन्छ ।’ लाक्पाफुटीले भनिन्, ‘हामी धेरै जसो हाम्रो देशको कमजोरी र नकारात्मक पक्ष वर्णन गरेर सुनाउने गर्छौँ । जसको असरले हाम्रो पर्यटनलाई पनि असर गरेको हुन्छ । त्यसैले पहिलो कुरा गाइडहरूलाई सकारात्मक सन्देश प्रवाह गर्न प्रशिक्षित गर्नुपर्ने हुन्छ ।’


टानमा करिब २ हजारको हाराहारीमा ट्रकिङ कम्पनीले सदस्यता लिएका छन् । तर सदस्यता नवीकरणको आधारमा करिब १ हजार ३ सयले मताधिकार प्राप्त गरेका छन् । एक ट्रेकिङ कम्पनी बराबर एकजनाले मत दिन पाउने अधिकार छ ।

प्रकाशित : भाद्र २०, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?