१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्यांकी चुहियो, १३ सय परिवारले पानी पाएनन् 

एलिसा श्रेष्ठ

भोजपुर — दुई महिनादेखि ट्यांकीबाट पानी खेर गइरहेको छ । तर, व्यवस्थापनमा उपभोक्ता समितिको ध्यान गएको छैन । सिलिचुङ खानेपानी उपभोक्ता समितिले भोजपुर नगरपालिका ९, काफलेको घेंगरस्थित खानेपानीको ट्यांकीबाट खेर गइरहेको पानी जोगाउन चासो दिएको छैन ।

सदरमुकामलगायत आसपासका करिब १ हजार ३ सय ८५ घरमा वितरण गर्दै आएको उक्त खानेपानीको दुरुपयोग भएकोमा स्थानीय आक्रोसित बनेका छन् । भोजपुर नगरपालिका १२, टक्सारका अधिकांश बस्तीमा खानेपानी संकट भइरहेका बेला उपभोक्ता समितिले चुहावट भएको खानेपानी ट्याङ्कीको मर्मतसम्भारमा बेवास्ता गरेको गरेको स्थानीयको आरोप छ ।


प्रतिसेकेन्ड करिब डेढ लिटरको गतिले खेर गइरेहेको उक्त खानेपानी करिब साढे ३ सय घरधुरीलाई पुग्ने स्थानीय हेरालु कमला पोखरेलले बताइन् । सदरमुकामदेखि धापखर्क जाने मुलबाटोमै पर्ने उक्त ट्यांकीबाट खेर गइरहेको पानीमा दिनहुँ समितिका पदाधिकारी आउजाउ गर्ने गरे पनि जोगाउन चासो नदेखाएको स्थानीय सम्झना कार्कीले बताइन् ।


‘पानी खेर गइरहेको देखेको २ महिनाभन्दा धेरै भइसक्यो’ उनले भनिन्, ‘दिनहुँ त्यही बाटो भएर समितिका पदाधिकारी हिँड्छन् तर अझैसम्म मर्मत गर्ने सुरसार छैन ।’ ट्यांकी वरपर फोहोर, रूखका जराहरू पलाएको, लेउ लागेको, झाडी उम्रिएको छ ।


समितिले ट्याङ्की मर्मत गर्ने कर्मचारीको अभावमा खानेपानीको व्यवस्थापन गर्न समस्या भएको जनाएको छ । पर्याप्त कर्मचारी नहुँदा समस्या भएको समितिका सचिव विनम श्रेष्ठले बताए । ०७२ सालको महाभूकम्पले खानेपानीको मूल मुहान रहेको भोजपुर नगरपालिका ५, बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँघुका मुहानका सतह क्रमिक घट्न थालेपछि खानेपानी आपूर्तिमा समस्या बढ्दै गएको छ ।


गत वर्ष नै वित्तीय सम्झौताअघि टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्ने तिनभंगालेबाट खानेपानी ल्याउन तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत एसियाली विकास बैंकको समेत सहयोगमा ७० करोड ९१ लाख ९९ हजार १ सय ९४ रुपौयाँ लागतमा आयोजना सञ्चालन गर्न लागिएको थियो ।


भोजपुर नगर खानेपानी तथा सरसफाई आयोजनासँग नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको थियो ।

प्रकाशित : भाद्र २०, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?