कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बाढीसँगै बग्छ बर्सेनि करोडौं

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नदी नियन्त्रणका नाममा बर्षेनि करोडौं रुपैयाँ खर्च गरिन्छ । नदी नियन्त्रणको काम भने प्रभावकारी नहुँदा करोडौ खर्च नदीमा वर्षाको बाढीसँगै बग्ने गरेको टिप्पणी हुने गरेको छ । सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले वर्षौंदेखि त्रियुगा नदी नियन्त्रणका नाममा खर्च गरिरहेका छन् ।

दुई वर्षअघिसम्म जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, सिँचाइ डिभिजन, राष्ट्रपति चुरे मधेस संरक्षण समितिलगायत निकायले नदी नियन्त्रणका लागि करोडौं रुपैयाँ खर्चे । त्यसैगरी पछिल्लो समय स्थानीय, प्रदेश, संघीय सरकारअन्तर्गत जलस्रोतसँग सम्बन्धित कार्यालयले नियन्त्रणका लागि काम गरिरहेका छन् ।


पछिल्लो पटक गत आर्थिक वर्षको अन्तिम समयमा खाडो नदी व्यवस्थापन कार्यालय राजविराजअन्तर्गत झन्डै १० करोड, राष्ट्रपति चुरे मधेस संरक्षण समितिले २ करोडभन्दा बढी र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय उदयपुरले पनि करोडभन्दा बढी नै त्रियुगा नदी नियन्त्रणका लागि खर्च गरे । तर करोडौं रुपैयाँ खर्च भइसक्दा पनि अवस्था उस्तै छ ।


नदी त्रियन्त्रणमा कुन निकायले कति खर्च गरेको छ भन्ने यकिन तथ्यांक स्थानीय तहसँग छैन । नियन्त्रणका लागि काम गर्ने सरकारी निकायले उपभोक्तालाई अघि सारेर गर्ने आर्थिक अनियमितताले बर्सेनि करोडौं बाढीसँगै बग्ने गरेको छ । गत आर्थिक वर्षको असार अन्तिमका खाडो नदी व्यावस्थापन कार्यालयले गरेका १० करोड खर्चबाट पनि नियन्त्रणको गतिलो काम हुन सकेन ।


कर्मचारीले लगत स्टिमेट नै नदिई काम गराउँदा उपभोक्ता समितिले नै जिम्मेवारी र जवाफदेही देखिँदैन । सार्वजनिक खरिद गुरुयोजना पास नभइसकेको अवस्थामा काम गराउर्नै पर्ने तथा समय पनि कम भएको भन्दै नदी नियन्त्रणका लागि बाँध निर्माणको काम उपभोक्ता समितको गठन गरी गरिएको हो । नियमतः उपभोक्ता समितिले काम गर्न मिल्दैन ।


तर सार्वजनिक खरिद गुरुयोजना पास नभइसकेको अवस्थामा काम गराउनैपर्ने तथा समय पनि कम भएकाले उपभोक्ता समितको गठन गरि काम गरिएको खाडो नदी व्यवस्थापन आयोजना राजविराजका तत्कालीन प्रमुख विष्णुदेव यादवले बताउँदै आएका छन् । त्रियुगा नदी व्यवस्थापन आयोजनाको छुट्टै आयोजना कार्यालय नभएको खाडो नदी व्यवस्थापन कार्यालय राजविराजले नै हेर्दै आएको छ । आयोजनाले गत आर्थिक वर्षको अन्तिम समयमा उदयपुरको त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिका र सप्तरीको सप्तकोसी नगरपालिका क्षेत्रमा बाँध निर्माणसँगै ढुंगा र माटो भर्ने काम गरेको थियो ।


आयोजनाले त्रियुगा नगरपालिका क्षेत्रमा करिब २ करोड रुपैयाँमा उपभोक्ता समिति मार्फत १ हजार ७ सय मिटर बाँध, त्यसमा माटो भर्ने र ढुगाजालीको काम गरेको थियो । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा २ किलोमिटर बाँधमा माटो भर्ने, ढुगा जालीको काम गरेको हो । सार्वजनिक ऐनले एउटामात्रै उपभोक्ता समतिले काम गर्न नमिल्ने भएपछि त्रियुगा र चौदण्डीगढी नगरपालिका छुट्टाछुट्टै १७ प्याकेज बनाएर १७ उपभोक्ता समितिमार्फत काम गरिएको थियो ।


त्यसैगरी वेलका नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत ८ सय मिटर बाँध र पुरन्दहमा ३ वटा स्पर बनाइएको आयोजनाले जनाएको छ । यता सप्तरीको सप्तकोसी नगरपालिकामा ४ उपभोक्ता समितिबाट डेढ किलोमिटर बाँध निर्माणका लागि माटो, ढुगा जालीको काम गर्न झन्डै २ करोड भुक्तानी गरिएको छ ।


गत आर्थिक वर्ष त्रियुग नदी नियन्त्रणका लागि झन्डै १० करोड विनियोजन गरिएकोमा सवा ८ करोड रुपैयाँको काम गरिएको आयोजनाले जनाएको छ । त्रियुगा नदी नियन्त्रका लागि गत चैत १२ मा विस्तृत परियोजना अध्यान प्रनिवेदन (डीपीआर) पास भएको थियो । त्यसैको आधारमा पेस गरिएको खरिद गुरुयोजना असारमा आएर पास भएपछि हतारमा काम गरिएको हो ।


कार्यालयले ३ दशमलव ५ मिटर उचाइ, १९ मिटर चौडाइ, लन्चिङ, तेर्सो तारजाली, ग्याबिन बक्स, माटोको चपरी र माथिल्लो भागमा आधा फिट माटो भर्नेलगायतको ७ सय मिटर बाँध निर्माणका लागि ७० लाख रुपैयाँ रहेको भन्दै काम गर्न भनेको चौदण्डीगढी नगरपालिका–५ सिवाईको उपभोक्ता समिति अध्यक्ष रमेश चौधरीले बताए ।


‘तर भनेजस्तो काम गर्न समय नपुगेको र फिल्डमा खटिएका इन्जिनियरले मागरेको २० प्रशित कमिसन दिन नसक्दा भने जति भुक्तानी भएन,’ अध्यक्ष चौधरीले भने, ‘इन्जिनियरले भनेजस्तो रकम दिन नसक्दा काम गरेको भन्दा कम ४५ लाख रुपैयाँ मात्रै भुक्तानी दियो ।’ बाँध निर्माणको अन्य काम सकिए पनि करिब २ सय जालीमा ढुंगा भर्ने काम मात्रै बाँकी रहेको उनले बताए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?