वडाध्यक्ष चढ्ने मोटरसाइकलमा आगजनी

वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिका–७ का वडाध्यक्ष शोभाखर पाण्डे चढ्ने मोटरसाइकल अज्ञात समूहले जलाइदिएका छन् । भगवती घर नजिकै बाटोको डिलमा पार्किङ गरी राखेको लु १ ब १६८८ नम्बरको सरकारी मोटरसाइकल (सेतो प्लेट) मंगलबार बिहान ५ बजेतिर आगजनी भएको प्रहरीले जनायो ।

उनका अनुसार मोटरसाइकल कसले र किन जलायो भन्ने बारेमा खोजी तीव्र पारिएको छ।

वडाध्यक्षसँग व्यक्तिगत रिसिइबीका कारण कसैले वा नेत्रविक्रम चन्द समूहले हुन सक्ने प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आशंका गरे।

प्रकाशित : भाद्र १७, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

नपाक्दै भाँचिए मकै

किसान भन्छन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा कलिलै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थाल्यौं ।’
वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका एवं सन्धिखर्क नगरपालिकाका गाउँलेले मकैका हरिया घोघा नै भाँच्न थालेका छन् । छिप्पिदासम्म बारीमा राख्दा बाँदरले खाइदिने डरले नपाक्दै भाँच्नु परेको छत्रदेव गाउँपालिका ६, ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए ।

बारीमा मकै हेर्दै अर्घाखाँची नरपानीका कृषक । तस्बिर : वीरेन्द्र/कान्तिपुर 

‘भाँच्न लागेका मकैका बोट हरियै छन् । घोगाको पोस्कर आधा मात्रै पाकेको छ,’ उनले भने, ‘भित्र मकैका दाना पुरै छिप्पिसकेका छैनन् । नङगाड्दा दूध आउँछ । बाँदरलाई खुवाउनुभन्दा बरू काँचै भाँच्न ठीक लागेर हरियै भाँच्न लागेका हौं ।’

सन्धिखर्क नगरपालिका ४, वाङलाकी मुना अधिकारीको बारीमा वर्षमा ८ मुरी मकै फल्थ्यो । पोस्करसितै सोलीमा राखेर हिउँदमा बल्ल मकै छोडाउँथिन् । फुर्सदका बेला मकैका दाना छुट्याएर सुकाउने र मिलमा लगेर पिसेर आफूहरूले आटो खाने र भैंसीलाई कुँडो खुवाउने गर्थिन् । ‘२ वर्षअघिसम्म असार/साउनसम्म पुराना मकैको आटो खाइन्थ्यो । अहिले त पुस/माघमै सकिन्छ,’ उनले भनिन्, ‘घोगा राम्ररी नपाक्दै भित्र्याएपछि दाना चाउरी पर्छन्, किरा लागेर आधा खाइदिन्छ र आटो, पिठो पनि खाँदा स्वादिलो हुँदैन ।’

घोगा छिप्पिंदासम्म त बारीमा मकै नै रहँदैन । ‘घरमा छोराछोरी र ममात्रै छु, श्रीमान् विदेश हुनुहुन्छ, बिहानभर खाना पकाएर नानीबाबुलाई स्कुल पठाउनै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा काँचै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थालेकी हुँ ।’

एउटा/दुईवटा मात्रै बाँदर छैनन् । ठूलै बगाल छ । कति बेला कताबाट पसेर मकै खाइदिन्छ भन्ने चिन्ता छ । बाँदर रुखमा बस्छ । जंगलमा लुकेर बसेको बाँदरलाई लेखेटन सम्भव छैन । ‘बाँदरको बिगबिगीले हैरानै पारेको छ,’ छत्रदेव मढेलचौरका कृष्ण पाण्डेले भने, ‘बारीको छेउमा कपडाको नक्कली मान्छे बनाएर राखेका छौं । झ्याप्पै बारीमा बाँदर पस्न नसकोस् भनेर । बारीमा मान्छे नदेखे पसेर छिनभरमै नोक्सान गरिहाल्छ ।’

यो दुःखबाट आजित भएरै बारीबाट काँचै मकै भाँच्न सुरु गरिएको उनले बताए । असोजतिर भाँच्ने समय हो । त्यतिबेला मकैको बोट पूरै सुकेको हुन्छ । घोघाको दाना छिप्पेको हुन्छ । तर, बाँदरले खाइदिने डरले अहिले नै भाँच्न सुरु गरेको उनको भनाइ छ । घरदेखि टाढा जंगल र खर्‍यानको नजिकका बारीका मकै अहिले नभाँच्ने हो भने असोजसम्म एउटा घोगा पनि देख्न नपाइने उनले सुनाए ।

छिप्पिसकेका दाना घाममा सुकाएपछि किरा लाग्दैन । आधा काँचो मकैमा चिलेसा, ढुसी लाग्ने गर्छ । मकै मात्रै नभएर बारीका फर्सी, सिमी, बोडी, घिरौलालगायत तरकारी पनि बाँदरले नोक्सान गरिदिने वाङलाका भुवन श्रेष्ठले बताए । हिउँदे बाली पनि खाइदिन्छ । वर्षदिन दुःख गरी ६ महिनालाई खान पुग्ने अन्नबाली नै बाँदरको आहारा भएपछि गाउँमा बस्न गाह्रो भएको उनले सुनाए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्