१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रोगको संक्रमणले मासिँदै परेवा

(इलाम) — काठैकाठले बनेको संरचनाबाट एकैसाथ सयौं परेवा उड्दा देखिने रोमाञ्चक दृश्य हिजोआज देख्न पाइँदैन । इलामको पहिचानका रूपमा रहेका परेवा रोगको संक्रमणका कारण धमाधम मर्न थालेका छन् । धार्मिक र पर्यटकीय महत्त्वका क्षेत्रमा रहेका परेवा सखाप नै हुन लाग्दा रोग नियन्त्रणका लागि ठोस पहल हुन सकेको छैन ।

रोगको संक्रमणले मासिँदै परेवा

बजारको मध्यभागमा रहेको परेवाको मुख्य बासस्थानमा सयौंको संख्यामा देखिने परेवा अचेल नगण्य मात्र देखिन्छन् । पहिले चोकै ढाक्ने गरी परेवा हुन्थे । ‘चोक बजार क्षेत्रदेखि माइस्थान क्षेत्रसम्म जतासुकै परेवा देखिन्थे,’ चोकबजारमा शैलुन सञ्चालन गर्दै आएका शंकर ठाकुरले भने, ‘अहिले आधाभन्दा धेरै घटेका छन् ।’


मुन्टो बटार्ने, झोक्राएर बस्ने, हरियो दिसा गर्ने जस्ता लक्षणले परेवा मरेका हुन् । यस्तो लक्षण देखिएको परेवा ३ दिनभित्र मर्ने गरको स्थानीय बताउँछन् । रोगको संक्रमणले भेटेपछि चारो नखाने अनि बासस्थानमा पनि जान नसक्ने भएकाले सडकमा नै मर्ने गरेका छन् ।


अहिले परेवामा देखिएको संक्रमण रानिखेत भएको भेटनरी प्राविधिकको भनाइ छ । जिल्लामा थप परीक्षणका लागि ल्याव नभएकाले अन्यत्र पठाउनु पर्ने अवस्था छ । ‘प्रारम्भिक अध्ययनमा रानीखेत भएको देखिएको हो,’ प्राविधिक सन्तोष मगरले भने, ‘थप परीक्षणका लागि अन्यत्र ल्यावमा पठाउने तयारीमा छौं ।’ उनका अनुसार मरेका परेवामा आन्द्रामा र जाँते नजिकैको भागमा घाउ देखिने गरेको छ । कुखुरालगायत अन्य पन्छीमा भने यो रोग नदेखिएको उनले बताए । समस्या सुरु भएपछि नियन्त्रणका लागि चारो र पानीमा औषधि दिन थालिएको छ । यसका कारण केही नियन्त्रण भएको उनले बताए । तर स्थानीयले भने तत्काल विशेष अध्ययन गरेर परेवा बचाउनु पर्ने माग गरेका छन् ।


‘एक त इलामको पहिचान र धार्मिक आस्थामा नै ठेस पुगेको छ भने परेवाबाट कुखुरा हुँदै मान्छेमा पनि संक्रमण फैलने खतरा हुनसक्छ,’ स्थानीय अञ्जु श्रेष्ठले भनिन्, ‘नगरपालिका र सरोकारवाला निकायले समस्या पत्ता लगाएर समाधानको उपाय गर्न ढिलो गर्नु हुँदैन ।’


धार्मिक आस्थाले विभिन्न स्थानमा चडाइने गरेका परेवाको जमघट इलाममा हुने गरेको हो । सवारी साधनले एउटा परेवा मर्दा एक पटकको चारो किन्नु पर्ने प्रावधान छ । त्यस्तै चारोको जाहो गर्न माइस्थान धार्मिक विकास समिति लगायत केही सामाजिक संघसंस्थाले पनि कोष नै खडा गरेका छन् । तर यही अवस्थामा परेवा मर्ने क्रम रहने हो भने अब एक सातामा सबै सकिने स्थानीयले बताए ।


‘समितिका तर्फबाट रोग निदान गर्दै परेवा जोगाउन सक्दो पहल गरेका छौं,’ माइस्थान धार्मिक विकास समितिकी कोषाध्यक्ष सुनिता कर्मचार्यले भनिन्, ‘तर यति मात्र पर्याप्त देखिएको छैन ।’

प्रकाशित : भाद्र १५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?