फेरिँदै इनरुवा अस्पताल

विज्ञ चिकित्सकको प्रतीक्षामा स्थानीय
जितेन्द्र साह

सुनसरी — समर्पणका साथ काम गरे के हुन्न ? यसको उदाहरण हो, सुधारपथमा अग्रसर ८५ वर्ष पुरानो सुनसरीको इनरुवा अस्पताल । ५० शय्याको अस्पतालमा प्रसूति एकाइ, बहिरङ्ग, आकस्मिक कक्ष र प्रयोगशालामा अचेल बिरामी भभिभराउ हुन्छन् ।

फेरिँदै इनरुवा अस्पताल

डेढ वर्ष अघिसम्म स्थानीयले आधारभूत उपचार सेवाका लागि समेत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वा विराटनगरका अस्पतालमा पुग्नु पर्थ्यो । सामान्य प्रसूति सेवा मात्र यहाँ उपलब्ध थियो । तीन महिनादेखि यहाँ प्रसूतिसम्बन्धी जटिल शल्यक्रिया हुन थालेको छ ।


‘एसी, शुद्ध पानी, पंखा, राम्रा चिकित्सक र राम्रो सेवा दिने नर्स हुनुहुन्छ,’ सुनसरीको कोसी गाउँपालिका ३ की २० वर्षीया ललिता मेहताले भनिन्, ‘अपरेसन गरेर शिशु जन्माउनु पर्दा पहिलेपहिले यहाँका दिदीबहिनी विराटनगर वा धरान जानुपर्थ्यो ।’ चिकित्सकले तोकेको मितिभन्दा एक साता नाघिसकेपछि पनि शिशु नजन्मिएपछि मेहताको शल्यक्रिया गरी आमा र शिशुलाई बचाएको बरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाहले बताए ।


चार वर्ष अगाडि यो अस्पतालमा कायम कामु मेडिकल सुपरिन्टेन्डेन्ट हुँदा डा शाहले नै ९ लाख रुपैयाँ बजेट निकासा गरी प्रसूति एकाइ खडा गरेका थिए । उनले आफ्नै नेतृत्वमा चार जनाको दक्ष टोली बनाई इनरुवा अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रिया सुरु गरेका हुन् ।


अस्पतालमा यो सेवा सुरु भए यता ११ भदौसम्म २४ आमाले शल्यक्रियामार्फत शिशु जन्माएको डा.शाहले जानकारी दिए । यहाँ मासिक औषत १ सय ४६ जनाले सामान्य ढंगले शिशुलाई जन्म दिन्छन् ।


प्रदेश १ सरकारको मातहतमा यो अस्पताल सञ्चालित छ । तर नगरपालिका कार्यालय एवं स्थानीयले यसको स्तरवृद्धिलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । ‘प्रदेश सरकारको मुख ताकेर बस्दैनौं, यो हाम्रो अस्पताल हो, हामीले नै बनाउनु पर्छ,’ इनरुवाका मेयर राजन मेहताले भने, ‘सेवाग्राहीले ठिकसँग उपचार पाए/नपाएको बेलाबेलामा आफैं गएर हेर्छु ।’


उनले अस्पतालको प्रसूति विभागको तीन कक्षमा तीन एसी, दुई पंखा, टायल र औषधि उपलब्ध गराएका छन् । मेहताले नगरपालिकाकै बजेटबाट अस्पताललाई डेंगु किट उपलब्ध गराए । ‘सबै नागरिकको स्वास्थ्य बिमा र सुलभ उपचार मेरो प्रमुख लक्ष्य हो,’ उनले भने ।


ज्वरो र वान्ताका कारण ८ महिने शिशुलाई आकस्मिक कक्षमा भर्ना गरेका इनरुवा नगरपालिका–४ का काठमिस्त्री ४४ वर्षीय प्रदीप शर्माले पहिलेको तुलनामा अस्पताल सुध्रिएको र चिकित्सकले तत्परता देखाएको बताए । ‘बिमा गरेकाले उपचार खर्च लागेन,’ शर्माले भने, ‘सोचेभन्दा राम्रो सेवा पाएँ ।’


इनरुवा–२ की ४५ वर्षीया झुमा पोखरेलले अस्पतालले सुरु गरेको सुधार प्रयासले निरन्तरता पाउनु पर्ने बताइन् । उनी रक्तचाप जचाउन महिनामा एक पटक यहाँ आउँछिन् । ‘दरबन्दी अनुरूपको विशेषज्ञ चिकित्सक नभएर अझैं पनि अधिकांश सामान्य उपचारका लागि मात्र यहाँ आउँछन्,’ उनले भनिन्, ‘स्वास्थ्य बिमा गराए पनि अति आवश्यक औषधि पाइन्न, किन्नु पर्छ, यतातिर पनि अस्पतालको ध्यान जानुपर्छ ।’


पेटकी बिरामी श्रीमतीलाई लिएर अस्पताल आएका इनरुवा–३ का सुमन राईले ओपीडी र इमरजेन्सी कक्षमा चिकित्सक एवं स्थास्थ्यकर्मीको बाक्लै उपस्थिति देखिएको बताए । ‘तर, हड्डी रोग विशेषज्ञ नहुँदा ठूला दुर्घटनामा हातखुट्टा भाँचिएकालाई अन्यत्र नै पठाउँछन्,’ उनले भने ।


अस्पतालमा दैनिक औषत २ सय बिरामी आउँछन् । तीमध्ये ६५ सेवाग्राहीले प्रयोगशालाको सेवा लिएका हुन्छन् । अस्पतालमा असारमा मात्रै कुकुर, बाँदर र बिरालोले टोकेर १ सय ६० जना उपचारका लागि आएका थिए । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य सहायक गुणानन्द झाले सबैभन्दा बढी कुकुरले टोकेर आउने गरेको बताए ।


‘यो अस्पताल रेबिज उपचारको केन्द्र नै हो,’ झाले भने, ‘दिनको ४/५ जना आउँछन् ।’ सर्पले टोकेर आएका ३४ जनालाई गत वर्ष र चार जनालाई यस वर्ष बचाइएको उनले जानकारी दिए ।


दरबन्दी अनुरूप विशेषज्ञ चिकित्सक आए बिरामीको संख्या निःसन्देह चार गुणाले बढ्ने अस्पतालका मेडिकल रेकर्ड अधिकृत लोकेन्द्र आचार्यले बताए । अस्पतालमा मेसुको दरबन्दी भए पनि निमित्तले काम चलाइएको छ । सरकारी दरबन्दी भए पनि बालरोग विशेषज्ञ करारमा कार्यरत छन् ।


अस्पतालमा शल्यक्रिया, हड्डी, मानसिक रोग, बरिष्ठ एनेस्थेसियालाजिस्ट, फिजिसियन, अल्ट्रासाउन्ड, मेडिकल अधिकृत, फिजियोथेरापी, बरिष्ठ नर्सिङ अधिकृत, दाँत रोग, बायो मेडिकल टेक्निसियन र एनेस्थेसिया सहायकको दरबन्दी खाली छ । ३० जनाको दरबन्दीमा १३ पद रिक्त छन् ।


अस्पतालले ६ एमबीबीएस चिकित्सक, दुई डेन्टल सर्जन र बरिष्ठ ल्याब प्राविधिक करारमा राखेको छ । अस्पताल विकास समितिले ५ स्वास्थ्यकर्मी, ८ प्रशासनिक कर्मचारी र २ कार्यालय सहायक नियुक्त गरेको छ । यो बाहेक उसले स्वास्थ्य प्राविधिक र कार्यालय सहयोगी गरी २४ जना स्वयंसेवी कर्मचारी छन् ।


प्रयोगशालमा आधुनिक उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा हर्मोनसम्बन्धी परीक्षण हुन नसकिरहेको आचार्यले प्रष्टयाए । उनले भने, ‘जसरी भए पनि विज्ञहरू झिकाउने प्रयासमा प्रदेश र संघीय सरकारको सरोकारवाला मन्त्रालयमा धाइरहेका छौं ।’


निमित मेसु बिना शाक्यले प्रसूति विभागमा शल्यक्रिया र प्रयोगशालाको आधुनिकीकरणबाट अस्पतालमा स्तरोन्नतिको शुभारम्भ भइसकेको बताइन् । ‘सरकारसँग लिखित एवं मौखिक रूपमा दरबन्दी अनुसार विज्ञ चिकित्सक पठाउन निरन्तर तागेता गरिरहेका छौं,’ उनले भनिन्, ‘विशेषज्ञ चिकित्सकको आगमनसँगै अस्पतालले पुरै काँचुली फेर्नेछ ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?