फेरिँदै इनरुवा अस्पताल

विज्ञ चिकित्सकको प्रतीक्षामा स्थानीय
जितेन्द्र साह

सुनसरी — समर्पणका साथ काम गरे के हुन्न ? यसको उदाहरण हो, सुधारपथमा अग्रसर ८५ वर्ष पुरानो सुनसरीको इनरुवा अस्पताल । ५० शय्याको अस्पतालमा प्रसूति एकाइ, बहिरङ्ग, आकस्मिक कक्ष र प्रयोगशालामा अचेल बिरामी भभिभराउ हुन्छन् ।

डेढ वर्ष अघिसम्म स्थानीयले आधारभूत उपचार सेवाका लागि समेत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वा विराटनगरका अस्पतालमा पुग्नु पर्थ्यो । सामान्य प्रसूति सेवा मात्र यहाँ उपलब्ध थियो । तीन महिनादेखि यहाँ प्रसूतिसम्बन्धी जटिल शल्यक्रिया हुन थालेको छ ।

‘एसी, शुद्ध पानी, पंखा, राम्रा चिकित्सक र राम्रो सेवा दिने नर्स हुनुहुन्छ,’ सुनसरीको कोसी गाउँपालिका ३ की २० वर्षीया ललिता मेहताले भनिन्, ‘अपरेसन गरेर शिशु जन्माउनुपर्दा पहिलेपहिले यहाँका दिदीबहिनी विराटनगर वा धरान जानुपर्थ्यो ।’ चिकित्सकले तोकेको मितिभन्दा एक साता नाघिसकेपछि पनि शिशु नजन्मिएपछि मेहताको शल्यक्रिया गरी आमा र शिशुलाई बचाएको बरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाहले बताए ।

चार वर्ष अगाडि यो अस्पतालमा कायम कामु मेडिकल सुपरिन्टेन्डेन्ट हुँदा डा शाहले नै ९ लाख रुपैयाँ बजेट निकासा गरी प्रसूति एकाइ खडा गरेका थिए । उनले आफ्नै नेतृत्वमा चार जनाको दक्ष टोली बनाई इनरुवा अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रिया सुरु गरेका हुन् ।

अस्पतालमा यो सेवा सुरु भए यता ११ भदौसम्म २४ आमाले शल्यक्रियामार्फत शिशु जन्माएको डा.शाहले जानकारी दिए । यहाँ मासिक औषत १ सय ४६ जनाले सामान्य ढंगले शिशुलाई जन्म दिन्छन् ।

प्रदेश १ सरकारको मातहतमा यो अस्पताल सञ्चालित छ । तर नगरपालिका कार्यालय एवं स्थानीयले यसको स्तरवृद्धिलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । ‘प्रदेश सरकारको मुख ताकेर बस्दैनौं, यो हाम्रो अस्पताल हो, हामीले नै बनाउनु पर्छ,’ इनरुवाका मेयर राजन मेहताले भने, ‘सेवाग्राहीले ठिकसँग उपचार पाए/नपाएको बेलाबेलामा आफैं गएर हेर्छु ।’

उनले अस्पतालको प्रसूति विभागको तीन कक्षमा तीन एसी, दुई पंखा, टायल र औषधि उपलब्ध गराएका छन् । मेहताले नगरपालिकाकै बजेटबाट अस्पताललाई डेंगु किट उपलब्ध गराए । ‘सबै नागरिकको स्वास्थ्य बिमा र सुलभ उपचार मेरो प्रमुख लक्ष्य हो,’ उनले भने ।

ज्वरो र वान्ताका कारण ८ महिने शिशुलाई आकस्मिक कक्षमा भर्ना गरेका इनरुवा नगरपालिका–४ का काठमिस्त्री ४४ वर्षीय प्रदीप शर्माले पहिलेको तुलनामा अस्पताल सुध्रिएको र चिकित्सकले तत्परता देखाएको बताए । ‘बिमा गरेकाले उपचार खर्च लागेन,’ शर्माले भने, ‘सोचेभन्दा राम्रो सेवा पाएँ ।’

इनरुवा–२ की ४५ वर्षीया झुमा पोखरेलले अस्पतालले सुरु गरेको सुधार प्रयासले निरन्तरता पाउनु पर्ने बताइन् । उनी रक्तचाप जचाउन महिनामा एक पटक यहाँ आउँछिन् । ‘दरबन्दी अनुरूपको विशेषज्ञ चिकित्सक नभएर अझैं पनि अधिकांश सामान्य उपचारका लागि मात्र यहाँ आउँछन्,’ उनले भनिन्, ‘स्वास्थ्य बिमा गराए पनि अति आवश्यक औषधि पाइन्न, किन्नु पर्छ, यतातिर पनि अस्पतालको ध्यान जानुपर्छ ।’

पेटकी बिरामी श्रीमतीलाई लिएर अस्पताल आएका इनरुवा–३ का सुमन राईले ओपीडी र इमरजेन्सी कक्षमा चिकित्सक एवं स्थास्थ्यकर्मीको बाक्लै उपस्थिति देखिएको बताए । ‘तर, हड्डी रोग विशेषज्ञ नहुँदा ठूला दुर्घटनामा हातखुट्टा भाँचिएकालाई अन्यत्र नै पठाउँछन्,’ उनले भने ।

अस्पतालमा दैनिक औषत २ सय बिरामी आउँछन् । तीमध्ये ६५ सेवाग्राहीले प्रयोगशालाको सेवा लिएका हुन्छन् । अस्पतालमा असारमा मात्रै कुकुर, बाँदर र बिरालोले टोकेर १ सय ६० जना उपचारका लागि आएका थिए । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य सहायक गुणानन्द झाले सबैभन्दा बढी कुकुरले टोकेर आउने गरेको बताए ।

‘यो अस्पताल रेबिज उपचारको केन्द्र नै हो,’ झाले भने, ‘दिनको ४/५ जना आउँछन् ।’ सर्पले टोकेर आएका ३४ जनालाई गत वर्ष र चार जनालाई यस वर्ष बचाइएको उनले जानकारी दिए ।

दरबन्दी अनुरूप विशेषज्ञ चिकित्सक आए बिरामीको संख्या निःसन्देह चार गुणाले बढ्ने अस्पतालका मेडिकल रेकर्ड अधिकृत लोकेन्द्र आचार्यले बताए । अस्पतालमा मेसुको दरबन्दी भए पनि निमित्तले काम चलाइएको छ । सरकारी दरबन्दी भए पनि बालरोग विशेषज्ञ करारमा कार्यरत छन् ।

अस्पतालमा शल्यक्रिया, हड्डी, मानसिक रोग, बरिष्ठ एनेस्थेसियालाजिस्ट, फिजिसियन, अल्ट्रासाउन्ड, मेडिकल अधिकृत, फिजियोथेरापी, बरिष्ठ नर्सिङ अधिकृत, दाँत रोग, बायो मेडिकल टेक्निसियन र एनेस्थेसिया सहायकको दरबन्दी खाली छ । ३० जनाको दरबन्दीमा १३ पद रिक्त छन् ।

अस्पतालले ६ एमबीबीएस चिकित्सक, दुई डेन्टल सर्जन र बरिष्ठ ल्याब प्राविधिक करारमा राखेको छ । अस्पताल विकास समितिले ५ स्वास्थ्यकर्मी, ८ प्रशासनिक कर्मचारी र २ कार्यालय सहायक नियुक्त गरेको छ । यो बाहेक उसले स्वास्थ्य प्राविधिकर कार्यालय सहयोगी गरी २४ जना स्वयंसेवी कर्मचारी छन् ।

प्रयोगशालमा आधुनिक उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा हर्मोनसम्बन्धी परीक्षण हुन नसकिरहेको आचार्यले प्रष्टयाए । उनले भने, ‘जसरी भए पनि विज्ञहरू झिकाउने प्रयासमा प्रदेश र संघीय सरकारको सरोकारवाला मन्त्रालयमा धाइरहेका छौं ।’

निमित मेसु बिना शाक्यले प्रसूति विभागमा शल्यक्रिया र प्रयोगशालाको आधुनिकीकरणबाट अस्पतालमा स्तरोन्नतिको शुभारम्भ भइसकेको बताइन् । ‘सरकारसँग लिखित एवं मौखिक रूपमा दरबन्दी अनुसार विज्ञ चिकित्सक पठाउन निरन्तर तागेता गरिरहेका छौं,’ उनले भनिन्, ‘विशेषज्ञ चिकित्सकको आगमनसँगै अस्पतालले पुरैकाँचुली फेर्नेछ ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फस्टायो गाँजा खेती

रमेशचन्द्र अधिकारी

धनकुटा — लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजा खेतीको उत्पादन, तयारी, खरिद बिक्री–वितरण, निकासी वा पैठारी तथा ओसार–पसार र सञ्चय वा सेवन गर्न निषेध गरिएको छ । तर, अवैध भनिएको गाँजा खेती भने नियन्त्रणमा आउन सकेको छैन ।

चार वर्षको अवधिमा धनकुटामा २ लाख ७० हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको प्रहरीको रेकर्डमा छ । बर्सेनि फँडानी गरेको सूची थपिने गर्छ । गाँजा जब हुर्किन्छ, तब सुरक्षाकर्मीले यसको बोट नष्ट गर्दै आएको उसको दाबी छ ।

तर, बर्सेनि गाँजाको उत्पादनमा कमी भने आएको छैन । सुरक्षाकर्मीले गाँजा फडानी गर्ने र सर्वसाधारणले उत्पादन गर्ने कार्य निरन्तर चलिरहेको छ । २०७२ सालमा ७ सय ८७ रोपनीमा लगाइएको गाँजा नष्ट गरिएको थियो । त्यस वर्ष १ लाख १९ हजार १ सय १५ गाँजाको नष्ट गरिएको प्रहरीको दाबी छ ।

२०७३ सालमा सहिदभूमि र साँगुरीगढी गाउँपालिपालिकाबाट १५ हजार २ बोट नष्ट गरियो । २०७४ मा पनि १५ हजार १ सय ३ र २०७५ मा १ लाख ११ हजार ५ सय ८५ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका आधारमा पनि प्रत्येक वर्ष गाँजा फडानी गर्नेक्रम बढेको देखिन्छ । तर, बर्सेनि फडानी गरिएको गाँजाको बोटको संख्या नियाल्दा पनि यसको खेती विस्तार भएको पुष्टि हुन्छ । जिल्लाका कयौं स्थानमा अझै पनि व्यावसायिक खेती हुँदै आएको छ ।
गत आर्थिक वर्षमा प्रहरीले जिल्लाको विभिन्न भागबाट १ सय ७ केजी ७५ ग्राम गाँजा बरामद गरेको छ । जिल्लाको साविक छिन्ताङ हालको सहिदभूमि गाउँपालिकाका प्रायः वडापिच्छे नै गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ । उक्त पालिकामा प्रत्येक वर्ष गाँजा फँडानी हुने गरेको जिल्ला प्रहरी प्रमुख सुदर्शनप्रसाद कोइरालाले बताए । उनले भने, ‘जनचेतनाको कमीले यसको खेती आयआर्जनको स्रोतका रूपमा नै हुने गरेको पाइएको छ ।’ विद्यालय र समुदायमा सचेतना अभियान गरिँदै आए पनि गाँजा खेती नियन्त्रण हुन नसकेको उनले स्विकारे ।

सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईका अनुसार ७ वडा रहेको पालिकाका सबैजसो वडामा गाँजा खेती गरिँदै आएको छ । चार वर्षअघि र अहिलेको अवस्थामा उक्त गाउँपालिकामा गाँजा खेतीमा कमी आएको राईको दाबी छ । अन्य सबैमा गाँजा खेती गरिए पनि नं. १ र २ सबैभन्दा प्रभावित वडा रहेको राईले बताए । अरुण र तमोर नदीको किनार क्षेत्रमा यसको व्यावसायिक खेती उल्लेख्य हुँदै आएको छ ।

नियन्त्रण प्रयासमा गाउँपालिका जुटदै आएको भए पनि अझै अपेक्षाकृत नियन्त्रण भइनसकेको उनको भनाइ छ । ‘खेती गर्नेले गरिरहेका छन्’, उनले भने, ‘यो जुवा जस्तै अवस्थामा छ, सुरक्षाकर्मीले नष्ट गरे गर्छन्, नत्र बिक्रीबाट आम्दानी हात पर्छ ।’ पालिकाले तरकारी लगायत वैकल्पिक खेतीका लागि पकेट क्षेत्र घोषणा गर्दै स्थानीयबासीलाई त्यसतर्फ आकर्षित गर्ने प्रयास थालेको राईले बताए ।

जिल्लाको साँगुरीगढी गाउँपालिका, पाख्रिबास नगरपालिका तथा चौबीसे क्षेत्रका केही स्थानमा पनि गाँजा खेती गरिने सुरक्षा स्रोतले जनाएको छ । सुरक्षाकर्मीले गाँजा फाड्ने काम खास प्रभावकारी नभएको स्थानीयले गुनासो गरे । बर्सेनि फाँड्न जाने परम्परा बनेको स्थानीय लोकेन्द्र केसी बताउँछन् । तँ रोए जस्तै गर, म कुटे जस्तै गर्छु भन्ने अवस्था रहेको उनको भनाइ छ ।

पक्राउ पर्नेमा युवा
प्रहरीले प्रायः महिनैपिच्छे गाँजा बरामत गर्दै आएको छ । मुलघाट आसपासको स्थान गाँजा ओसारपसार गर्ने मुख्य नाका रहेको छ । ती स्थानमा कतिपय बेवारिसे अवस्थामा गाँजा फेला पर्ने प्रहरीले जनाएको छ । केही ओसार–पसारमा सम्लग्न समेत पक्राउ गरिएका छन् । हालसम्म पक्राउ पर्नेमा अधिकांश युवा छन् ।

प्रहरीको रेकर्डमा पक्राउ पर्नेमा हालसम्म २० देखि ३५ वर्ष उमेर समूहका छन् । अघिल्लो वर्षमा १२ वटा लागु औषध मुद्दा रहेको जिल्ला अदालत स्रोतले जनाएको छ । जसमध्ये १० वटा गाँजासम्बन्धी मुद्दा रहेको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए । पक्राउ परेकामध्ये अधिकांश युवा उमेरका रहेको उनले जानकारी दिए ।

अधिकांशले मोटरसाइकलमा गाँजा ओसार्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए । प्रहरीले नियन्त्रणमा लिएका सबैजसो युवा रहेको खतिवडाले जानकारी दिए । यसक्रममा १ देखि ४० केजी गाँजा सहित पक्राउ गरिएको उनले बताए । पक्राउ पर्ने अधिकांसले बिक्रीका लागि (पोलेन्ड नामको) मेसिनबाट प्रशोधन गरेको गाँजा प्रहरीले फेला पारेको छ ।

बरामत गरिएको गाँजा मध्ये ३ ग्राम विधि विज्ञान प्रयोगशाला, ३ ग्राम अदालत र ३ ग्राम प्रहरी अनुसन्धान अधिकृतले राख्ने गरेका छन् । अन्य भने अदालत, जनप्रतिनिधि लगायतको रोहवरमा नष्ट गर्ने गरिएको प्रहरीले जनाएको छ ।

'फाँड्न बजेट छैन’
एकातर्फ गाँजा खेती बढदै गएको छ । अर्कोतर्फ नियन्त्रणका लागि आवश्यक बजेट अभाव रहेको प्रशासनले जनाएको छ । गृह मन्त्रालयबाट २०७२ तथा २०७३ सालमा गाँजा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयमा ५० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस यता भने उक्त शीर्षकमा कुनै बजेट प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए ।

बजेट नभए पनि सुरक्षा निकायको आफ्नै प्रयासले गाँजा खेती गरिएको स्थानमा बर्सेनि फडानी गरिँदै आएको उनको भनाइ छ । गाँजा फाड्न सम्लग्न सुरक्षाकर्मीलाई खाजा खाने समेत बजेट नरहेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT