फौजी किराले मकै सखाप

कान्तिपुर संवाददाता

भोजपुर — फौजी किराको प्रकोपले हतुवागढी गाउँपालिका क्षेत्रमा मकैबाली सखाप भएको छ । जेठ असारमा खडेरीले बर्खे मकै फस्टाएको थिएन । हिउँदे मकैमा फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका छन् ।

मकै खेतीका लागि निकै घातक मानिएको फौजी किराको प्रकोप भोजपुरमा देखिएको छ । बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । गाउँपालिकाका वडा १, २, ५ र ६ का रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखालगायत छिमकी आमचोक गाउँपालिकाका केही क्षेत्रमा पनि फौजी किराको बढी प्रकोप देखिएको छ ।

प्रकोपले गाउँपालिका क्षेत्रका करिब सवा ८ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट गरेको छ । खडेरीले बर्खे मकै मरेपछि मासेर लगाएको हिउँदे मकैमा पनि फौजी किराले सास्ती दिएको हतुवागढी गाउँपालिका १, रानीबास हर्काका किसान पदमबहादुर बस्नेतले बताए ।

किसानका अनुसार ठूलो समूहमा आएर घाम लागेका बेला मकैको गुबोभित्र पसेर खाने, रातमा कलिला पात खाए मकैको बोट सखाप पारेका छन् । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने लुङ्गेनका अर्का स्थानीय कृषक राजेन्द्र राईले बताए । हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किराको प्रकोप समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।

गाउँपालिकाका कृषकको मकै बाली फौजी किराले सखाप पार्न थालेपछि गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिका कृषि प्राविधिक खटाई अनुसन्धान गरी प्रकोप नियन्त्रणका लागि आवश्यक पहल थालिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

खेतबारीमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढदै जाँदा किसानहरू अन्य बालीनाली, रुखबिरुवा, बस्तुभाउमा समेत क्षति पुर्‍याउने सन्त्रास पनि फैलिएको वडा २ का वडाध्यक्ष विचारी थापाले बताए । उनका अनुसार गाउँपालिकाले कीराको पहिचान गर्न र तत्काल समस्या समाधानका लागि प्रभावित क्षेत्रमा कृषि प्राविधिक टोली खटाइएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

१० किमि सडक छिचोल्न ६ घण्टा

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको टुटेदेउरालीबाट संखुवासभाको मुडेशनिश्चरे जोड्ने १० किमि सडक ठेकेदारको लापरबाहीका कारण यात्रुले कष्ट व्यहोर्नु परेको छ । नेपाली भूभाग भएर भारत र चीन जोड्ने यो सडक निर्माण र स्तरोन्नतीमा ठेकेदारले लापरबाहीपूर्ण तरकारीले काम गर्दा यात्रुले दुःख पाएका हुन् । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले निर्माण गरिरहेको जोगबनी–किमाथाङ्का राजमार्गको टुटेदेउरालीदेखि मुडेशनिश्चरे बजारसम्मको १० किमि सडक पार गर्न सवारी साधनलाई ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय छिरिङ शेर्पाले बताए ।

१० किमि यो सडक कालोपत्रे गर्न ०७३ भदौमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरले जिम्मा लिएको सडक डिभिजन कार्यालय तुम्लिङाटार संखुवासभाका प्रमुख कुबेर नेपालीले बताए । २६ करोड रुपैयाँ लागतमा ०७५ भदौ मसान्त सम्ममा सम्पूर्ण काम सक्ने गरी याक्थुम्हाङ निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

निर्धारित समयमा काम सम्पन्न नगरेपछि ०७५ चैत मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय संखुवासभाले जनाएको छ ।

दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नगरेपछि सो निर्माण सेवालाई गत साउनमा १४ लाख ५० रुपैयाँ हजार जरिवाना तिराएको सडक डिभिजन प्रमुख नेपालीले बताए ।

संखुवासभाको धर्मदेवी नगरपालिका क्षेत्रमा पर्ने यो सडकमा हिलो र खाल्डो परेर ट्याक्टर समेत गुढ्न नसक्ने अवस्था भएको मुडेशनिश्चरे बजारका व्यापारी दिलबहादुर श्रेष्ठले बताए । सडक हिलो र खाल्डो परेका कारण १० किमि सडक पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले पीडा सुनाए । हिलाम्मे सडकमा भासिएका सवारी निकाल्न नसक्दा आहोर दोहोरमै समस्या भएको उनले बताए ।

सदरमुकाम खाँदबारी, चैनपुर लगायतका क्षेत्र बाट पूर्वी तराई र काठमाडौं तर्फ आउने र त्यसतर्फ हिंडेका सवारी समेत घण्टौंसम्म हिलोमा भासिएर रोकीने गरेका छन् ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्