चन्द समूहका जिल्ला कमिटी सदस्य प्रहरीबाट छुट्नासाथ नेकपामा प्रवेश

आनन्द गौतम

ताप्लेजुङ — नेत्र विक्रम चन्द समूहका जिल्ला कमिटी सदस्य  विजय फेम्वू नेकपामा प्रवेश गरेका छन् । साउन २१ गते प्रहरीले गिरफ्तार गरेका उनी हिरासतवाट निस्कनासाथ सत्तासिन दलमा प्रवेश गरेका हुन् । 

फेम्वूलाई बुधबार औपचारिक कार्यक्रम गरेर पार्टी प्रवेश गराइएको नेकपा कार्यालय टिमका सदस्य सन्तोष खतिवडाले जानकारी दिए । उनलाई जिल्ला अध्यक्ष विजय प्रकाश बनेम, प्रदेश सदस्य लक्ष्मी अङछङवो, कार्यालय टिमका सदस्यहरु सन्तोष खतिवडा, सुरज ओझा लगायतले अविर, खादा लगाएर पार्टी प्रवेश गराएका छन् । फक्ताङलुङ गाउँपालिका-५ तापेथोक घरैबाट पक्राउ गरिएका उनलाई प्रहरीले मुद्दा नचलाई छोडेको थियो ।

फेम्वू पक्राउ भएपछि चन्द समूहले विज्ञप्ति निकालेर उनलाई बिनासर्त रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको थियो । तर विज्ञप्ति निकाल्ने सेक्रेटरी नरपति पौडेल सहित जिल्ला इञ्चार्ज सकल सहितका ताप्लेजुङ र पाँचथरका इञ्चार्ज सहित पाँचजनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई झापाको चन्द्रगढीमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी चन्द समूहका पूर्व जनसरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य विजय फेम्वू सत्तासिन दल नेकपामा प्रवेश गर्दै ।

प्रकाशित : भाद्र ११, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

रुखमा बस ठोक्किँदा पाँच घाइते

अगन्धर तिवारी

पर्वत — बुधबार बिहान कुश्मा-बागलुङ सडकको नयाँपुलस्थित एक सिमलको रुखमा बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । कुश्मा नगरपालिका-१ छमर्केदेखि पोखरा जाने पालो थाप्न बागलुङ जाँदै गरेको ग१ख ८२५२ नम्बरको बस बस दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । पर्वतको नयाँपुलमा बिहान साढे ८ बजेतिर  अनियन्त्रित भई सिमलको रुखमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा छमर्के निवासी २५ वर्षीय चालक श्याम खड्का, कुश्मा-२ का याम शर्मा, कुश्माकै सविना शर्मा निजकी डेढ वर्षिया छोरी सचिना शर्मा र बागलुङ-७ ढिकीचौरका प्रेम शर्मा घाइते छन् । घाइतेहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शी प्रनिश गिरीका अनुसार सिकारु चालकले सडकछेउमा रहेको रुखमा बस ठोक्याएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने चालकको मोबाइल स्टेरिङ नजिकैको भुईंमा खसेको र टिप्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । ट्राफिक प्रमुख रामबहादुर भट्टक्षेत्रीले चालकले मोबाइल जोगाउन खोज्दा दुर्घटना भएको बताए ।

प्रकाशित : भाद्र ११, २०७६ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्