२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नगरपालिकामा खानेपानी संकट

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका–८ सान्ताङकी एलिशा आठपहरिया खानेपानी लिन दैनिक डेढ घण्टा टाढाको कुवा धाउने गर्छिन् । बिहान उठ्ना साथ डोकोमा २५ लिटर बढी अट्ने गाग्री बोकेर पधेँरोमा जाने गरेको उनी बताउँछिन् । आकाशबाट पानी वर्षिएपनि धारामा पानी नआएको तीन साता नाघिसकेको उनको भनाई छ । 

नगरपालिकामा खानेपानी संकट

धनकुटा बजारबाट एक घण्टा पैदल दूरीमा रहेको उक्त गाउँको यो अवस्था हो । चार दशक अघि नै नगरपालिका घोषणा भएको धनकुटा नगरपालिकाका कतिपय बस्ती पुग्दा दुर्गम गाउँको झल्को दिन्छ । आठपहरिया जातिको बसोबास रहेको सान्ताङको अवस्था पनि त्यस्तै छ ।


केहि वर्ष पहिले बल्ल खानेपानीको पाइप पुगेपनि पानी नआउने स्थानीयले गुनासो पोखे । स्थानीय रिया आठपहरियाले भन्नि, ‘हामीलाई पानीको समस्याले जहिल्यै पिरोल्छ । सदरमुकाम नजिक भएर के गर्नु हाम्रो बसाइ दुर्गममा नै छ ।’


धनकुटा ७ को चुलिबनमा रहेको टयांकीबाट उक्त गाउँमा पानी वितरण हुने गर्दछ । धनकुटा–१ लुङनाङ्को तीन दोभाने मुहानबाट ल्याएको पानी चुलिबनस्थित ट्यांकीमा जम्मा गरेर सान्ताङ क्षेत्रमा खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष डिल्लीमान राईले बताए । खानेपानीको स्थायी समाधान गर्न जरुरी रहेको उनी बताउँछन् । धनकुटा बजार क्षेत्र भन्दा फरक योजना भएर पनि पानीको संकट हुने गरेको राईले बताए ।


स्थानीय सजना आठपहरियाले खानेपानीको चरम समस्या भएको गुनासो गरेपनि कतैबाट सुनुवाई नभएको बताइन् । टाढाबाट पानी बोक्नुपर्ने र हिँडडुल गर्न पनि सुविधायुक्त बाटो नभएकोले आफ्नो गाउँ पिछडिएको भन्दै चिन्ता व्यक्त गरिन् ।


६५ वर्षीया परमश्वरी राईले आफूले थाहा पाएदेखि नै पानीको समस्या भएको बताइन् । ‘एकान्तस्थलमा पानीको मुहान भएकोले दुई चार जना भेला भएर डोकोमा ठूला गाग्री बोकेर पानी लिन जानुपर्छ’, उनले भनिन्, ‘खानेपानीको समस्या सधैँ छ ।’


अधिकांश पुरुष रोजगारीको लागि सहर बजार गएपनि पानी बोक्नेमा महिलालाई नै बाध्यता रहेको स्थानीयले बताए । जनप्रतिनिधिले खानेपानीको लागि चासो नदिएको पनि गुनासो छ । वडाध्यक्ष सुमन राईले खानेपानीको सास्ती भएको स्वीकार गरे । पिछडिएको बस्तीमा विकासका पूर्वाधार पुर्‍याउने प्रयासरत रहेको उनको दाबी छ । धनकुटा बजार तथा आसपासका क्षेत्रमा पनि खानेपानी नियमित नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र १०, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?