नगरपालिकामा खानेपानी संकट

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका–८ सान्ताङकी एलिशा आठपहरिया खानेपानी लिन दैनिक डेढ घण्टा टाढाको कुवा धाउने गर्छिन् । बिहान उठ्ना साथ डोकोमा २५ लिटर बढी अट्ने गाग्री बोकेर पधेँरोमा जाने गरेको उनी बताउँछिन् । आकाशबाट पानी वर्षिएपनि धारामा पानी नआएको तीन साता नाघिसकेको उनको भनाई छ । 

धनकुटा बजारबाट एक घण्टा पैदल दूरीमा रहेको उक्त गाउँको यो अवस्था हो । चार दशक अघि नै नगरपालिका घोषणा भएको धनकुटा नगरपालिकाका कतिपय बस्ती पुग्दा दुर्गम गाउँको झल्को दिन्छ । आठपहरिया जातिको बसोबास रहेको सान्ताङको अवस्था पनि त्यस्तै छ ।

केहि वर्ष पहिले बल्ल खानेपानीको पाइप पुगेपनि पानी नआउने स्थानीयले गुनासो पोखे । स्थानीय रिया आठपहरियाले भन्नि, ‘हामीलाई पानीको समस्याले जहिल्यै पिरोल्छ । सदरमुकाम नजिक भएर के गर्नु हाम्रो बसाइ दुर्गममा नै छ ।’

धनकुटा ७ को चुलिबनमा रहेको टयांकीबाट उक्त गाउँमा पानी वितरण हुने गर्दछ । धनकुटा–१ लुङनाङ्को तीन दोभाने मुहानबाट ल्याएको पानी चुलिबनस्थित ट्यांकीमा जम्मा गरेर सान्ताङ क्षेत्रमा खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष डिल्लीमान राईले बताए । खानेपानीको स्थायी समाधान गर्न जरुरी रहेको उनी बताउँछन् । धनकुटा बजार क्षेत्र भन्दा फरक योजना भएर पनि पानीको संकट हुने गरेको राईले बताए ।

स्थानीय सजना आठपहरियाले खानेपानीको चरम समस्या भएको गुनासो गरेपनि कतैबाट सुनुवाई नभएको बताइन् । टाढाबाट पानी बोक्नुपर्ने र हिँडडुल गर्न पनि सुविधायुक्त बाटो नभएकोले आफ्नो गाउँ पिछडिएको भन्दै चिन्ता व्यक्त गरिन् ।

६५ वर्षीया परमश्वरी राईले आफूले थाहा पाएदेखि नै पानीको समस्या भएको बताइन् । ‘एकान्तस्थलमा पानीको मुहान भएकोले दुई चार जना भेला भएर डोकोमा ठूला गाग्री बोकेर पानी लिन जानुपर्छ’, उनले भनिन्, ‘खानेपानीको समस्या सधैँ छ ।’

अधिकांश पुरुष रोजगारीको लागि सहर बजार गएपनि पानी बोक्नेमा महिलालाई नै बाध्यता रहेको स्थानीयले बताए । जनप्रतिनिधिले खानेपानीको लागि चासो नदिएको पनि गुनासो छ । वडाध्यक्ष सुमन राईले खानेपानीको सास्ती भएको स्वीकार गरे । पिछडिएको बस्तीमा विकासका पूर्वाधार पुर्‍याउने प्रयासरत रहेको उनको दाबी छ । धनकुटा बजार तथा आसपासका क्षेत्रमा पनि खानेपानी नियमित नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र १०, २०७६ १४:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रुसको पहिलो 'ह्युमनोइड' रोबोट अन्तरिक्ष केन्द्रमा

एएफपी

मस्को — रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा मंगलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झै यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एक जना टिप्पणीकर्ताले भने, “सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।” रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ ।

अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ । सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो । तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो ।

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ ।

प्रकाशित : भाद्र १०, २०७६ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT