कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लागूऔषधको कुलतमा युवा

विनु तिम्सिना

विराटनगर — कक्षा ११ मा अध्ययरत मोरङको लक्ष्मीमार्गका २१ वर्षीय एक युवाको उनकै कलेजमा अध्ययन गर्ने युवतीसँग प्रेम बस्यो । लामो समयसम्म उनीहरूबीच प्रेम सम्बन्ध रह्यो ।

लागूऔषधको कुलतमा युवा

गत वर्षदेखि उनीहरूको सम्बन्धमा एकाएक खटपट आयो र प्रेम सम्बन्धले विश्राम लियो । प्रेममा धोका खाएपछि युवा कलेज जान छाडे । निरास बनेका उनलाई साथीहरूले लागुऔषध खाए पीडा भुल्न सकिने सल्लाह दिए । विस्तारै उनी कुलतमा फसे ।


त्यस्तै सुनसरी धरानका अर्का एक युवा पनि लागूऔषधको कुलतमा फसेको दुई वर्ष भयो । १८ वर्षको उमेरदेखि साथीभाइको संगतबाट उनले लागूऔषध सेवन गर्न सुरु गरेका हुन् । सुरुमा त साथीभाइले आफैं लागुऔषध किनेर खान दिए । तर, विस्तारै आर्थिक समस्या हुन थाल्यो । अहिले उनी लागु औषध छाड्ने प्रयत्न गरिरहेका छन् ।


यी त उदाहरणका घटना मात्रै हुन् । मोरङमा लागु औषध प्रयोग गर्नेहरूमा युवा बढी फसिरहेको पाइएको छ । मोरङ प्रहरीले वैशाख २६ देखि साउन ३२ गतेसम्म ‘लागूऔषधविरुद्धको विशेष अभियान’ चलाएको थियो । प्रहरीले गरेको सर्वेक्षणमा १ हजार ३ सय ७६ जना लागूऔषध प्रयोगकर्तामध्ये १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जना युवा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।


त्यस्तै २६ देखि ४० वर्ष उमेरसमूहका ५ सय ९ जना, १२ देखि १५ उमेर समूहका १२ जना, ४१ देखि ५० उमेर समूहका २४ जना र ५१ भन्दा माथि ३ जना लागूऔषध प्रयोगकर्ता भेटिएको उनले जानकारी दिए । तीन महिनाको अभियानमा १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी लागूऔषध प्रयोग गर्ने भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरीले प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षण अनुसार सबैभन्दा बढी मजदुरले लागूऔषध सेवन गर्ने गरेको भेटिएको छ । तीन महिनाको अवधिमा ५ सय ४४ जना मजदुर, २ सय ६१ जना चालक/सहचालक, १ सय ६८ जना व्यवसाय, १ सय ३६ जना विद्यार्थी र २६ जना कृषि पेसामा रहने लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।


यस्तै शैक्षिक योग्यताको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढी ६ देखि १० कक्षासम्म अध्ययरत बढी लागूऔषधको प्रयोग गर्ने भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । प्रहरीले सार्वजानिक गरेको अभिलेख अनुसार ६ देखि १० सम्म ७ सय ५४ जना, १ देखि ५ सम्म २ सय ३६ जना, ११ र १२ कक्षाका १ सय ७७, स्नातक १ सय ६४ र अन्य प्राविधिक पढने ४५ जना लागूऔषध प्रयोगकर्ता भेटिएका छन् ।


सबैभन्दा बढी डाइजोपाम लागयतको औषधिजन्य लागूऔषध प्रयोग गर्ने उनले जानकारी दिए । खुला सीमाको फाइदा उठाउँदै लागूऔषध प्रयोगकर्ताहरूले सीमावार्ती बजार जोगवनीमा गएर डाइजोपाम लागूऔषध सेवन गर्ने गरेको एसपी अधिकारीले बताए । उनका अनुसार लागूऔषध प्रयोगकर्ताले खाएर सेवन गर्दै आएका छन् । १३ सय ७६ जनामा गरेको सर्वेक्षणमा खाएर लागूऔषध सेवन गर्ने १ हजार ३ सय १२, सिरिन्जबाट २ सय ८६र सुाघेर ४ जना फेला परेको उनले बताए । प्रहरीले गरेको सर्वे अनुसार लागूऔषध बिक्रेताबाट प्रयोगकताहरूले लागूऔषध ल्याउने गरेका छन् ।


१ हजार ३ सय ६९ जनाले बिक्रेताबाट खरिद गरेर ल्याएका छन् भने ३ सय ८८ जनाले दुर्व्यसनी साथीभाइहरूबाट लागूऔषध लिने गरेका छन् । लागूऔष प्रयोगकताहरूले पीडा र तनाव भुल्न लागूऔषध सेवन गर्ने मोरङ प्रहरीका डीएीसपी घनश्याम श्रेष्ठले बताए । लागूऔषध प्रयोगकर्ताहरू गरिएको कुराकानीमा ५ सय ११ जनाले अन्यन्त सुख महसुसका लागि र ३ सय ७१ जनाले तानव भुल्न लागूऔषध प्रयोग गरेको बताएका थिए ।


मोरङ प्रहरीले ‘लागूऔषध विरुद्धको विशेष अभियान’ गत वैशाखदेखि सुरु गरेपछि लागूऔषधसम्बन्धी मुद्दा दर्तामा कमी आएको दाबी गरेको छ । मोरङ प्रहरीको विभिन्न मातहतमा गरी २०७५ सालको जेठ, असार र साउनमा ९७ वटा लागूऔषध मुद्दा दर्ता भएको ०७६ सालको सोही तीन महिनामा ४२ वटा मात्र मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका एसपी अधिकारीले लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्या घटाउन नागरिक स्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?