लागूऔषधको कुलतमा युवा

विनु तिम्सिना

विराटनगर — कक्षा ११ मा अध्ययरत मोरङको लक्ष्मीमार्गका २१ वर्षीय एक युवाको उनकै कलेजमा अध्ययन गर्ने युवतीसँग प्रेम बस्यो । लामो समयसम्म उनीहरूबीच प्रेम सम्बन्ध रह्यो ।

गत वर्षदेखि उनीहरूको सम्बन्धमा एकाएक खटपट आयो र प्रेम सम्बन्धले विश्राम लियो । प्रेममा धोका खाएपछि युवा कलेज जान छाडे । निरास बनेका उनलाई साथीहरूले लागुऔषध खाए पीडा भुल्न सकिने सल्लाह दिए ।विस्तारै उनी कुलतमा फसे ।

त्यस्तै सुनसरी धरानका अर्का एक युवा पनि लागूऔषधको कुलतमा फसेको दुई वर्ष भयो । १८ वर्षको उमेरदेखि साथीभाइको संगतबाट उनले लागूऔषध सेवन गर्न सुरु गरेका हुन् । सुरुमा त साथीभाइले आफैं लागुऔषध किनेर खान दिए । तर, विस्तारै आर्थिक समस्या हुन थाल्यो । अहिले उनी लागु औषध छाड्ने प्रयत्न गरिरहेका छन् ।

यी त उदाहरणका घटना मात्रै हुन् । मोरङमा लागु औषध प्रयोग गर्नेहरूमा युवा बढी फसिरहेको पाइएको छ । मोरङ प्रहरीले वैशाख २६ देखि साउन ३२ गतेसम्म ‘लागूऔषधविरुद्धको विशेष अभियान’ चलाएको थियो । प्रहरीले गरेको सर्वेक्षणमा १ हजार ३ सय ७६ जना लागूऔषध प्रयोगकर्तामध्ये १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जना युवा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यस्तै २६ देखि ४० वर्ष उमेरसमूहका ५ सय ९ जना, १२ देखि १५ उमेर समूहका १२ जना, ४१ देखि ५० उमेर समूहका २४ जना र ५१ भन्दा माथि ३ जना लागूऔषध प्रयोगकर्ताभेटिएको उनले जानकारी दिए । तीन महिनाको अभियानमा १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी लागूऔषध प्रयोग गर्ने भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षण अनुसार सबैभन्दा बढी मजदुरले लागूऔषध सेवन गर्ने गरेको भेटिएको छ । तीन महिनाको अवधिमा ५ सय ४४ जना मजदुर, २ सय ६१ जना चालक/सहचालक, १ सय ६८ जना व्यवसाय, १ सय ३६ जना विद्यार्थी र २६ जना कृषि पेसामा रहने लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै शैक्षिक योग्यताको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढी ६ देखि १० कक्षासम्म अध्ययरत बढी लागूऔषधको प्रयोग गर्ने भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । प्रहरीले सार्वजानिक गरेको अभिलेख अनुसार ६ देखि १० सम्म ७ सय ५४ जना, १ देखि ५ सम्म २ सय ३६ जना, ११ र १२ कक्षाका १ सय ७७, स्नातक १ सय ६४ र अन्य प्राविधिक पढने ४५ जना लागूऔषध प्रयोगकर्ता भेटिएका छन् ।

सबैभन्दा बढी डाइजोपाम लागयतको औषधिजन्य लागूऔषध प्रयोग गर्ने उनले जानकारी दिए । खुला सीमाको फाइदा उठाउँदै लागूऔषध प्रयोगकर्ताहरूले सीमावार्ती बजार जोगवनीमा गएर डाइजोपाम लागूऔषध सेवन गर्ने गरेको एसपी अधिकारीले बताए । उनका अनुसार लागूऔषध प्रयोगकर्ताले खाएर सेवन गर्दै आएका छन् । १३ सय ७६ जनामा गरेको सर्वेक्षणमा खाएर लागूऔषध सेवन गर्ने १ हजार ३ सय १२, सिरिन्जबाट २ सय ८६र सुाघेर ४ जना फेला परेको उनले बताए । प्रहरीले गरेको सर्वे अनुसार लागूऔषध बिक्रेताबाट प्रयोगकताहरूले लागूऔषध ल्याउने गरेका छन् ।

१ हजार ३ सय ६९ जनाले बिक्रेताबाट खरिद गरेर ल्याएका छन् भने ३ सय ८८ जनाले दुर्व्यसनी साथीभाइहरूबाट लागूऔषध लिने गरेका छन् । लागूऔष प्रयोगकताहरूले पीडा र तनाव भुल्न लागूऔषध सेवन गर्ने मोरङ प्रहरीका डीएीसपी घनश्याम श्रेष्ठले बताए । लागूऔषध प्रयोगकर्ताहरू गरिएको कुराकानीमा ५ सय ११ जनाले अन्यन्त सुख महसुसका लागि र ३ सय ७१ जनाले तानव भुल्न लागूऔषधप्रयोग गरेको बताएका थिए ।

मोरङ प्रहरीले ‘लागूऔषध विरुद्धको विशेष अभियान’ गत वैशाखदेखि सुरु गरेपछि लागूऔषधसम्बन्धी मुद्दा दर्तामा कमी आएको दाबी गरेको छ । मोरङ प्रहरीको विभिन्न मातहतमा गरी २०७५ सालको जेठ, असार र साउनमा ९७ वटा लागूऔषध मुद्दा दर्ता भएको ०७६ सालको सोही तीन महिनामा ४२ वटा मात्र मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका एसपी अधिकारीले लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्या घटाउन नागरिक स्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१ अर्ब ४१ करोड अनुदान

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले गत वर्ष किसानलाई अनुदान वितरण गर्दैमा समय गुजार्‍यो । मन्त्रालयले गत वर्ष विनियोजित बजेटको ६० प्रतिशतमात्र खर्च गरेको थियो ।

प्रदेश कृषि निर्देशनालयले केहीअघि आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव हस्तबहादुर विष्टले गत वर्ष मन्त्रालयको नाममा विनियोजन भएको २ अर्ब ४८ करोड रकममध्ये १ अर्ब ४८ करोड मात्र खर्च गर्न सक्दा एक अर्ब रकम फिर्ता गएको प्रतिवेदन सुनाएका थिए ।

गत वर्ष यो मन्त्रालय र मातहतका निकायले प्रदेशका १४ जिल्लाका किसानलाई प्रशासनिक खर्च सहित १ अर्ब ४१ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । विष्टले आवश्यक जनशक्ति अभावमा विनियोजित बजेट ६० प्रतिशतमात्र खर्च भएर १ अर्ब बजेट फिर्ता गएको प्रतिवेदन सार्वजनिक गर्दा गोष्ठीका प्रमुख अतिथि मूख्यमन्त्री शेरधन राईले मन्त्रालयको प्रगति प्रति असन्तुष्टि जनाएका थिए । यो मन्त्रालय राई आफैले सम्हाल्दै आएका छन् ।

उनले भनेका थिए, ‘मन्त्रालयको समर्थन बजेटलाई आधार मान्दा पनि प्रगतिमा चित्त बुझाउने ठाउँ छैन ।’ उनले अनुदान वितरण प्रति पनि असन्तुष्टि जनाए । राईले भने, ‘कृषि अनुदानका नाममा धेरै नकरात्मक टिप्पणी र वितरण प्रभावकारी नभएको सुनिएको छ ।’ गतवर्ष यो मन्त्रालयले १ अर्ब ४८ करोड बजेट खर्च गर्दा प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले झन्डै त्यति नै रकम किसानलाईअनुदान वितरण गरेको थियो ।

सरकारले किसानलाई हरेक वर्ष मोटो रकम अनुदान दिए पनि यो प्रदेशमा कृषिजन्य वस्तुको आयात भने घट्न सकेको छैन । प्रदेश १ मा वार्षिक सरदर ४० अर्ब भन्दा बढीको कृषिजन्य वस्तुको आयात हुने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङक छ । हरियो तरकारी, फलफूल, माछा, तेल, चिनी, जुट, खाद्यान्न लगायतका कृषि उपजको आयात उल्लेख्य छ ।

केन्द्रको तथ्यांक अनुसार गत वर्ष यो प्रदेशमा २ अर्ब रुपैयाँको हरियो तरकारी, ६ अर्ब रुपैयाँको दाल, करिब १ अर्बको फलफुल, ९ अर्ब रुपैयाँको गेडागुडी आयात भएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT