सकियो २५ दिन लामो लाखेजात्रा

ताप्लेजुङ — पौराणिक कथामा आधारित रहेर प्रदर्शन गरिएको श्रीकृष्ण र कंशको लीलासँगै सदरमुकाम फुङलिङमा सञ्चालित यो वर्षको लाखे जात्रा पर्व सकिएको छ ।

सकियो २५ दिन लामो लाखेजात्रा

शनिबार मध्यराति फुङलिङको वीरेन्द्र चोकमा भगवान रूपधारी कृष्णले कंशको बध गरेसँगै लाखे जात्रा सकिएको हो । जात्राको अन्तिम दिनभर कृष्ण र कंशबीचको द्वन्द्व सदरमुकाममा देखाइएको थियो ।


जात्रा हेर्न गाउँबाट सयौंको संख्यामा सदरमुकाम आउने गरेका छन् । परम्परागत मान्यताअनुसार अष्टमीको दिन कृष्ण भगवान्को जन्म हुन्छ । त्यो दिन कृष्ण मन्दिरमा पुजाआजा गरिन्छ । कृष्ण रूपी युवकलाई त्यही जन्माइन्छ । त्यसको भोलिपल्ट नवमीको दिन गर्ने कंशको बध गर्ने चलन छ ।


धर्मशास्त्रलाई आधार मानेर भगवान्को लीला प्रस्तुत गरिए पनि आधुनिक युगमा यो मनोरञ्जनको माध्यम भएको नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष निरोज श्रेष्ठ बताउँछन् । यो सहर र गाउँलाई जोड्ने सेतु भएको उनले बताए । यसले एकापसमा आत्मीयता र बन्धुत्व भावको विकास पनि गराएको छ ।


बर्खे खेतीबाट बाहिर निस्किएका किसानलाई सदरमुकाम निम्त्याउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यस्ता पर्व सुरु भएको मानिन्छ । यसले सदरमुकामको व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने गरेको छ । गठेमंगलको दिन निकालिने लाखे २५ दिनसम्म नचाइन्छ । रक्षा बन्धन जनैं पुर्णिमाको दिनदेखि प्रत्येक दिन र साँझ लाखे नाच देखाइन्छ ।


लाखे जात्राको अवसरमा फुटवल प्रतियोगिता, गाईजात्रा, रोपाईजात्रा पनि हुन्छ । यो बेला नयाँ चलचित्र ल्याएर देखाउने कलाकारहरू निम्त्याएर सांस्कृतिक कार्यक्रम गर्ने चलन पनि छ । शनिबार र पूर्णिमाको दिन लिम्बू समुदायमा प्रचलित केलाङ र यालाङ प्रस्तुत गरिएको थियो ।


सयौंको संख्यामा उपस्थित कलाकारले च्याब्रुङ नाचेका थिए भने धान नाच साँझ ९ बजेसम्म गरिएको थियो । जात्रा सकिएसँगै तीजको रमझम सुरु हुने गरेको छ । तिजमा ब्राह्मण नेवार, लिम्बू, राई, गुरुङ लगायतका सबै जातजातिले मनाउने गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?