कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बसले तान्यो विद्यार्थी

प्रदीप मेन्याङ्बो

सुनसरी — स्कुलबाट ८ किमि टाढाका विद्यार्थी पनि आउन थालेपछि धरान १२ चतरालाइनको सामुदायिक पब्लिक माविले बस सेवा सुरु गरेको छ । दुई वर्षयता टाढाका विद्यार्थी पनि आउन थालेपछि उनीहरूकै मागअनुसार दुईवटा बस सञ्चालनमा ल्याएको प्रधानध्यापक इन्द्रमोहन झाले बताए । 

उनले भने, ‘सेउती र सर्दु पारीबाट पनि विद्यार्थी आउन थाले । उनीहरूले टेम्पो भाडामात्र दैनिक २ सय रुपैयाँ तिरेको गुनासो गरे । विद्यार्थी र अभिभावकका तर्फबाट बस सञ्चालन गर्न माग आयो । विद्यार्थीको सुविधाका लागि ३५ सिटको बस २६ लाख रुपैयाँमा खरिद गर्‍यौं । अर्को बस भने भाडामा लिएका छौं ।’


बस किन्न विद्यालयका पूर्वविद्यार्थी र विभिन्न दाताहरूले सहयोग गरेको प्रअ झाले बताए । सामुदायिक स्कुलले विद्यार्थीका लागि बस सेवा सञ्चालन गर्ने आँट गरेकोमा अभिभावकहरू र विद्यालय व्यवस्थापन समितिले पनि साथ दिएका छन् ।


दुवै बसले धरान नगर क्षेत्रमा पर्ने धरान–६ को पानबारी र धरान १७ का पटनालीसम्मका विद्यार्थीलाई ओसार्न थालेका छन् । सवारी भाडाका रूपमा मासिक १५ सयदेखि ६ हजार रुपैयाँ तिरेर पढ्न आउनेका लागि स्कुल बसले राहत दिएको उनले बताए ।


उनका अनुसार दूरीअनुसार हाललाई दिउँसो १० सम्म पढ्ने विद्यार्थीका लागि मासिक ५ सय रुपैयाँ र बिहानको समयमा ११ र १२ पढ्नेहरूका लागि दूरीअनुसार मासिक ७ सय र ८ सय रुपैयाँ कायम गरिएको छ । विद्यार्थीहरूले विद्यालयले आफूहरूजस्ता टाढाबाट टेम्पोमा दैनिक ओहोर–दोहोर गर्दा २ सय रुपैयाँ खर्च गरेर आउनेहरूका लागि बस सस्तो भाडा तिर्ने गरी सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।


पब्लिकमा व्यवस्थापनमा कक्षा १२ अध्ययरत छिमेकी नगरपालिका बराहक्षेत्र नगरपालिका–१ बगुवाका निता तामाङ, भावना राई, शशिकला राई, धरान–१७ पटनाली (साविक विष्णुपदुका गाविस) का एलिना राई, अधिक्षा पोखरेल, तेजबहादुर विष्ट जस्ता दुई सय विद्यार्थी दैनिक ८ किमिको दूरीबाट आउने गरेका छन् । निताले भनिन्, ‘प्लस टु पढदा लाग्ने खर्चभन्दा टेम्पो भाडा बढी लाग्थ्यो । त्यो रकम जोगिएको छ । स्कुलकै बसमा आउने जाने गर्दा सार्वजनिक सवारी साधन पर्खिरहनु पनि परेन । सुरक्षित रूपमा घर पनि पुगिने भयो ।’


स्कुलकै बसले घरबाट ल्याउने र पढाइसकेपछि घरमा पुर्‍याउने भएकाले विद्यार्थीहरू जतासुकै बरालिनबाट पनि केही हदसम्म जोगिने, घरमा छिट्टै पुगेर अभिभावकलाई घरको काममा सहयोग गर्न सक्ने र आफ्नो होमवर्क पनि बेलैमा गर्नसक्ने भएकाले पनि बस सेवा सञ्चालन गरेको झाले बताए ।

प्रकाशित : भाद्र ८, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?