२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मकैमा फौजी किरा

कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ ५ जेरुङका नवीनकुमार राई बर्सेनि १० देखि १५ मुरीसम्म मकैबाली भित्र्याउँथे । यो वर्ष भने एक डोको पनि भित्र्याउन सकेनन् । कारण थियो खडेरी । वर्षायाममा पानी नपरेपछि मकै बोटमै सुक्यो ।

बर्खे मकै नफलेपछि उनलाई हिउँदे मकै छर्ने हतारो भयो । मकै पनि छरे । उम्रिन थालेपछि बिरुवामा फौजी किरा लाग्यो । मकैको बोट देखाउँदै नवीनले भने, ‘बर्खे मकै खडेरीले लग्यो, हिउँदे मकै किराले । अब कसरी जहान परिवार पाल्ने थाहा छैन । हामीलाई प्रकृतिले नै ठग्यो ।’


जेरुङ गाउँकै पूर्णबहादुर राई यसपालि भोकमरीमा पर्ने चिन्ताले टोलाइरहेका छन् । उनी दिनभरि आफ्नो मकैबारी हेरेर टोलाउँछन् । ‘किनेर खाउँ भने नगद आम्दानीको स्रोत छैन, अन्नबाली खाउँ भने एक घोगा मकै छैन,’ पूर्णबहादुरले भने, ‘अब भोकमरी नलागेर के गर्नु । हामीलाई कसले के खान दिने हुन् । चारजनाको परिवार कसरी पाल्ने भन्ने पीर छ ।’


फौजी किराको प्रकोप बढेपछि सुनकोसी र दुधकोसी नदी तटीय क्षेत्रको मकैबाली सखाप भएको छ । ओखलढुंगा, खोटाङ र उदयपुरको तटीय भेगमा फौजी किराको प्रकोप बढदो छ । तीन साताअघि सुरु भएको फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । थप फैलिँदो छ ।


मानेभन्ज्याङ गाउँपालिकाको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभन्ज्याङ लगायत क्षेत्रमा लगाइएको सयौं हेक्टर मकैको बिरुवा बोटमै मर्ने गरी किराले सखाप पारेको छ । यी क्षेत्रमा फौजी किरा दुई रंगको फेला परेका छन् । अलि तल्लो क्षेत्रमा सेतो र माथिल्लो क्षेत्रमा हरियो रङको छ ।


ठूलो समूहमा आएर मकैको गुबोभित्र पसेर कलिला पात खाने भएकाले यसलाई फौजी किरा भनिएको हो । किराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर नमुना संकलन गरेका थिए । उनीहरूले किराको पहिचान गर्न सकेनन् । त्यसपछि नमुनाका रूपमा प्रदेश कार्यालय पठाए । प्रदेश कार्यालयले विषादीसहितको टोली जिल्लामा खटाइसकेको ज्ञान केन्द्रले जनाएको छ ।


किरा नियन्त्रणका लागि विषादीसहितको प्राविधिक टोली गाउँमा खटाइसकेको मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णमणि पोखरलेसहित विराटनगरबाट झिकाइएका प्राविधिक र विषादी प्रकोपस्थलमा खटाइएको उनले बताए । फौजीको किराले घाँस तथा मकैका घोगासमेत खाने गरेको छ । यस किसिमका किराले मान्छेलाई समेत टोक्ने गरेको छ ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?