कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मादक पदार्थ सेवन गर्नेलाई हजार जरिवाना

ताप्लेजुङ — मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्दै हिँड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने अभियान तीव्र बनाएको छ । सदरमुकाम फुङलिङमा दुई दिनमा २३ जना पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार यी सबै रातको समयमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेको छ । 

पक्राउ परेका सबै पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘रातको समयमा नगर क्षेत्रको सार्वजनिक स्थल र बाटोमा अश्लिल शब्द प्रयोग गर्ने, हो–हल्ला गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गर्नेलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले भने, ‘नियन्त्रणमा लिएकालाई जिल्ला अस्पतालमा मादक पदार्थ सेवनको परीक्षण गरी कार्यालय समयमा प्रशासन कार्यालयमा बुझाउँछौँ ।’


प्रशासन कार्यालयले भने स्थानीय प्रशासन ऐन अन्तर्गत जनही एक हजार रुपैयाँ जरिवाना गरी सम्झाइ बुझाइ गरेर छोड्ने गरेको छ । रकम तिर्न नसक्नेले भने त्यति नै रकम असुल हुनेगरी कारागार बसेर भुक्तान गर्नुपर्छ । कानुन अनुसार मादक पदार्थ सेवन गर्नेहरु जतिपटक पक्राउ पर्छन् त्यत्तिनै पटक रकम तिर्नुपर्ने हुन्छ ।


अहिलेसम्म तिर्न नसकेर जेल बस्ने कोहिपनि नभएको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सदरमुकाममा लाखेजात्रा पर्व चलिरहेकाले पनि कडाइ गरिएको बताउँछन । शान्ति सुरक्षामा असर पर्ने भएकाले यो वेला विशेष निगरानी बढाइएको निरौलाले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?