१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजधानीमा धमिलो पानी

देवनारायण साह

मोरङ — प्रदेश राजधानी विराटनगर महानगरका धारामा धमिलो पानी आउँछ । खानेपानी संस्थानले वितरण गरेको यो पानी अधिकांशले प्रयोग गर्नै छाडेका छन् । विकल्पमा चापाकलको पानी प्रयोग भइरहेको छ ।

राजधानीमा धमिलो पानी

विराटनगर ११ की लक्ष्मी अधिकारीले ६ महिनादेखि धाराको पानी छोएकी छैनन् । तर मासिक महसुल भने बझाउन बाध्य छिन् । विराटनगर ६ की उर्मिला साहको परिवारले पनि धारामा आएको पानी खाँदैनन् । धारामा फोहोर मिसिएको रातो पानी आउने गरेकाले प्रयोग गर्न छाडेको बताइन् । उनले धाराको पानीले भाँडा धुँदा कालो बस्ने गरेको सुनाइन् ।


विराटनगर ८ मधुमाराकी जानकी निरौलाको परिवारले पनि आँगनमा भएको खानेपानी संस्थानको धाराको पानी खाँदैनन् । उनी नजिकै रहेको आफ्न्तको ट्युवेलको पानी प्रयोग गरिरहेकी छन् । धारामा आएको पानी गाईबस्तुलाई समेत बिरामी हुने डरले नखुवाउने गरेको सुनाइन् । धारामा कहिलेकाहीं १/२ दिन सफा पानी आए पनि पुनः धमिलो र लेदो आउन थालेपछि खान छोडेको उनको भनाइ छ ।


धारा जडान गरेका अधिकांश घर परिवारको गुनासो यस्तै छ । खानेपानी संस्थानको धारामा फोहोर पानी आउँदा उपभोक्ता आफैंले जडान गरेको वा छिमेकीको ट्युबेलको पानी खान बाध्य छन् । सक्नेले विभिन्न खानेपानी कम्पनीका बोतल र जारको पानी प्रयोग गर्छन् ।


खानेपानी संस्थानको धाराको पानी खाएर उपभोक्ता बर्सेनि बिरामी हुने गरेकाले खानेपानी कम्पनीहरूले उत्पादन गरेको पानी किनेर खाने चलन बढदै गएको स्थानीय रामप्रसाद खतिवडाले बताए । ‘चार वर्षअघि खानेपानी संस्थानको पानी खाएर बिरामी हुँदा यहाँ ३ जनाको मृत्यु भएको थियो,’ उनले भने, ‘त्यसैले महानगरबासीले धाराको पानी खान छोडेर ट्युवेल वा हैसियत भएकाहरू पानी किनेर खाइरहेका छन् ।’


कञ्चनबारी, मोरङ व्यापार संघ अगाडि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको उत्तरपट्टी खानेपानीको पाइप लिक भएर महानगरले निर्माण गरेको नयाँ सडक क्षतिग्रस्त बनाएको छ । संस्थानले पानी छोडेका बेला उक्त सडकमै पानी बग्ने र पानी बन्द भएपछि त्यही जमेको फोहोर पानी पाइपमा जाने गरेको छ ।


खानेपानी संस्थान शाखा विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले केही ठाउँको पानीमा आइरन बढी भएकाले धारामा धमिलो र लेदो गइरहेको स्विकारे । विराटनगरस्थित हरेक ठाउँबाट पानीको नमुना संकलन गरेर परीक्षण गराउँदा खान अयोग्य नभएको प्रतिवेदन आएको उनले बताए ।


‘मुनालपथ, देवकोटा चोक, तीनपैनी र रानीमा ओभरहेड ट्यांकीबाट र कञ्चनबारी, बिएफएम चोक र पिचरामा पम्प स्टेसनबाट महानगरमा खानेपानी आपूर्ति हुँदै आएको छ,’ उनले भने, ‘पिचरा र बिएफएम चोकबाट आपूर्ति हुने पानीमा आइरनको मात्रा बढी देखिएको छ ।’


विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार खानेपानीमा आइरनको मात्रा शून्य दशमलव ३ हुनुपर्ने हो तर पिचरा र बिएफएमस्थित पम्प स्टेसनको पानीमा १ दशमलव १६ आइरनको मात्रा पाइएकाले समस्या भएको उनी बताउँछन् । प्रमुख साहले आइरनको समस्या समाधानका लागि फिल्टरेसन प्लान्ट जडान गर्ने योजना रहेको बताए ।


अहिले कञ्चनबारीमा थप बोरिङ जडान गरेकाले पानीको उत्पादन बढेको साहले बताए । ‘पानीको उत्पादन बढेपछि फोर्सले पाइपलाइनमा जमेको आइरन सर्वसाधारणको धारामा जाने गरेको छ,’ उनले भने, ‘पाइपलाइनमा जमेको आइरन सफाइ गर्ने तयारी गरेको तर राधाकृष्ण रथयात्राका कारण तत्काललाई रोकिएको छ । रथयात्रा सकिनेबित्तिकै सफा गर्ने काम सुरु गर्छौं ।’


महानगरमा समुदायले उपभोक्ता समितिमार्फत मानगढ, जामुनगाछी, जतुवा र पिचरामा ओभरहेड ट्यांकमार्फत खानेपानी बितरण गर्दै आएको छ । प्रमुख साहले महानगरमा करिब २५ प्रतिशत उपभोक्तालाई मात्रै खानेपानी उपभोग गरिरहेको बताए ।


महानगरपालिकामा खानेपानी संस्थान स्थापना भएदेखि २००३/४ कै पुरानो संरचना जीर्ण भइसकेकाले पनि समस्या भएको उनको भनाइ छ । विराटनगरमा ३ सय १ किलोमिटर लामो पाइपलाइनिङ गरेर खानेपानी संस्थानले १२ धारा वितरण गरेको छ ।


महानगरमा दैनिक १ करोड ५० लाख लिटर खानेपानीको माग रहेको तर ८०/९० लाख लिटर मात्रै उत्पादन भइरहेको प्रमुख साहले बताए । ‘जीर्ण संरचना भएकाले पाइप लिकेज हुने समस्या उस्तै छ र अर्कोतिर प्रत्येक घरघरमा नाला हुँदै धारा गएकाले फोहोर पानी मिसिने गरेको छ,’ उनले भने, ‘धरान रोडलगायतको सडकमा सुरुमा खानेपानीको पाइप सडकको किनारमा भए पनि सडक विस्तारसँगै पाइप अहिलेबीच भागमा परेको र बर्सेनि सडकको उचाई बढदै गएर पाइप धेरै तल गइसकेको छ ।’


यहाँको जीर्ण संरचनाको पुनःसंरचना निर्माण नभएसम्म उपभोक्तालाई शुद्ध खानेपानी आपूर्ति गर्न चुनौती रहेको साहको भनाइ छ ।


संसदमा खानेपानी चासो

प्रदेश संसदमा बजारमा दूषित खानेपानी पाइने गरेकोबारे चासो देखिएको छ । केही दिनअघि बैठकमा सांसद यशोदा अधिकारीले फोहोर र दूषित पानी उत्पादन गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने खानेपानी उद्योगलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराइन् ।


उनले प्रदेशभरका प्रशोधित खानेपानी उत्पादन गर्ने कम्पनीको तथ्यांक संकलन गरी अनुगमन गर्न माग गरिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत वर्षमा प्रदेश १ स्थित १७ वटा प्रशोधित खानेपानी उद्योगमाथि मुद्दा दायर गरेको छ ।

प्रकाशित : भाद्र ७, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?