ताप्लेजुङमा जनप्रतिनिधिविहीन समाजवादी पार्टी

आनन्द गौतम

ताप्लेजुङ — एकमात्र जनप्रतिनिधिले पार्टी छोडेपछि समाजवादी पार्टी जिल्लामा जनप्रतिनिधिविहीन भएको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पा नेकपामा प्रवेश गरेका हुन् । 

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरणपछि उनी पनि समाजवादी पार्टीमा थिए। नेकपाका सचिवालय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले उनलाई पार्टी प्रवेश गराए। डण्डु नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाका भाइ पनि हुन्। डण्डुसँगै १ सय ३५ जना प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ। मिक्वाखोला गाउँपालिकामा नेकपाबाट अब २ जना वडाध्यक्ष भएका छन्।

५ वडा रहेको यो गाउँपालिकामा ३ जना कांग्रेस, एक जना नेकपा र एक नयाँशक्ति पार्टीका उम्मेदवारले वडामा जितेका थिए ।

उता समाजवादी पार्टीका संयोजक एमवी तमुले शेर्पा बिहीबारकै मितिबाट पार्टीको साधारण सदस्य पनि नरहेको उल्लेख गरेका छन्।

प्रकाशित : भाद्र ६, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

लापरवाही गर्ने कर्मचारीमाथि निगरानी सुरु

राजेन्द्र मानन्धर

दोलखा — तीन तहको सरकार भएपछि कर्मचारीलाई निगरानी गर्न छाडेको जिल्ला प्रशासनले छड्के अनुगमन गर्न सुरु गरेको छ । छड्के अनुगमनमा बिदा र काज नजनाई अनुपस्थित हुने जिल्ला आयुर्वेद कार्यालय, डिभिजन सिचाईं कार्यालय र गौरीशंकर संरक्षण क्षेत्रको फिल्ड कार्यालय चरिकोटका प्रमुख छन् ।

कर्मचारीहरु अनुपस्थित भई जनताको काममा बाधा परेको गुनासोपछि छड्के अनुगमण थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

अनुगमनको क्रममा १६ वटा कार्यालयका ४२ जना कर्मचारीहरु अनुपस्थित थिए । बिदाको कागज छाड्ने तर हाजिर खातामा नजनाउने तथा लामो समयदेखि बेखवर रहने कर्मचारीहरु छड्के अनुगमनमा भेटिएको प्रजिअले जानकारी दिए ।

कार्यालयमा नै बसिरहनुपर्ने भूमिका भएका कर्मचारीहरु महिनाको २९ दिनसम्म फिल्ड काज जनाएर सुविधा भोग गरिरहेको पनि छड्के अनुगमनमा फेला परेको छ । लामो समयसम्म हाजिर नगरी वेपत्ता भएका कर्मचारीहरु पनि भेटिएको प्रजिअ रिजालले बताए ।

उनका अनुसार लापरवाही गर्ने कर्मचारीहरुको सूची तयार गरेर कारबाही प्रकृया अघि बढाइने छ । अनुगमन प्रकृया निरन्तर गरिने पनि उनले जानकारी दिए ।

राज्यको सुविधामा कर्मचारी पोषाक खरिद गर्ने तर नलगाई कार्यालय जाने कर्मचारीहरु पनि भेटिएको छ । प्रशासनका अनुसार १२ जना कर्मचारीहरु कर्मचारी पोषाक विना कार्यालयमा भेटिएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्