रोपाईंजात्राको रौनक

अघिअघि हली र बाउसे पछिपछि रोपाहार, कुनै खेतमा उत्सवमय बेठी लगाएको झल्को दिने गरी जात्रा
विप्लव भट्टराई

इलाम — परम्परागत ढंगले इलाममा निकालिँदै आएको रोपाइजात्रा बिहीबार इलाममा निकालिएको छ । इलामसहित फिक्कल, मंगलबारे, दानाबारीलगायतमा पनि रोपाईंजात्रा निकालिएको छ ।

इलाममा नेवार समुदायको बसोवास सुरु भएदेखि नै प्रचलनमा रहेको जात्रालाई पछिल्लो समय सबै समुदायले स्थानीय पर्वका रूपमा मनाउँदै आएका छन् । जात्राको अवसरमा सदरमुकामस्थित सबै विद्यालयलाई बिदासमेत दिइएको थियो ।


जात्रामा रम्न बच्चादेखि पाकासम्मको ठूलो भीड देखिन्थ्यो । पछिल्लो समय मनोरञ्जनका साधन बढेसँगै पुराना संस्कृतिप्रतिको मोह घटदा भने जात्राको रौनकमा रंगिनेहरू घटदै गएका छन् । कुनै खेतमा उत्सवमय ढंगले बेठी लगाएर गरिएको ठ्याक्कै रोपाईंको झल्को दिने गरी यो जात्रा निकालिन्छ ।


बर्खाभरिको थकाई मेटदै एक आपसमा रामाइलो गर्ने उद्देश्यले परम्परादेखि अस्तित्वमा रहेको रोपाईंजात्रा निकालिँदा करिब २ सयले विभिन्न भूमिकामा अभिनय गरेका छन् । युवापुस्ता माझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले निरन्तरता पाएको जात्रा इलामेकाहरूलाई सांस्कृति सम्मिलनको पर्व समेत बनेको छ ।


अघिअघि हलिबाउसे, पछिपछि रोपाहर अनि पञ्जेबाजा र विभिन्न जातीय परम्परागत बाजागाजाका साथ घन्कने असारे गीतसँगै दिनभर यो जात्रा निकालिन्छ । सरकारी कार्यालयदेखि विद्यालयसम्म पुगेर जात्रा देखाउने चलन छ ।


‘यहाँ बसोबास गर्ने सम्पूर्ण समुदायकाले रोपाईं जात्रालाई साझा पर्वका रूपमा लिने गरेकाले यो इलामको मौलिक परम्पराका रूपमा स्थापित भएको छ,’ खोजकर्ता युद्ध वैद्यले भने, ‘पुराना कतिपय चलन भने लोप भएका छन् ।’

अहिलेसम्म जसोतसो यो परम्परालाई थेगिँदै आए पनि व्यवस्थापनका हिसाबले कठिन हुन थालेको उनको बुझाइ छ । ‘अब स्थानीय सरकारले यसलाई पर्यटक आकर्षणसँगै सांस्कृतिक सम्मिलनका रूपमा विकास गर्दै संरक्षण गरिनुपर्छ,’ उनले थपे ।


नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा जात्रा निकालिएको हो । लोप भइसकेको बेठी लगाएर रोपाई गर्ने चलनको झल्को जात्रामा पाइन्छ । ठूलाठालूले बाजागाजासहित ठूलो उपस्थितिमा उत्सवमय रोपाइ गर्ने चलन ‘बेठी’ बाट प्रभावित भएर यो जात्रा सुरु भएको पाकाहरू बताउँछन् ।


पुरुषले महिलाको महिलाले पुरुषको अभिनय गर्ने चलन जात्राको विशेषता हो । पहिले–पहिले भने रोपाहारको भूमिकामा पुरुषहरूले मात्र महिलाको भेष धारण गरी अयिनय गर्ने चलन रहे पनि अहिले महिलाहरू पनि रोपाहारको भूमिकामा देखिन्छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १०:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आत्महत्या बढ्यो

'निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्या’
दुरुत्साहनका १७ वटा मुद्दा दर्ता
विनु तिम्सिना

विराटनगर — समाजप्रतिको अलगाव, व्याप्त निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण पछिल्ला केही वर्षयता आत्महत्याका घटना बढदै गएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तीन वर्षको तथ्याङलाई हेर्दा प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको देखिन्छ । 

प्रदेश एकमा ०७३/७४ मा जम्मा १ हजार ८९ जनाले आत्महत्या गरेका थिए । त्यसमध्ये ५ सय ७३ जना पुरुष र ४ सय ४८ जना महिला छन् । आत्महत्या गर्नेको यो संख्या बढेर ०७४/७५ मा ११ सय ६९ पुगेको देखिन्छ । जसमध्ये पुरुषहरू ६ सय ७३ जना र महिला ४ सय रहेका छन् ।

यो संख्या आव ०७५/७६ मा झन बढेको देखिन्छ । ०७५/७६ मा आत्महत्या गरेका १२ सय ३५ जना मध्ये ७ सय ८१ जना पुरुष छन् भने महिला ३ सय २२ जना छन् ।

प्रदेशमा बालबालिकाको आत्महत्याको घटना समेत बढी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक किशोरकुमार दाहालले बताए । आत्महत्या गर्ने बालकभन्दा पनि बालिका बढिरहेको उनले जानकारी दिए । उनले दिएको तथ्याङ अनुसार प्रदेशमा ०७३/७४ मा २३ जना बालक र ४५ जना बालिकाले आत्महत्या गरेका थिए ।

आव ०७४/७५ मा यो संख्यामा वृद्धि भएर आत्महत्या गर्ने बालकको संख्या ३८ र बालिकाको संख्या ५८ पुगेको देखिन्छ । त्यस्तै गत आवमा यो संख्या झन बढेको देखिन्छ । गत आवमा ४९ जना बालक र ८३ जना बालिकाले आत्महत्या गरेका छन् । यसमध्ये पनि १४ जिल्ला रहेको प्रदेश एकमा अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा आत्महत्या गर्नेको संख्या बढी देखिएको दाहालले बताए ।

गत आवमा सबैभन्दा बढी झापामा २ सय ९३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङले देखाउँछ । जसमध्ये १ सय ७७ जना पुरुष, ८७ जना महिला, १४ जना बालक र १५ जना बालिका रहेका छन् । त्यसपछि अन्य जिल्लाभन्दा बढी मोरङमा २ सय ३२ जनाले आत्महत्या गरेका थिए ।

यसमध्ये १ सय ३१ जना पुरुष ६१ जना महिला, १७ जना बालक र २३ जना बालिका रहेका छन् । सुनसरीमा १ सढ ६४ जनामा १ सय २३ जना पुरुष, २६ जना महिला र १५ जना बालिका रहेका छन् । सुनसरीमा गतवर्ष बालकहरूको आत्महत्या गर्ने संख्या शून्य रहेको देखिएको छ ।

सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या झापामा देखिए पनि बालबालिकाको आत्महत्याको संख्यामा मोरङ अगाडि देखिएको छ । ‘बालबालिका आत्महत्याका पछाडि विभिन्न कारणहरू छन्,’ मोरङका प्रहरी प्रमुख विश अधिकारीले भने, ‘अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहको कमीका कारण आत्महत्या गरेको धेरै पाइन्छ ।’

अन्य उमेर समूहमा पनि धेरैजसो प्रेममा असफलता नै आत्महत्याको मुख्य कारण बन्ने गरेको देखिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रेममा असफलतासँगै पारिवारिक कलह झगडा, आर्थिक विपन्न हुँदा हुने तनाव, लागु पदार्थ सेवन र यी सबैका कारण हुने डिप्रेसन र मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको उनको भनाइ छ ।

पछिल्लो केही वर्षयता बालबालिकाहरूमा समेत डिप्रेसनको समस्या बढदै गएको मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेलले बताए । बालबालिकामा देखिने डिप्रेसनको समस्यालाई अभिभावहरूले समयमै नबुझा र अन्य उपचार गराईरहदा बालबालिकाको आत्महत्याको संख्या बढेको उनको भनाइ छ ।

‘केही वर्ष अघिसम्म ठूला मान्छेहरू आउँथे डिप्रेसनको समस्या लिएर, तर पछिल्लो केही वर्ष यता भने बालबालिमा पनि यो समस्या देखापर्न थालेको छ,’ उनले भने, ‘तर अभिभावकले बेलैमा नबुझदा मेरो बच्चालाई कहाँ डिप्रेसन हुनसक्छ र भन्ने सोचिदिँदा बालबालिकाहरूमा झन समस्या बढेको छ ।’

समाजशास्त्र तथा मावन शास्त्रका प्राध्यापक चन्द्र उपाध्यायका अनुसार समाज र परिवारबाट लगाव घटदै जानु र सामाजिक व्यवस्थाप्रतिको विश्वासमा कमी आएका कारण मानिसमा मानसिक समस्या बढरिहेको छ । जसका कारण आत्महत्याका घटनामा पनि वृद्धि भएको उनको भनाइ छ । ‘नेपाली समाजको ट्रेन्ड हेर्दा सामाजिक विचलन बढेको छ,’ उनले भने, ‘विचलित मानसिकता बोकेर मानिसले सही र खराब छुट्याउन सक्दैन जसको परिणाम उसले आत्महत्याको बाटो रोज्छ ।’

प्राध्यापक उपाध्यायका अनुसार जुन प्रयोजनका लागि समाजको आवश्यकताको महसुस गरिएको थियो अहिले विस्तारै त्यो भंग हुँदै गएको छ । भौतिकतावादी प्रतिस्पर्धामा मानिसहरूको बढी ध्यान गइरहेको छ । ‘पारिवारिक विखण्डनले मानिसको सोचाइ व्यक्ति केन्द्रित भइरहेको छ,’ उनले भने, ‘बच्चाहरूमा पनि घरमा आमाबुबाले समय नदिने हजुरबा हजुरआमा भए पनि घुलमिल हुन नसक्ने, टिभी र मोबाइलमा समय बिताउने यसले संवाद घटदै गएको छ ।’

प्रदेशमा १७ वटा दुरुत्साहन मुद्दा
प्रदेश एकमा प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको छ । अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि प्रहरीले आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिताअनुसार दुरुत्साहन मुद्दा लगाउन थालेको हो ।

नयाँ फौजदारी अपराध संहिता जारी भएपछि प्रदेश एकमा १७ वटा दुरुत्साहन मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ अनुसार प्रदेशको ८ जिल्लामध्ये खोटाङमा ४, झापा र संखुवासभामा २/२, उदयपुर र पाँचथरमा १/१, भोजपुर र मोरङमा ३/३ वटा दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

२०७५ भदौदेखि लागू भएको फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ । गत भदौदेखि लागु भएको नयाँ कानुन अनुसार प्रदेशमा १७ वटा दुरुत्साहनका मुद्दा दर्ता भएका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×