कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यालय नै रित्तै

धनकुटा — मध्याह्न कार्यालय पुग्दा कुनै कर्मचारी भेटिएनन् । हाकिमदेखि सहयोगीसम्म शून्य । जिल्ला प्रशासन कार्यालयबाट छडके अनुगमन गर्न गएको टोलीका सदस्य छक्क परे । 

कार्यालयको सबै फाँटका ढोका खुला थिए । न खाजाको समय थियो, न त अन्य खास कारण । हाजिरी खातामा कुनै कर्मचारीले हाजिर समेत गरेका थिएनन् । स्वास्थ्य तालिम केन्द्रमा मंगलबार यस्तो अवस्था फेला परेको हो ।


यस्तै अवस्था पाइएपछि यसअघि पनि अख्तियारको टोलीले छापा मारेको थियो । तर, फेरि उस्तै समस्या देखिएको एक कर्मचारीले बताए । तालिम केन्द्रमा ३ अधिकृत, ३ सहायक स्तर र १ सहयोगी कर्मचारी सबै गयल भएपछि अनुगमन टोलीले हाजिरी खातामा रातो मसिले कोरिदिएर फर्किएको छ । लापरबाहीको हद नाघेको अनुगमन टोलीमा रहेका प्रशासकीय अधिकृत सुधीर साफीले बताए ।


‘कार्यालय नै शून्य देख्दा हामी त छक्कै पर्‍यौं,’ उनले भने, ‘कार्यालयको मर्यादा पालन नगर्नेलाई कारबाही गर्न सिफारिस गरिएको छ ।’ दुई प्रशासकीय अधिकृत रामनारायण श्रेष्ठ र सुधीर साफीको नेतृत्वमा मंगलबार सरकारी कार्यालयमा छडके अनुगमन गरिएको थियो । टोलीले २१ कार्यालयमा छडके गर्दा ३२ कर्मचारी अनुपस्थित फेला परेको साफीले बताए ।


अनुगमनका क्रममा तीन वटा कार्यालयका प्रमुख नै बिदा नजनाई अनुपस्थित भेटिए । स्वास्थ्य तालिम केन्द्र, सहरी विकास र भू तथा जलाधार कार्यालयका प्रमुख छडकेमा परेका छन् ।


यस्तै, विभिन्न कार्यालयका ११ अधिकृत र १८ सहायक स्तरका कर्मचारीबिना जानकारी हाजिर थिएनन् । सबैभन्दा बढी सहरी विकास कार्यालयका ३ अधिकृत सहित ८ र जनस्वास्थ्य कार्यालयका ३ अधिकृतसहित ५ जना अनुपस्थित रहेका छन् ।


अनुगमन टोलीले कार्यालयमा उपस्थित हुने समय र पोसाकमा समेत निगरानी गरेको थियो । जसमा अधिकांशले कार्यालय पोसाक लगाएको फेला परेको जनाईएको छ । लापरबाही गर्ने संघीय सरकार अन्तर्गका कार्यालयका कर्मचारीलाई गृह मन्त्रालयमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।


प्रदेश अन्तर्गतका कार्यालयका कर्मचारीलाई प्रदेश १ मुख्य मन्त्रीको कार्यालय समक्ष जानकारी पठाइएको छ । छडके अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी कार्की समक्ष प्रतिवेदन पेस गरेको थियो ।


जिल्ला प्रशासन कार्यालय यस आर्थिक वर्षमा पहिलो पटक छडके अनुगमन गरेको हो । प्रशासनले अघिल्लो वर्ष दुई पटक मात्र अनुगमन गरेको थियो । अनुगमन गर्ने निश्चित समय नभएको कार्कीले बताए ।

प्रकाशित : भाद्र ६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?