२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भवन निर्माणमा प्रअले अनियमितता गरेको आरोप

खोटाङ — खोटेहाङ गाउँपालिकाको भगवती दिनानाथ माविका प्रअ कुमार पराजुलीमाथि अनियमितताको आरोप लागेको छ । भूकम्पपछिको पुननिर्माण कार्यक्रम अन्तर्गत ६ कोठे भवन निर्माणमा अनियमितता गरेको आरोप लागेको हो ।

प्रधानाध्यापक पराजुलीमाथि आर्थिक वर्ष २०७२/७३ मा ६ कोठे भवन निर्माणका लागि प्राधिकरण मार्फत्को ४८ लाख रुपैयाँको बजेटबाट करिब ९ लाख रुपैयाँ बराबरको अनियमित भएको आरोप लागेको हो । गत असार २८ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले निर्माण गरेको छानबिन समितिले उक्त रकम अनियमित भएको औँल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन बन्जराले बताए ।


उनका अनुसार प्रेम थापाको संयोजकत्वमा बनेको छानबिन समितिले अध्ययन गर्दा करिब ९ लाख १७ हजार रुपैयाँ अनियमित देखिएको हो । ‘छानबिन समितिले अनियमितता औँल्याएको प्रतिवेदन पेश गरेको छ ।’ अध्यक्ष बन्जराले भने,‘तर विद्यालय व्यवस्थापन समितिले यसको टुंगो लगाउन बाँकी छ ।’ बन्जराले थपे,‘वास्तविक कुरा के हो ? त्यसको प्रतिवेदन १५ दिनभित्र पेश गर्न भनिएको छ ।’


प्रधानाध्यापक कुमार पराजुलीले भने आफूमाथि षड्यन्त्र गरिएको बताएका छन् । ‘वास्तविकता नबुझिकनै अनावश्यक रुपमा हङ्गामा गरिएको छ ।’ प्रअ पराजुलीले भने–‘त्यत्तिकै चरित्र हत्या गर्न पाइदैन ।’


त्यसो त ६ कोठे भवन बनाउनुपर्नेमा विद्यालयको आवश्यकता अनुसार ९ कोठे निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्जराले बताए । यसका लागि करिब ८२ लाख खर्च भएको प्रअ पराजुलीले सुनाए । उक्त ९ कोठे भवन केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ज्ञानेश्वरमा डिजाइन स्वीकृति गराएर निर्माण गरिएको प्रअ पराजुलीले सुनाए ।

प्रकाशित : भाद्र ५, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?