चुरे विनाशको असर : खहरे खोलामा पानी सुक्दै

डिल्लीराम खतिवडा

उदयपुर — असारदेखि झन्डै ५ महिना पानी बग्ने द्वारे खोलामा एक महिना पनि राम्ररी पानी बगेन । घेरखोला, सिवाई, मुसहरिनिया, कंग खोलामा पनि पानी बग्न छाडेको छ ।

भदौमै सुकेको उदयपुरको चौदण्डीगढी क्षेत्रको द्वारे खोला । तस्बिर : कान्तिपुर

चुरे क्षेत्रमा मुहान भएका यी खोलामा दुई/तीन वर्षअघिसम्म असारदेखि माघसम्म पानी बग्ने गरेको थियो । तर यो वर्ष भदौ लाग्दै पानी बग्न छोडेको हो ।

बढ्दो चुरे वन विनाशसँगै भू क्षयका कारण बर्सेनि पानीको स्रोत सुक्दा भदौ/असोजमै पानीको संकट पर्दै गएको छ । पानीका स्रोत सुकेपछि चुरे तलका दजनौं बस्तीमा पशुपालन संकटमा परेको छ ।

बस्ती छेउका पानीका स्रोत सुकेपछि त्रियुगा, चौदण्डीगढी र वेलक नगरपालिकाको तल्लो तटीय क्षेत्रका दजनौं बस्तीका सर्वसाधरण समस्यामा परेका हुन् । ‘घर नजिकैका खोला खहरे भदौमै सुकेका छन्,’ स्थानीयले भने, ‘खोलमा पानी सुक्दै जाँदा घाँससमेत राम्रोसँग पलाएको छैन ।’ पानी अभावमा पशुपालन व्यवसाय चौपट भएको छ ।

चुरेमा पानीको स्रोत सुक्दै जाँदा उदयपुरमात्रै होइन सिरहा, सप्तरीमा समेत समस्या भएको हो । उदयपुर तर्फको त्रियुगा नदीसँगै चुरेबाट झर्ने दजनौं खोलामा भदौ पहिलो सातामै पानी सुकेको छ । कतिपय खोलामा मुहनामा समेत पानी छैन । खहरेमा वर्षातको समयमा समेत पानी आउन छोडेको सर्वसाधरणले बताए ।

चुरेबाट बग्ने द्वार, घेर, मुसहरनिया, कंग, लगायतका खोलामा वर्षातको समयमा पानीभन्दा बढी बलुवा र माटोको लेदो बग्ने गरेको छ । जमिन मुनिको पानीको स्रोत भासिँदै गएको र बालुवा थुप्रिँदा त्रियुगा नदी तटीय क्षेत्रमा हजारौं हेक्टर खेती योग्य जमिनमा खेती हुन छोडेको किसान बताउँछन् ।

चुरेबाट उदयपुरतर्फ मात्रै झन्डै १९ खोला खहरे बग्ने गरेका छन् । त्यसैगरी सिराहा र सप्तरीमा पनि दर्जनभन्दा बढी खोलाको मुहान चुरेमै पर्छ । पानीका स्रोत सुक्दै जाँदा उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी र वेलका नररपालिकाका चुरे तलका बस्ती रित्तिँदै गएका छन् ।

पशुपालन र मानवका लागि पानी नहुँदा सर्वसाधरणलाई गुजारामै समस्या हुँदै गएको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका राधेश्याम प्रसाईले बताए । तत्कालीन सुन्दरपुर गाविसका उपाध्यक्ष प्रसाईंले भने, ‘भदौमै पानी खोज्दै हिंडनु पर्ने अवस्था आयो ।’ झन्डै तीन वर्षयता चुरेबाट बग्ने खोलामा पानी बग्न छोडेको, भदौमा खोला सुकेपछि हिउँदमा खानेपानी कै अभाव हुने निश्चित रहेको उनले बताए ।

कटारीदेखि सप्तकोसीसम्मको तल्लो क्षेत्रका अधिकांश स्थानमा अपेक्षित मूल नै नफुटेको स्थानीय बताउँछन् । वर्षातम पानीको मुहान फुट्ने र हिउँदमा फागुन अन्तिमदेखि सुख्खा हुने यस क्षेत्रमा भदौमा नै सुख्खा लागेको उनीहरूले बताए ।

‘पहिलेको जस्तो जताजतै पानीको स्रोत पाउन छोडिसक्यो,’ कटारी नगरपालिका १ त्रिवेणकी रञ्जना कार्कीले भनिन, ‘४/५ वर्ष पहिले जस्तो सिंचाइ गर्ने अवस्था अहिले छैन, सिंचाइ गर्ने पानी अहिले पिउनमात्रै प्रयोग गर्न पुग्छ ।’ बढ्दो जनसंख्यासँगै वन विनाश र जलवायु परिवर्तनले असर गर्दा खोला खहरेको मुहान सुक्दै गएको उनले बताए ।

‘भदौमै खोला खहरेमा पानी सुकेपछि रिस्कु, मुसहरिनिया, खोरिया, सुन्दपुर, सिर्वानी लगायका ठूलो जनघनत्व भएका बस्तीका सर्वसाधरण अन्यत्रै जानेकी भन्ने सोचमा पुगेका छन्,’ चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका मानबहादुर राउतले भने, ‘नदीमा पानी सुक्दै जाँदा स्थानीय जनजीवन र कृषिमा असर परेको छ ।’

चुरे विनाशका कारण प्राकृतिक नियममा पनि व्यापक परिवर्तन देखिएको छ । जलाधर सुकेका कारण चुरे तलका खोलामा पानीको सतह भासिँंदै गएको विज्ञहरू बताउँछन् । सिराहा, सप्तरी र उदयपुरका सिमानामा पूर्व–पश्चिम फैलियको चुरे पहाडको कमलादेखि कोसीसम्मको भावर क्षेत्रका गाउँमा भूमिगत पानीको स्रोत सुक्दै गएकोमा सर्वसाधरण चिन्तित छन् ।

प्रकाशित : भाद्र ५, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

व्यावसायिक खेतीमा किसान

डिल्लीराम खतिवडा

उदयपुर — केही वर्षयता जिल्लामा व्यावसायिक खेती गर्ने किसानको संख्या बढेको छ । तरकारीसँगै कुरिलो, बाँस, सुन्तला, बेसार, अदुवा, अम्लिसो र तेजपातलगायतको व्यावसायिक खेती गर्ने बढेका हुन् ।

किसानले जमिनको प्रकृति र माटो सुहाउँदो खेतीको सुरुवात गरेका छन् । प्राविधिकलाई माटोको परीक्षण गराई उनीहरूकै सल्लाहमा खेती गरिने भएकाले विगतको तुलनामा दोब्बर बढी उत्पादनहुन थालेको छ । परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि चार वर्षदेखि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन सुरु गरिएको किसानले बताए ।

‘आफ्नो उत्पादन बजारसम्म लैजान नसक्दा खेतीपातीबाट निराश भइसकेका थियौं,’ रौतामाई गाँउपालिका–६ नामनताका किसान तिलकबहादर मगरले भने, ‘गाउँमा यातायातका साधन पुगेपछि व्यावसायिक खेतीमा लागेका छौं ।’ यातायात सञ्चालनपछि किसानले थोरै खर्चमै उत्पादन बजारसम्म लैजान पाएका छन् । गाँउघरको तुलनामा दोब्बर बढी आम्दानी लिनथालेका छन् ।

‘गत वर्ष बाँस बेचेर झन्डै अढाइ लाख रुपैयाँ कमाइयो,’ चौदण्डीगढी नगरपालिका–१ चौदण्डीका नरमान चाम्लिङ राईले भने, ‘भिरालो र ओसिलो पाखोबारीमा बाँसका झाङबाहेक अरू केही नसप्रिँदा दिक्क लाग्थ्यो । अहिले त्यसैले आम्दानी दिलायो ।’ कच्ची सडक गाँउमै पुगेपछि बाँस बेचेर कल्पनै नगरेको रकम हात लागेको उनले बताए ।

गाँउघरमा खेर गइरहेको सिस्नो खरिदका लागि घरघरमै मान्छे पुग्न थालेपछि त्रियुगा नगरपालिका–१५ खाबुमा सिस्नोको व्यावसायिक उत्पादन सुरु भएको छ । सिस्नोको माग सहरमा अत्यधिक भएको र उत्पादन सजिलै बिक्री हुन थालेपछि खाबु क्षेत्रका महिलाले व्यावसायिक उत्पादन सुरु गरेर संकलन केन्द्र नै खोलेका हुन् ।

‘पहिले सुँगुरको आहाराका लागि मात्र प्रयोग गरिने सिस्नु टिपेर केन्द्रमा ल्याउनेलाई अहिले ५० रुपैयाँ प्रतिकिलो दिने गरेका छौं,’ लेकाली महिला सिस्नु संकलन केन्द्रकी व्यवस्थापक मैया विकले भनिन्, ‘प्रशोधन गर्ने उपकरणको अभावमा अहिले संकलन गरिएको सिस्नो सुकाएर बिक्री गर्दै आएका छौं ।’ ओसिलो ठाउँमा सुकाइएको सिस्नु औषधि र तरकारीका लागि प्रतिकेजी हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताइन् ।

साउने र खाबुका महिलाले अहिले सिस्नो बेचेर दैनिक ७ सय रुपैयाँ आम्दानी गरिरहेको संकलन केन्द्रकी अध्यक्ष शान्ता मगरले बताइन् । ‘एकजना महिलाले दैनिक १४ केजीसम्म सिस्नु संकलन गरिरहेका छन्,’ उनले भनिन्, ‘सडक यातायातको अभावमा सस्तो भएको सिस्नो अहिले हाम्रा लागि सुनभन्दा मूल्यवान् छ ।’

प्रकाशित : भाद्र २, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्