सामग्री अभावमा ९ पुल अलपत्र

संखुवासभा — मकालुमा खोलिएका दुई क्रसर उद्योग बन्द भएपछि त्यस क्षेत्रमा निर्माणका काम ठप्प छन् । क्रसर उद्योग स्थापनाका लागि मापदण्ड नपुगेको भन्दै गत पुसमा मकालु बरुण राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो ।

यहाँ ९ वटा पुल निर्माणका लागि मकालु गाउँपालिका ३ समाटारमा स्काई–कार्की बन्धु जेभी र रौताह–एसएएसले राखेको क्रसर उद्योग बन्द गरिएको हो । क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीले काम ठप्प पारेका छन् ।


सम्झौतामा स्थानीय स्तरमा उत्पादन गरिएको गिटी बालुवा प्रयोग गर्ने उल्लेख गरिएको छ । बाहिरबाट कच्चा पदार्थ ल्याउँदा आर्थिक भार अत्यधिक हुने भएकाले काम गर्न नसकिएको व्यवसायी सन्तोष राईले बताए । स्टिमेटमा गिटी बालुवाको लागत स्थानीय स्तरको राखिएकाले अन्यत्रबाट ल्याउँदा दोब्बर महँगो पर्ने उनले बताए ।


उत्तर दक्षिण कोसी सडक अन्तर्गत अरुण नदीभन्दा माथि याक्रे खोला, नाङ् खोला, चोङ् खोला र जोर खोलामा पुल निर्माण गर्न सुरु गरिएको थियो । १५ करोडमा स्काई–कार्की बन्धु जेभीले ठेक्का लिएको चारवटा पुल २० महिनाभित्र सम्पन्न गर्ने गरी गत असोज १५ मा सम्झौता गरिएको थियो । सबै पुल क्रमागत अन्तर्गतका योजना हुन् ।


उवा खोला, उहाङ् खोला र एकुवा खोलामा पुल निर्माणका लागि रौताह–एसएएस जेभीले १२ करोड लागतमा निर्माणको जिम्मा लिएको थियो । सोही खण्डको ठाडो खोला र उवा खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्सन प्रालिले पाएको थियो । दुईवटा पुल १५ करोड ७० लाखमा निर्माण गर्नुपर्ने छ ।


आवश्यक कच्चा पदार्थ उत्पादन नहुँदा नौवटा पक्की पुल अलपत्र परेका छन् । पुलहरूको जग खन्न सुरु गर्दा गर्दै क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीहरूले काम रोकेका हुन् । करिब एक वर्षसम्म काम अडिएपछि निर्धारित समयमा काम सम्पन्न नहुने व्यवसायीले बताए ।


लामो समयका लागि उद्योग नै सञ्चालन गर्ने गरी क्रसर सञ्चालनमा नल्याएको समेत रौताह कन्ट्रक्सन प्रालिका सञ्चालक राईले बताए । वातावरणीय प्रभाव मूल्यांकन, अन्य प्राविधिक व्यवस्थापन लगायतका काम सम्बन्धित कार्यालयले गर्नुपर्ने हुन्छ, उनले भने, त्यसो नगरिएकाले समस्या परेको हो ।


निर्माणको काममा विरोध आएपछि वातावरणीय प्रभाव मूल्याङकन गरिएको र प्रतिवेदन आउन बाँकी रहेको उत्तर दक्षिण कोसी सडक आयोजना कार्यालयका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।


‘प्रभाव मूल्यांकनका लागि परामर्शदाता खटाएर सम्पूर्ण अध्ययन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘केही दिनमा प्रतिवेदन आउनेछ । सकारात्मक प्रतिवेदन आए त्यस लगत्तै काम सुचारु हुनेछ, वातावरणलाई प्रभाव पार्ने खालको भए थप छलफल गरेर अघि बढाइनेछ ।’


त्यस क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन नगरी आफूखुसी क्रसर उद्योग सञ्चालन गरिएकाले सञ्चालनमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए । ‘वातावरणीय हिसाबले संवेदनशील क्षेत्रका रूपमा लिइएको मकालु क्षेत्रमा प्रभाव मूल्यांकन अति जरुरी हुन्छ, उनले भने, त्यो प्रक्रिया पूरा नभएकाले रोक्नु परेको हो ।


अब वातावरणीय प्रभाव मूल्यांकन गराएर सकरात्मक प्रतिवेदन आएपछि काम सुरु गर्न दिन्छौं ।’ हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, नियम ३०, बमोजिम निकुञ्ज क्षेत्रमा कुनै पनि निर्माण गर्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था छ ।


मध्यवर्ती क्षेत्र व्यवस्थापन नियामावली २०५२, नियम १७ का अनुसार वातावरणमा प्रतिकूल असर पर्न सक्ने गरी ढुङ्गा, माटो, बलुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ, माटो वा अन्य यस्तै पदार्थ निकाल्न नपाइने उल्लेख छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?