भारतीय पर्यटक घटे

विनु तिम्सिना

विराटनगर — प्रदेश एकमा भारतीय पर्यटकको संख्यामा कमी आएको भन्दै पर्यटन व्यसायीले चिन्ता व्यक्त गरेका छन् । सरकारले घोषणा गरेको भ्रमण वर्ष सुरु हुनै लाग्दा भारतीय पर्यटकको आवागमन घट्नु चिन्ताको विषय भएको व्यवसायीले बताए ।

सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्रदेश एकमा पनि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।


मुख्य गरी प्रदेश एकमा भारतीय पर्यटक नै आउनै गरेको व्यसायी भविस श्रेष्ठ बताउँछन् । तेस्रो मुलुकको पर्यटक सगरमाथा लगायतका हिमाल आरोहणका लागि मात्रै आउने गरेको र उनीहरू काठमाडौंबाट हिमाली जिल्लामा सोझै जाने गरेका छन् ।


तेस्रो मुलुकका पर्यटक तराई र पहाडी जिल्लालाई गन्तव्य बनाएर नआउने गरेको उनले बताए । तर, पछिल्लो एक वर्षयता भने भारतीय पर्यटकको पनि आउने क्रम ५० प्रतिशतले घटेको उनले बताए । भारतीय, बिहारी भनेर नेपालमा र सीमामा गरिने दुर्व्यवहारका कारण उनीहरू आउन हिच्काउने गरेको उनको भनाइ छ ।


‘प्रहरीको अनावश्यक जाँचका कारण नेपाल आउने भारतीय पर्यटकको संख्या ५० प्रतिशतले घटेको छ,’ उनले भने दैनिक २५ देखि ३० वटा भारतीय गाडी नेपाल भित्रिने गरेकोमा अहिले मुस्किलले १० वटा गाडी भित्रिन्छन् ।’ नेपाल र भारतको खुला सीमाका कारण प्रदेश एकमा जोगवनी नाका, काँकडभिट्टा र इलामको पशुपति नगर नाकाबाट भारतीय पर्यटक धेरै आउने गरेका छन् ।


‘सिमामा भारतीय भनेर हेप्ने र उनीहरूको राष्ट्रियतालाई लिएर अपशब्द प्रयोग गरेको गुनासो धेरै आउँछ,’ व्यवसायी श्रेष्ठले भने, साथै भारतीय नम्बर प्लेटको गाडी देख्नासाथ नियतबस अनावश्यक जाँच गर्ने र लफडा लगाउने प्रवृत्तिले पनि उनीहरू हतोत्साही बनेका छन् ।’


प्रहरीले भन्सार कार्यालय विराटनगरमा जाँच गर्ने, त्यसपछि निमुवा, दुहबी, इटहरी, धरानमा पटकपटक सोही तरिकाका जाँच गरिँदा पर्यटकहरू हैरान बनेको क्षेत्रीय होटल संघ प्रदेश एकका अध्यक्ष राजन श्रेष्ठले बताए । होटलमा बसेका मानिसलाई पनि जाँचका नाममा अनावश्यक होच्याउने गरेका कारण पनि भारतीय पर्यटक आउनै छाडेको उनको भनाइ छ ।


सरकारले पर्यटन वर्ष सन् २०२० को २० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा नहुने उनको भनाइ छ । ‘होटलमा करोडौं लगानी गरेका छौं अपराधीलाई राख्ने मनसाय हाम्रो पनि होइन,’ उनले भने, ‘तर सुरक्षा जाँचको नाममा पर्यटकलाई दु:ख दिँदा पर्यटन क्षेत्र धराशायी बन्छ, यसले देशलाई नै घाटा हुन्छ ।’


प्रहरीले विराटनगरमा केही दिन अघि होटलमा छापा मारी दर्जनौं जोडीलाई पक्राउ गरेको थियो । त्यस क्रममा कतिपय उपचारका लागि आएका बिरामीहरू र श्रीमान श्रीमती समेत भएको होटल व्यवसायीको दाबी छ । होटल व्यवसायी विजय प्रसाईले जाँचको नाममा प्रहरीले होटलमा छापा मारेर आतंकको माहोल सिर्जना गरेको बताए ।


‘होटलमा अवैध यौन क्रियाकलाप नै हुँदैनन् भन्न सकिन्न, तर प्रहरीको छापा मार्ने शैलीमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘कतिपय होटलमा हुनसक्छन् यस्ता अनैतिक क्रियाकलाप, तर धरपकड शैलीभन्दा पनि प्रहरीले सिविलमा होटलमा छापा मार्दा राम्रो हुन्छ ।’


जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्वराज अधिकारीले पर्यटन वर्षलाई असर गर्ने गरी प्रहरीले कुनै जाँच नगरेको बताए । केही समय अगाडि होटलबाटै साफ सुटर पक्राउ गर्न सफल भएको बताउँदै उनले होटल व्यवसायीले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।


केही समययता तराईका जिल्लामा मोबाइल पसल चोरी गर्ने संगठित गिरोह भारतबाट आएको र चोरीका घटना गराइरहेको बताउँदै उनले त्यसलाई नियन्त्रण गर्न पनि प्रहरीले सचेतता अपनाएको बताए । ‘पछिल्लो समय भारतीय अपराधीहरू यहाँ सक्रिय भएका छन्,’ उनले भने, ‘यस्तोमा शान्ति सुरक्षाका लागि प्रहरीले गर्ने जाँचलाई झन्जट नमानी होटल व्यवसायीहरूले सहयोग गर्नुपर्छ ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले अपराध नियन्त्रणका लागि सहज हुने भएकाले प्रत्येक होटलमा सीसीटीभी जडान गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र ५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?