१ अर्ब २३ करोड फ्रिज

कान्तिपुर संवाददाता

संखुवासभा — चालु र पुँजीगततर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा आएको रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त रकममध्ये २० प्रतिशत रकम गत आर्थिक वर्षमा खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ मा पुँजीगततर्फ १ अर्ब २३ करोड ३ लाख ३२ हजार फ्रिज भएको छ । संघ र प्रदेश सरकारले जिल्लाको विकासका लागि ६ अर्ब ४३ करोड ७१ लाख ६९ हजार उपलब्ध गराएको कोष नियन्त्रक प्रकाश भट्टराईले जानकारी दिए । प्राप्त रकममध्ये ५ अर्ब २० करोड ६८ लाख ३७ हजार मात्र खर्च भएको उनले बताए ।

प्रकाशित : भाद्र ४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय परिचयपत्रको काम सुरु

कान्तिपुर संवाददाता

(संखुवासभा) — जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु गरेको छ । परिचयपत्रका लागि विवरण संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन् ।

साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो । दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा विवरण संकलन भइरहेको छ । सदरमुकाममा विवरण संकलन कार्य सुरु भएको एक महिना बितिसक्दा पनि स्थानीय तहमा भने कर्मचारी खटाउन सकेको छैन ।

केन्द्रले असोजपछि मात्र थप कर्मचारी पठाउने भएकाले स्थानीय तहमा काम गर्न ढिलाइ भएको हो । एक महिनामा सदरमुकाम खाँदबारीबाट ३ सय ८७ जनाको विवरण दर्ता भइसकेको जबेगुले जानकारी दिइन् । विवरण संकलन भएको एक/दुई महिनापछि मात्र केन्द्रबाट परिचयपत्र बनेर आउने छ ।

अहिले जिल्ला प्रशासनमा नागरिकता बनाउन आउने सेवाग्राहीको मात्र विवरण संकलन भइरहेको छ । परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दस औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्छ । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइको कागजात सक्कल आवश्यक पर्छ ।

प्रकाशित : भाद्र ४, २०७६ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्