कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'भुदेउ' मृत्यु प्रकरणमा संलग्न प्रहरीमाथि अझै अनुशन्धान भएन

डम्बरसिं राई

खोटाङ — प्रहरी हिरासतमै ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्न प्रहरीमाथि अझै अनुसन्धान हुनसकेको छैन ।

'भुदेउ' मृत्यु प्रकरणमा संलग्न प्रहरीमाथि अझै अनुशन्धान भएन

ओखलढुङ्गास्थित उच्च अदालतले परमादेश जारी गरी अनुसन्धान सुरु गर्न भनिए पनि अझै त्यसको अनुशन्धान भएको छैन ।

तत्कालीन प्रहरी नायव उपरीक्षक राजिव बस्नेत, प्रहरी निरीक्षक रमेशकुमार देवसहित एघार प्रहरी विरुद्ध प्रहरीले मुद्दा नलिएको भन्दै परेको उजुरीमाथि उच्च अदालतका वरिष्ठतम् न्यायाधीस टेकराज नेपाल र न्यायाधीस दीपेन्द्रबहादुर बमको २०७४ भदौ १५ गतेको इजलासले परमादेश जारी गरेको थियो । बस्नेत अहिले बहालवाला एसपी छन् ।

ज्यान मारेको अभियोगमा २०७० जेठ–२८ गते पक्राउ परेपछि हिरासतमा राखिएको अवस्थामा प्रहरीको यातनाबाट भुदेउको २०७० असार–२६ गते ज्यान गएको थियो । राष्ट्रिय मानवअधिकार आयोगले थुनुवा राईको यातनाबाट मृत्यु भएको भन्दै घटनामा संलग्न प्रहरी नायव निरीक्षकद्वय महेन्द्र खत्री र मुकुन्दप्रसाद बिडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारवाही गर्न तथा तत्कालीन प्रहरी नायव उपरीक्षक बस्नेत र प्रहरी निरीक्षक देवलाई विभागीय कारवाही गर्न २०७० साउन ३० गते निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गरेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङका प्रमुख सुवोध पोखरेलले बताए ।


राष्ट्रिय मानव अधिकार आयोगले त्यसैबेला पीडित परिवारलाई आयोगको ऐन २०६८ को दफा १६ को ३ बमोजिम तीन लाख क्षतिपूर्ति उपलब्ध गराउँन समेत सिफारिस गरेको थियो । आयोगको निर्णयपछि मृतकका परिवारले हत्यामा संलग्न प्रहरी विरुद्ध किटानी जाहेरी दिएका थिए ।


प्रहरीले किटानी जाहेरी अस्वीकार गरेपछि पीडित परिवारले न्याय प्रशासन पाउने अधिकारबाट बन्चित भएको भन्दै पुनःआयोगमा उजुरी दर्ता गरेका थिए । यसै उजुरीको आधारमा आयोगले फेरि अनुसन्धान गरी आयोगको निर्णय अनुसारै कार्यान्वयन गराउन सरकारलाई सिफारिस गरेको थियो । भुदेउ प्रहरी हिरासतमा रहेको बेला शौचालयबाट भागेका थिए ।


हिरासतमै रहेको बेला भागेका उनलाई बुइपाबाट पक्राउ गरी ल्याउने क्रममा प्रहरीले शारीरिक यातना दिएकाले मृत्यु भएको मृतकका बाबु बुद्धिबहादुर राईले दाबी गर्दै आएका छन् । हत्यामा संलग्न प्रहरीलाई कारबाही गर्न पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको भन्दै आफन्तले उच्च अदालत ओखलढुङ्गामा मुद्दा दायर गरेका थिए ।


प्रकाशित : भाद्र ३, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?