कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संरक्षित वन्यजन्तुमा पर्ने १२ सुन गोहोरोसहित एक पक्राउ

जितेन्द्र साह

(विराटनगर) — झन्डै एक किलोग्रामतौल भएको १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले मोरंगको सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बन्देज लगाइसकेको छ ।

संरक्षित वन्यजन्तुमा पर्ने १२ सुन गोहोरोसहित एक पक्राउ

तर विभिन्न प्रयोजनको लागि ‘सुन गोहोरो’ को भारत र अन्य मुलुकमा तस्करी हुँदै आएको छ ।


तराई–मधेसको खेतबारी र कुलोमा बस्ने सुन गोहोरो मोरङको दक्षिण भेगबाट समेत पारी निकासी हुँदै आएको देखिएको छ । साइकलमा लोड गरिएको ति सुन गोहोरोसहित ५९ वर्षीय जसबहादुर धिमाललाई पक्राउ गरिएको मोरंगको रंगेलीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी मोरंगकै पथरी शनिश्चरे नगरपालिका–६ का बासिन्दा हुन् ।


नियमित गस्तीको क्रममा प्रहरीले धिमाललाई मोरंगको सुन वर्षी नगरपालिका–८ स्थित डायनिया सिकटी सडक खण्डको डायनिया छोटी भन्सार कार्यालय अघिल्तिरबाट ति वन्यजन्तुसहित नियन्त्रणमा लिएको हो । पहेलो र छिरमिरे रङ हुने सुन गोहोरोको छाला डमरूमा प्रयोग हुनेगर्छ । भारत पुर्‍याउँदा ५ हजार देखि १० हजार रुपैयाँसम्म प्रतिगोटा यो बिक्री हुन्छ ।


सुन गोहोरोलाई २ वटा बोराभित्र राखेर बाँधी साइकलमा राखेको अवस्थामा धिमाललाई पक्राउ गरेको इप्रका रंगेलीका प्रमुख निरीक्षक लेखनाथ दाहालले बताए । ती १२ वटै सुन गोहोरो जिउँदै छन् । निरीक्षक दाहालका अनुसार लक लगाएर राखेको अवस्थामा एउटा बोरामा ७ थान र अर्कोमा ५ थान सुन गोहोरो फेला परेको थियो । आवश्यक थप कारवाहीका लागि विराटनगरस्थित डिभिजन वनकार्यालयमा सुन गोहारोसहित पक्राउ परेका धिमाललाई बुझाएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।


सरकारले यि जन्तुको निकासी पैठारीमा पूर्ण बन्देज लगाएको हुनाले यसको कारोबार गर्नेलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अर्न्तगत मुद्दा चलाएर कारवाही गरिन्छ । यो मुद्दामा दोषी ठहरिएकालाई अदालतले २ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने कानूनी प्रावधान छ ।


प्रकाशित : भाद्र २, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?