अनियमित बिजुलीले हैरानी

विनु तिम्सिना

विराटनगर — नियमित विद्युत आपूर्ति नहुँदा र बेलाबेलामा भोल्टेजको समस्याले विराटनगरस्थित कोसी अञ्चल अस्पताल सेवा प्रभावित बनेको छ । नियमित विद्युत आपूर्ति नहुँदा शल्यक्रियाका लागि तय गरिएको मितिसमेत सार्नुपर्ने अवस्था भइरहेको अस्पतालका नासु काशीराज पराजुलीले बताए ।

साउन २४ गते तय गरिएको अर्थोपेडिक वार्डका एक जना बिरामीको शल्यक्रिया विद्युत आपूर्तिमा समस्या भएपछि दुई दिन पछाडि सार्नु परेको उनले बताए । त्यस्तै साउन २६ गतेलाई तय गरिएको अर्थोवार्डकै २ वटा शल्यक्रिया पनि २८ गतेलाई सार्नु परेको उनले बताए । ‘नियमित विद्युत आपूर्ति नहुँदा शल्यक्रिया कक्षका हेभी उपकरण सञ्चालन गर्न नसक्दा भनेको समयमा अपरेसन गर्न सकिएको छैन,’ उनले भने, ‘हामीसँग भएका सामान्य जेनेरेटर ती उपकरणको क्यापासिटी थाम्न सक्दैन ।’


एकातर्फ नियमित विद्युत आपूर्ति नहुँदाको समस्या अर्को तर्फ भएका बेला समेत विद्युतको भोल्टेज घटीबढी हुँदा अस्पतालको दुईवटा डायलासिस मेसिन समेत बिग्रीएको उनले बताए । अस्पतालमा हाल ७ वटा डायलासिस मेसिन छ । यसमध्ये दुई मेसिन नयाँ हुन् जुन जडान गर्न बाँकी नै छ ।


विद्युत भोल्टेजको समस्याका कारण डेढ हप्तादेखि दुई वटा मेसिन बिग्रिएको पराजुलीले जानकारी दिए । ७ वटा डायलासिस मेसिनमध्ये अहिले ३ वटा मात्रै सञ्चालनमा छन् । ‘डेढ हप्ता भयो मेसिन बिग्रिएको, डायलासिस मेसिन बिग्रिएकै समयमा हामीले त्यससँग सम्बन्धित प्राविधिक बोलाएर देखाएका थियौं,’ उनले भने, ‘भोल्टेजको समस्याका कारण मेसिनको पावर सेरिङ युनिटमा समस्या आएको भन्ने कुरा आएको छ । यहाँ नपाउने भएकाले जर्मनीबाट सामान मगाइएको छ अब चाँडै सुचारु हुन्छ ।’


एउटा मेसिनले दिनमा २ जनासम्म बिरामीको मृगौला डायलासिस गर्न सकिने हुँदा २ वटा मेसिन बिग्रिँदा ४ जनाको सेवा प्रभावित भएको उनले बताए । तीनवटा मेसिन सञ्चालनमा रहेकाले त्यसै अनुसार व्यवस्थापन गरेर बिरामीलाई भने नफर्काएको उनले बताए ।

नियमित विद्युत आपूर्ति नहुँदा र भोल्टेजको समस्याका कारण समग्र अस्पताको सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुणराज लोहनीले बताए । समस्या समाधानका लागि विद्युत प्राधिकरणसँग छलफल गर्ने उनले बताए ।


साथै अस्पतालमा ठूलो क्षमताको जेनेरेटरको व्यवस्थापन गरिने या ट्रान्सफरमर जडानका विषयमापनि विद्युत प्राधिकरणसँग आवश्यक परामर्श गरिने उनले बताए । विद्युतका समस्याका कारण अस्पतालका ल्याब, एक्सरे, सिटीस्क्यान र आईसीयु सेवा समेत प्रभावित बनेको छ । विद्युतका कारण समयमै ल्याब परीक्षणका रिपोर्टहरू दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ । विद्युतका कारण एकै दिनमा आउने ल्याब परीक्षणका रिपोर्टका लागि बिरामीहरूले दुई दिन कुर्नुपर्ने समस्या भएको अस्पतालले जनाएको छ ।


कटहरी सबस्टेसन सञ्चालन भएन

लोभोल्टेजको समस्या समाधानका लागि विद्युत प्राधिकरणले कटहरीमा ३३ केभीए सबस्टेसन निर्माण गरेको छ । रानी सबस्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरीमा सबस्टेसन निर्माण गरेको हो ।


असारको पहिलो हप्ता परीक्षण सम्पन्न गरेर सञ्चालन योग्य रहेको बताएको प्राधिकरणले ग्रामथान–५ गिधनिया बस्तीमा भएको विद्युत प्रसारण लाइन अझै बन्न सकेको छैन । स्थानीयले आफूहरूलाई समस्या हुने भन्दै गाडिसकेको पोलमा तार जडान गर्न दिएका छैनन् ।


विद्युत प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभीए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडीसकेको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?