कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

५ लाख पर्यटक भित्र्याइने

सरकारी लक्ष्यअनुसार २०२० मा २० लाख पर्यटक भित्र्याइने र त्यसको एक चौथाइ धनुकटामा पुर्‍याइने 
रमेशचन्द्र अधिकारी

भेडेटार, धनकुटा — सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० को अवधिमा धनकुटामा ५ लाख पर्यटक भित्र्याउने योजना अघि सारिएको छ । पर्यटन वर्ष २०२० सुरु हुन मुस्किलले पाँच महिना बाँकी छ । समग्र मुलुकभर सन् २०२० को एक वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । 

५ लाख पर्यटक भित्र्याइने

त्यसको एक चौथाई आन्तरिक तथा बाह्य पर्यटक भने धनकुटामा भित्र्याउने लक्ष्यका साथ जिल्लाका पर्यटन व्यवसायी जुट्न थालेका छन् । जिल्लाको चर्चित पर्यटकीयस्थल भेडेटार, नाम्जे, डाँडाबजार, राजारानी, हिले, पाख्रिबास लगायतका स्थानमा पर्यटन वर्षलाई लक्षित गरी तयारी थालिएको छ ।


ती स्थान भित्रिने मुख्य द्वार भेडेटारमा यसको तयारी द्रुत रूपमा थालिएको पर्यटन व्यवसायी विष्णुराज श्रेष्ठ बताउँछन् । ३० वर्षदेखि पर्यटन क्षेत्र तथा होटल व्यवसायमा जुटेका श्रेष्ठले पर्यटन वर्षलाई स्वागत गर्न आतुर रहेको बताए ।


‘हामी आगामी पाँच महिनाको पर्खाईमा पर्यटन वर्षलाई स्वागत गर्न लालायित छौं,’ उनले भने, ‘अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रूपमा जुटेका छौं ।’ भेडेटार क्षेत्रमा सदावहार पर्यटक भित्रिने गरे पनि अधिकतम आगन्तुक भित्र्याउन विशेष आधार रहेको उनको दाबी छ ।


एसियाली विकास बैंक (एडिबी) सँगको सहकार्यमा पर्यटन सम्बन्धी गतिविधि थालनी गर्न लागिएको उनले बताए । पर्यटनका पर्याप्त सम्भावना बोकेको स्थान भएकाले एडिबीले भेडेटारमा पर्यटनसम्बन्धी लगानी गर्न लागेको श्रेष्ठको भनाइ छ ।


३ सय ५० करोडको लागतमा निर्माण भइरहेको रवि राँके इलाम, कन्याम पाँचथर सडकले पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याएको उनी बताउँछन् । उक्त सडकको मुख्य विन्दु भेडेटारबाट अब ६ घण्टामा ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीस्थल पुग्न सकिन्छ ।


होटल एसोसिएसन भेडेटारको अगुवाइमा पर्यटन वर्षमा पर्यटक आकर्षणका थप अभियान थालिएको संस्थाका निवर्तमान अध्यक्ष लीलाराज लावतीले बताए । उक्त अवधिमा भेडेटार भएर समग्र जिल्लामा ५ लाखभन्दा बढी पर्यटक भित्र्याइने लक्ष्य रहेको उनी बताउँछन् ।


उनका अनुसार निर्माणाधीन थाउजेन्ड बुद्धले देश विदेशका पर्यटक भित्र्याउन मद्दत पुग्नेछ । पर्यटन वर्षलाई मध्यनजर राखी भेडेटारमा सांस्कृतिक संस्था खोलिएको छ । जसमा विभिन्न सात जातजातिको वेशभूषा र गरगहना समावेश गरिएको छ । भेडेटार पुग्ने पर्यटकले ती पहिरन र गरगहना लगाएर तस्बिर खिच्ने व्यवस्था गरिएको छ ।


पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले पर्यटन वर्षमा अधिकतम पर्यटक भित्र्याउन जुटेको बताए । प्रदेशस्तरीय पर्यटन वर्ष २०२० मनाउने बारे गठन गरेको समितिका सदस्य समेत रहेका विष्टले स्थानीय स्तरमा अझै यसबारे आवश्यक चासो जान नसकेको बताए ।


मन्त्री तथा मुख्य मन्त्रीसँग समेत बैठक बस्न बाँकी रहेको उनले जानकारी दिए । ‘पर्यटन वर्ष सफल पार्न समितिका पदाधिकारीबीच पटकपटक बैठक बसेर छलफल गरिएको छ,’ उनले भने, ‘समय नजिकिरहेकाले आवश्यक रणनीति तय गर्न हतारिरहेका छौं ।’


होमस्टे एसोसिएसन नाम्जेका अध्यक्ष तथा केन्द्रीय सदस्य अनिलकुमार राना पर्यटन वर्षमा नाम्जेमा मात्रै कम्तीमा ५ लाख भित्र्याउने दाबी गर्छन् । विश्व कै पुग्नै पर्ने गन्तव्यमा सूचीकृत नाम्जेमा दैनिकरूपमा आन्तरिक तथा बाह्य पर्यटक आउनु सामान्य बनेको उनको तर्क छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?