कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

खेती गर्‍यो, वन्यजन्तुलाई ठिक्क

कान्तिपुर संवाददाता

तेह्रथुम — जंगली जनावरले बारीमा लगाएको बालीनाली खाएर सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । बारीमा रोपेको आलु, मकै, काउली, बन्दा, सिमी, जैघाँस लगायतका अन्न, तरकारी र घाँस बाली वन्यजन्तुले आएर नोक्सान पुर्‍याएको किसानको भनाइ छ । 

दुम्सी, मृग, खरायो, कोकले, न्याउरी मुसा, वनबिरालो (काला), काग लगायतका जंगली जनावर र पन्छीले बारीमा लगाएको बाली खाएर क्षति गरेको लालीगुराँस नगरपालिका ३ मुसाङखेलका किसान कुलबहादुर भट्टराईले बताए ।

बारीमा पाकिसकेको र पाकेर थन्क्याउने अवस्थाको अन्नबाली खाएर वन्यजन्तुले क्षति गरेको उनले बताए । वन्यजन्तु र जंगलमै रहने पन्छीले बाली नाली खाएर जिल्लाका ६ वटै स्थानीय तहका किसान पीडित बनेका छन् ।


वन्यजन्तुबाट बालीनाली जोगाउन किसानले विभिन्न उपाय र तरिका अपनाए पनि सम्भव देखिएको छैन । दुम्सी, मृग, खरायो, काला लगायतका वन्यजुन्तुबाट बालीनाली जोगाउन डोरीको पासो र साँचो बनाएर राख्दा समेत वन्यजन्तुले दुःख दिन नछाडेको किसान भट्टराईले बताए ।


बारीमा लगाएको आलु, मकै, काउली, बन्दा लगायतका कृषि बाली खाएर वन्यजन्तुले नष्ट गर्न थालेपछि बालीनाली जोगाउन बारीमै कटेरा बनाएर रुङने गरेको छथर गाउँपालिका १ आङदीमका किसान दलबहादुर भण्डारीले बताए । परिवारका सदस्य पालो मिलाएर बारीमा रातभर ड्युटी बस्ने उनको भनाइ छ ।


बारीमा लगाएको आलु बाली खाएर सखाप बनाएपछि बन्यजन्तुले अहिले मकै बाली खाइरहेको किसान भण्डारीले बताए । रातको समयमा हुलका हुल जंगली जनावर पसेर बारीमा रोपेको बाली सिध्याउने गरेको लालीगुराँस नगरपालिका ३ का किसान केदार पौडेलले बताए ।


दुम्सीले बारीमा लगाएको आलु बाली सबै खाएर क्षति गरेको लालीगुराँस नगरपालिका मुसाङखेलका किसान सुशीला पौडेलले बताइन् । तर्साउन राखिएको पासो र बुख्याँचाले पनि जंगली जनावर नभागेको उनको भनाइ छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ललन यादवले वन्यजन्तुको संख्या बढेका कारण मानव बस्तीमा प्रवेश गरेर दुःख दिएको हुन सक्ने बताए । मानव बस्ती बढदै जानु र विकास निर्माणका नाममा ठूला–ठूला आवाजका मेसिन चलाउने गरिएकाले वन्यजन्तु आफ्नो बासस्थान छाडेर खाना र बासस्थानको खोजीमा किसानको खेतबारीमा पस्ने गरेको वन कर्मचारीको भनाइ छ ।


स्वतन्त्र रूपमा बस्न चाहने वन्यजन्तुले आफ्नो बासस्थानमा असर परेको महसुस गरेपछि आत्तिएर जताततै बिनाश गर्दै हिंड्ने गरेको डिभिजनल वन अधिकृत सुरेशकुमार सिंहले बताए । बस्ने ठाउँ, हिंड्ने बाटो, चर्ने ठाउँ लगायतका स्थान क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएपछि वन्यजन्तु किसानले लगाएको अन्नबाली लगाएको जमिनमा प्रवेश गरेर क्षति गरेको वन प्राविधिकहरूको भनाइ छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?