१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डेढ करोड रकम ठगी

रमेशचन्द्र अधिकारी

धनकुटा — तेह्रथुमको आठराई गाउँपालिका ७ थोक्लुङका एक दम्पतीले करिब १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।
भगवती माविका पूर्वशिक्षक उमाकान्त चौलागाईं र उनकी पत्नी लीलाले स्थानीय ६० जनाभन्दा बढी व्यक्तिबाट ५० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर गाउँबाट अन्यत्रै गएको जनाइएको छ ।

२०७२ सालमा छोरा जापान पठाउने भन्दै स्थानीयसँग ऋण स्वरूप रकम लिएको पीडित बिरिमाया तामाङले बताइन् । उनीसँग चौलागाईंले ६ लाख रुपैयाँ लिएको तर हालसम्म नतिरेको उनले बताइन् ।


उनीहरूले २ प्रतिशत व्याज दिने भन्दै रकम लिएका थिए । चौलागाईंले छोरालाई जापान पठाउने वहानामा उनकी श्रीमती लीला भट्ट चौलागाईंमार्फत करिब १ करोड ५० लाखभन्दा बढी रकम ऋण संकलन गर्न लगाएको तामाङले बताइन् । अधिकांशले गाउँका शिक्षित व्यक्ति भएकाले विश्वासका भरमा रकम दिएको बताएका छन् । ५ वर्ष बित्न लाग्दा पनि नतिरेपछि आफूहरू ठगिएको स्थानीयले बताए ।


सबैभन्दा बढी रकम स्थानीय अमृत तामाङसँग १० लाख रुपैयाँ लिएको बताइएको छ । विश्वासमा परी सामान्य कागजमा टिपोटका भरमा रकम दिएपछि अप्ठेरोमा परेको उनले बताए । चौलागाईंले तामाङसँग पटक–पटक गरेर डेढ लाखदेखि थप रकम ऋण लिएका थिए । रकम माग्दा आलटाल मात्र गर्छन्, उनले भने, लामो समयसम्म रकम फिर्ता नगरेकाले रकम फर्किने आशा हराएको छ ।


चौलागाईं दम्पतीले आठराई ७ थोक्लुङ मानेडाँडाकी बिरिमाया तामाङको ६ लाख, अमृत तामाङ १० लाख ७१ हजार, ऋषिराम दंगालको ८ लाख ७५ हजार र ३ तोला सुन ५ वर्ष बित्न लाग्दा पनि नदिएको बताए । त्यसैगरी आठराई याङ्गखुवाको रंगलाल ढकालको ८ लाख, सोही वडाका केरेपका वीरबहादुर तामाङको २ लाख ९८ हजार, थोक्लुङ भालुखोपका लक्ष्मी श्रेष्ठको १ लाख, थोक्लुङ ढोडेनीका पुन्य चौलागाईंको १ लाख १४ हजार, सुवास तामाङको १ लाख, फिदिमका शुक्रराज तामाङको १ लाख ८० हजार नगद लिएर हालसम्म फिर्ता गरेका छैनन् । त्यसैगरी आठराई थोक्लुङ्गका श्याम कन्दङ्गवाको २० हजार, थोक्लुङ्ग लामा चौताराका सोम सिवाको १ लाख ५५ हजार, सोम लामीछानेको ६२ हजार नगद लिएको पीडितले बताए ।


थोक्लुङ्ग ढलेबरका हरीप्रसाद अधिकारीको २ लाख ३८ हजार, नरप्रसाद अधिकारीको ६५ हजार, पिप्लेका हेमचन्द्र तिम्सिनाको ६० हजार, फाक्चुवाका नारयण थपलियाको ३ लाख, थोक्लुङ्ग भदौरे डाँडाका ज्ञाननाथ रसाईलीको ८५ हजार, ढोडेनीका श्रीकृष्ण चम्लागााईको १ लाख ३० हजार, पिप्ले मानसिंङ तामाङको ४ लाख, चुहाण्डाडा हिलेका मेघनाथ पराजुलीको ३ लाख २० हजार, थोक्लुङ्ग भिरगाउँका भीम श्रेष्ठको ६ लाख, महानन्द भण्डारीको २ लाख, भालुखोपका नयाँघरे श्रेष्ठको ३ लाख, थोक्लुङ भोर्लेका औतारी लामाको २ लाख ९० हजार, लगायतको गरी १ करोड ५० लाखभन्दा बढी रकम विभिन्न वहनामा लिएको स्थानीयले बताए । सोझा सिधा सर्वसाधारणसँग रकम लिएर गाउँलेलाई समेत थाहै नदिई घर छोडेर भागेको थोक्लुङ ढलेबरका हरिप्रसाद अधिकारीले बताए ।


चौलागाईं पत्नी लीलाले ऋण तिर्न आफूहरू गम्भीर रहेको टेलिफोनमा बताइन् । भरपर्दो आधार नभए पनि जग्गा प्लटिङ गरेर भए पनि तिर्ने उनले दाबी गरिन् । चौलागाईं परिवार हाल आठराईको थोक्लुङबाट ०७३ साल फागुण महिनामा बसाई सरेर मोरङको सुन्दर हरैचा नगरपालिका वडा २ मृगौलिया स्थित करैबना टोलमा बस्दै आएको बताइन् ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?