विपत व्यवस्थापनमा स्थानीयसँग समन्वय भएन
ओखलढुंगा — विपतको समयमा स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिबीच समन्वय अभाव देखिएको छ । सूचना आदानप्रदान तथ्यपरक हुन नसक्दा समन्वय खड्किएको हो ।
दुई साताअघि अविरल वर्षाले जिल्लामा ५ जनाको ज्यान गएको थियो तर स्थानीय तहले एकजनाको सूचना ढिलो दिँदा प्रदेश सरकारलाई तथ्यांक टिपाउन ढिला भएको विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
‘समन्वय खड्किएको अवश्य हो । सूचना सही समयमा तथ्यपरक रूपले पाउन नसक्दा विपत व्यवस्थापनमा समस्या भोग्नुपरेको छ ।’ प्रजिअ आचार्यले भने, ‘हामीले अनुरोध गरिरहेका छौँ, कम्तीमा नजिकैको प्रहरीलाई आवश्यक जानकारी मात्र गराउनुभए सहज हुने थियो भनेर तर अझै समन्वयमा समस्या छ ।’ सोमबार जिल्ला प्रशासनमा बसेको समितिको बैठकमा स्थानीय तहको तर्फबाट सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ मात्र उपस्थित थिए ।
अन्य गाउँपालिकाको प्रतिनिधिका रूपमा वडा अध्यक्षहरूको उपस्थिति थियो । उनीहरूले केही विपतमा परेका पीडितलाई जानी नजानी सिफारिस दिएर जिल्ला पठाउने गरेको स्वीकार गरे । कतिपय सूचना वास्तविकताभन्दा बढाइचढाइ गरेर उजुरीका रूपमा प्रशासनमा आउने गरेको बताए ।
वर्षाको कारण करिब तीन साता बित्न लाग्दा समेत ग्रामीण सडक खुल्न सकेका छैनन् । अधिकांश पहिरो सडकका कारण गएका छन् । पहिरोको समस्या जानाजान निम्त्याइएको विपतका रूपमा रहेको बैठकमा उपस्थित सहभागीले बताए । आगामी दिनमा प्राविधिक मापदण्ड एकरूप बनाएर सडक निर्माण गरिनुपर्ने सुझाव सरोकारवालाले दिए ।
हाल सुनकोसी गाउँपालिका ७ मा १० घर पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सडक खनिएकै कारण जोखिममा रहेका थुप्रै घरधुरीले प्रशासनमा उजुरी दिएको उनले बताए । ‘अब केही समयका लागि नयाँ ट्र्याक खोल्ने कामलाई बन्द गर्नुपर्ने अवस्था छ ।’ उनले भने, ‘बरु पुरानो सडकलाई स्तरोन्नति गर्दा हुन्छ तर नयाँ ट्र्याक चैं एउटा मापदण्ड बनाएर बन्द नगरे पहिरोले पहाडी भूगोलका गाउँघर सबै बग्नेछन् ।’
समितिले सम्भावित पहिरो र बाढीले सडक अवरुद्ध भएमा आवश्यक खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ मौज्दात राख्नका लागि व्यापारीलाई अनुरोध गरेको छ । हाल सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी कटारी सडकखण्ड पहिरोका कारण बन्द भएपछि उपभोग्य सामग्री बर्दिबास खुर्कोटबाट ढुवानी भइरहेको छ ।
यसले हुन सक्ने मूल्यवृद्धिमा सबै व्यापारीले सकेसम्म धेरै महँगो नबनाई थोरै मात्र मुनाफा राखी व्यापार गरिदिनका लागि समेत समितिले अनुरोध गरेको छ ।
प्रकाशित : श्रावण २४, २०७६ ०९:४५