कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बसपार्क छ, गाडी छैनन्

लीलावल्लभ घिमिरे

पाँचथर — फिदिम बजारमा यात्रु बोक्ने जिप मात्र होइन मालबाहक सवारी साधनसमेत यत्रतत्र पार्किङ भएको देख्न सकिन्छ । कारण बजारका मुख्य क्षेत्रमा दैनिकजसो हुने जामले सर्वसाधारण हैरानीमा छन् । मुख्य बजारको २ किमि दक्षिणतर्फ अत्याधुनिक बसपार्क छ । तर, त्यहाँ कुनै सवारी साधन देखिँदैनन् ।

पाँच वर्षअघि निर्माण गरिएको आधुनिक फिदिम बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकालाई चुनौती बनेको छ । फिदिम नगरपालिका २ पल्लोटारमा रहेको करिब १५ रोपनी क्षेत्र फलमा निर्माण गरिएको बसपार्कको उद्घाटन २०७१ वैशाख १ गते गरिएको थियो । आयोजनाले १ करोड ८७ लाख रुपैयाँ खर्चेर बसपार्क निर्माण गरेको हो । बस पार्कमा यात्रु प्रतीक्षालय, काउन्टर र सुरक्षा युनिटका लागि पूर्वाधार समेत निर्माण गरिएको छ । त्यहाँ सुरक्षाकर्मी समेत बस्ने गरेका छन् ।


बस पार्कको दोस्रो पटक पनि उद्घाटन भएको छ तर सवारी साधन भने त्यहाँ जान मान्दैनन् । ‘बसपार्क बनेको छ तर बजारको अव्यवस्थित पार्किङ र जाम कम भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहालले भने, ‘फेरि हामीले प्रयास थालेका छौं, सरोकारवाला सबैसँग छलफल गरेर विवाद मिल्छ भन्ने विश्वास छ ।’


यातायात व्यवसायी बजार क्षेत्रभन्दा टाढा रहेको भन्दै त्यहाँ जान मान्दैनन् । व्यवसायीले सुरुमा जाने सडक कालोपत्रे नभएको सुरक्षा अभाव भएको भन्दै विरोध गरेका थिए ।


तर, उनीहरूका दुवै माग पूरा भएका छन् । यात्रु प्रतीक्षालय समेत रहेको आधुनिक बसपार्क निर्माण हुँदा समेत उनीहरू जान मानेका छैनन् । नगरपालिकाले कडाइ गरेपछि रुटमा चल्ने सवारीका साधन पास लिन मात्र बसपार्क छिर्ने गरेका छन् ।


बस पार्क निर्माण भए पनि सञ्चालनमा आउन नसक्दा बजारक्षेत्रमा जथाभावी पार्किङ गरिँदै आएको छ । बजारमा सवारी साधनले तोकिएका ठाउँबाट मात्रै यात्रु चडाउने र ओराल्ने गर्नु पर्ने नियम नगरपालिकाले लगाए पनि त्यसको पालना कसैले गरेका छैनन् । बजार क्षेत्रमा हुने दुर्घटना कम गर्दै सफा सुन्दर बनाउन बसपार्क सञ्चालनमा ल्याउनुको विकल्प नहरेको नगरपालिकोको भनाइ छ । तर अहिले बसपार्कमा गाडी इन्ट्री कार्ड लिन मात्रै पुग्ने गरेका छन । दैनिक २ सयदेखि २ सय ५० गाडी इन्ट्री कार्ड लिन त्यहाँ पुग्ने गरेका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?