पढ्दापढ्दै बालविवाह

रमेशचन्द्र अधिकारी

धनकुटा — पढ्दापढ्दै विवाह गरेका जोडीले गाउँ छाडे । महालक्ष्मी नगरपालिका ८ का १५ वर्षीया विनिता थापा र १६ वर्षका अनिल मगरले गत महिना प्रेमविवाह गरेका हुन् । दुवैजना स्थानीय जनता माध्यमिक विद्यालय निगालेमा १० कक्षामा अध्ययनरत छात्रछात्रा हुन् । विवाह गरेपछि दुवैको पढाइ अघि बढ्ने अवस्था रहेन । 

विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाका अनुसार एकापसमा विवाह गरेका जोडी केही दिन विद्यालय आए पनि पछिल्लो समय घर र पढाइ नै त्यागेर अन्यत्र गएका छन् । यसअघि पनि विद्यालयमा ८, ९ कक्षामा पढ्नेले विवाह गरे र पढाइ बीचैमा छाडेको उनले बताए ।

‘अपरिपक्व उमेरमा विवाह गर्नेले बीचैमा पढाइ छोड्ने गरेका छन्,’ उनले भने, ‘पढाइ नछाड्न सम्झाइबुझाइ गरे पनि मान्दैनन् ।’ कम उमेरमा विवाह गरेमा जटिल स्वास्थ्य समस्या हुनेबारे सचेत गराए पनि घरपरिवारबाट समेत त्यसबारे चासो नदिँदा समस्या रहेको उनको तर्क छ । जिल्लाका यसप्रकार विद्यालय उमेरमै विवाह गर्नेको अवस्था उल्लेखनीय रहेको छ । विद्यालयको कक्षाकोठा पढाइ हुने थलोका रूपमा रहनुपर्नेमा फरक गतिविधि हुन थाले पनि न्युूनीकरणको ठोस प्रयास कतैबाट हुन सकेको छैन । सदरमुकाममा रहेको त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरतमध्ये केही विद्यार्थी विवाहित छन् ।

प्रत्येक ९, १० कक्षामा अध्ययन गर्ने केही छात्रछात्रा विवाहित हुने गरेको शिक्षक मुकुन्द अधिकारी बताउँछन् । विगतका वर्षभन्दा यसमा केही कमी आएको उनले बताए । प्रजनन स्वास्थ्यबारे छात्रछात्रामा चेतना दिइने गरिएको जनाए । घरपरिवारदेखि सामाजिक रूपमा समेत कम उमेरमा विवाह हुन नदिने प्रयासमा जुट्न सके न्यूनीकरण हुने उनको धारणा छ ।

महालक्ष्मी नगरपालिका ८ का वडाध्यक्ष रामबहादुर खडकाका अनुसार कतिपय १४ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले विद्यालय पढदै विवाह गर्ने गरेका छन् । छोराछोरी हुर्किसकेपछि बल्ल विवाह तथा जन्मदर्ता गर्न आउने गरेको खडकाले बताए ।
कतिपयको बच्चाको जन्म दर्ता गरेको मितिभन्दा पछि मात्र विवाह दर्ताको मिति हुने गरेको उनले बताए । विवाह गरे पनि २० वर्ष कमका जोडीको विवाह दर्ता नहुने भएकाले त्यस्ता जोडीको तथ्यांक लिन नसकिएको उनको भनाइ छ ।

प्रत्येक टोलबस्तीमा नै बालविवाह हुने गरे पनि त्यसलाई घरपरिवारले सामान्य रूपमा लिने गरेकाले उजागर हुन सक्दैन,’ उनले भने, ‘एकातर्फ प्रजनन स्वास्थ्य त जटिल हुने देखिन्छ त अर्कोतर्फ पढाइ पनि छोड्ने दर यसरी पनि बढेको छ ।’ सहिदभूमि गाउँपालिकामा पनि यो समस्या जटिल रूपमा रहेको छ ।

९, १० कक्षा पढदै विवाह बन्धनमा बाँधिने जोडी प्रशस्तै पाइने गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । एसईई दिएर जोडी बाँधिने त सामान्य हुने उनको भनाइ छ । २० वर्ष कम उमेरका जोडीको विवाह दर्ता नहुने भएपछि यसको आधिकारिक विवरण नभएको उनले बताए । टोल विकास संस्था गठन गरेर बालविवाह न्यूनीकरणमा आफूहरू जुट्ने उनी बताउँछन् ।

१० हजारले गरे बालविवाह
जिल्लामा बालविवाह गर्नेको संख्या स्थानीय तहमा यकिन छैन । तर, सामुदायिक विकास मञ्च नेपाल नामको संस्थाले गरेको सर्वेक्षणअनुसार जिल्लामा ९ हजार ४ सय ४१ जना १५ देखि १९ वर्ष उमेरका जोडीले विवाह गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

जिल्लामा विवाहितमध्ये १५ देखि २० वर्षमुनिका बालबालिका झन्डै १० हजार नजिक रहेको बालअधिकारकर्मी टिका लिंखाले बताए । जसमा, महालक्ष्मी नगरपालिकामा १ हजार ६ सय, पाख्रिबासमा १ हजार ३ सय ३७, छथरजोरपाटीमा १ हजार २ सय ३७, सहिदभूमि गाउँपालिकामा १ हजार ७४, धनकुटा नगरपालिकामा १ हजार ८ सय ५३, साँगुरीगढी गाउँपालिकामा १ हजार २ सय ९४ र चौबिसे गाउँपालिकामा १ हजार ४६ जना छन् ।

तीमध्ये आधाजसो विद्यालय तहमा विवाहित छन् । ‘जिल्लामा यो तथ्यांक नियाल्दा बालविवाहको विकराल अवस्था हो,’ उनले भने, ‘स्थानीय तहदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील सबै पक्षले न्यूनीकरणका लागि जुटिहाल्ने परिस्थिति आएको छ ।’ राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा १८ वर्ष मुनिको जनसंख्या कुल जनसंख्याको ३९ दशमलव ३ प्रतिशत रहेको छ ।

जिल्लामा बाल क्लब क्रियाशील छ । तर, बालविवाह न्यूनीकरणतर्फ आवश्यक रूपमा जुट्न नसकेको क्लबका अध्यक्ष सम्राट मानन्धर बताउँछन् । धनकुटा ९ मार्गमा एकपटक बालविवाह न्यूनीकरणकोबारे सचेतना कार्यक्रम गरेबाहेक अरू केही गर्न समय नमिलेको उनले बताए । जिल्लामा बालमैत्री स्थानीय शासनको घोषणा गर्ने तयारी गरिँदै छ तर यस्तो विकराल अवस्था न्यूनीकरण नगरी घोषणा गर्नुको औचित्य नहुने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

फोन नचल्दा हैरान

कान्तिपुर संवाददाता

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटस्थित पुथा हिमालय माविका शिक्षक विष्णु पुनमगरले बिहान र साँझ फोन गर्न पाउँदैनन् । उनले बिहान साढे १० बजेअगाडि र बेलुकी ९ बजेपछि फोन गर्न नपाएको बताए । ‘जति आकस्मिक र जरुरी परे पनि साथमा रहेको मोबाइलले काम गर्दैन,’ उनले भने, ‘चाहेको बेला सम्पर्क हुन नसक्ने यो फोनको के काम !’

पुथाउत्तरगंगा–६ की कमला सेनको अवस्था पनि यस्तै छ । उनको गाउँमा पछिल्लो समय राती फोन गर्न नै नमिल्ने भएको छ । पुथाउत्तरगंगा गाउँपालिकाका पुन र सेन मात्रै होइनन्, सबै स्थानीयले चाहिएको बेला आफन्त, स्टमित्र, कार्यालयमा फोन गर्न पाउँदैनन् । पुथाउत्तरगंगाबासीले भोगिरहेको यो समस्या पहिलोपटक भने होइन । हरेक वर्षको वर्षायाममा यो उनीहरूको नियति नै हो ।

नेपाल टेलिकमको लापरबाहीले १४ वडाका सर्वसाधारणले हरेक वर्ष समस्या भोगिरहेका छन् । टेलिकमको टावरले काम नगर्दा वर्षायाममा सर्वसाधारणले यसरी नै समस्या भोग्नु परिरहेको हो । त्यस क्षेत्रमा स्काइ फोनले काम गर्न थालेको झन्डै सात वर्ष भयो । नमस्ते फोनले काम गर्न थालेको एक वर्ष बढी भयो । तर, यी दुवै फोनले गाउँका सबै ठाउँमा त अघिपछि पनि काम गर्दैन । तर, वर्षायामको समयमा भने फोन नियमित नहुँदा समस्या भइरहेको स्थानीयले बताए ।

समस्या समाधानमा स्थानीय सरकारले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ । ‘यो आजको समस्या होइन,’ शिक्षक पुनले भने, ‘गाउँमा फोन सुचारु भएदेखि नै हामीले यो समस्या भोग्दै आएका छौं ।’ बिहान साढे १० बजेपछि मात्रै मोबाइलमा टावर आउने र बेलुकी ९ बजेपछि फेरि टावर जाने हुँदा समस्या भइरहेको उनले बताए । केही दिनअघि झन्डै एक साता टेलिफोन अवरुद्ध भएको थियो ।

हिउँदमा समेत मोबाइलको टावर खोज्नुपर्ने ठाउँमा वर्षातमा झन टावर नै नभेटिने सेनले बताइन् । उनले सूचना र सम्पर्क गर्न पाउने अधिकार नै हनन भएको सुनाइन् । नेपाल टेलिकमले पुथाउत्तरगंगाका विर्गुम र बालिपोमा टावर बनाएको छ । सेपे धुरीको टावरले बालीपो लेकमा रहेको टावरसँगको लिंकमा नेटवर्क छाड्ने गर्छ । यी दुवै टावर पूर्ण रूपमा सञ्चालनमा आउँदा पनि सबै भूभाग भने समेटिन सकेको छैन ।

पावर नहुँदा समस्या आउने गरेको टेलिकमका कर्मचारीले बताए । सोलार प्रणालीबाट सञ्चालन गरिएका ती टावर वर्षायाममा पर्याप्त घाम नलाग्ने र ब्याट्री चार्ज नहुने भएपछि टावरले पनि काम नगर्ने गरेको टेलिकमले जनायो । जिल्लामा टेलिकमका कर्मचारी छैनन् । बिग्रेपछि मात्रै आएर बनाउने गरेका छन् ।

टावरको समस्या पुथाउत्तरगंगामा मात्रै होइन, भुमे र सिस्ने गाउँपालिकामा पनि छ । भुमे गाउँपालिका केन्द्र खाबाङ बजारमा नमस्ते फोन नै लाग्दैन । निजी सेवा प्रदायक कम्पनीको सिमबाट काम गर्नुपर्ने बाध्यता छ । सिस्ने गाउँपालिकाका सबै क्षेत्रमा पनि फोनको पहुँच छैन । बनाउन भनिएका केही टावर पनि अझै बनेका छैनन् । भूमे गाउँपालिका–२, गाबाङमा टावर निर्माणको काम सुरु भए पनि लामो समयदेखि काम रोकिएको छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्